मालपोत कार्यालय सुर्खेतमा सास्ती, सहज रुपमा सेवा नदिएपछि उच्च अदालतमा रिट दर्ता

सुर्खेत, १७ मंसिर ।

मालपोत कार्यालय सुर्खेतले सहज रुपमा सेवा प्रवाह नगरेको भन्दै उच्च अदालत सुर्खेतमा रिट दर्ता भएको छ । भैरवी गाउँपालिका–३ दैलेख घरभई हाल वीरेन्द्रनगर वडा नम्बर ३ मा बस्दै आएका अधिवक्ता शेरबहादुर खत्रीले बुधबार मालपोत कार्यालय सुर्खेत, जिल्ला प्रशासन कार्यालय सुर्खेत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतविरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर गरेका हुन् ।

उक्त रिटमा वीरेन्द्रनगर नगरपालिका, प्रदेश सरकार र मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाईसमेत विपक्षी एवम् प्रत्यक्षदर्शी बनाइएको छ । मालपोत कार्यालयले सहज रुपमा सेवा प्रवाह नगरेको, कर्मचारीले समयमै सेवा नदिएको र जनप्रतिनिधि तथा प्रदेशका सरकारले पनि सेवा प्रवाहलाई सहज बनाउन कुनै प्रयास नगरेको भन्दै अदालतमा रिट दायर गरिएको हो । पछिल्लो समय मालपोत कार्यालयबाट प्रवाह हुने सेवाप्रति सर्वत्र आलोचना भइरहेको छ । मालपोतमा हुने ढिलासुस्ती र सेवाग्राहीले भोगिरहेको सास्तीका बारेमा यस युगआह्वान दैनिकले बुधबार समाचार प्रकाशित गरेको थियो ।

मालपोत कार्यालयले दलालको मात्रै काम गरेको र सेवाग्राहीले सहज रुपमा सेवा नपाएको भन्दै बारम्बार गुनासो गर्दा पनि मालपोत कार्यालयले कुनै सुनुवाइ नगरेको, मालपोत कार्यालयको आडमै रहेको जिल्ला प्रशासन कार्यालय र करिब दुईसय मिटरको दुरीमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेवास्ता गरको भन्दै मालपोत, प्रशासन र अख्तियारविरुद्ध नै उच्च अदालतमा रिट दायर गरिएको छ ।

मालपोतमा सेवाग्राहीको अत्याधिक भिड हुने भए पनि सेवा विस्तार तथा सुधारमा ध्यान नदिएको र सेवाग्राहीले हैरानी खेप्दा पनि जननिर्वाचित प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले बेखर बनेपछि आफूले सेवा सुधारको माग गर्दै अदालतमा रिट दायर गरेको अधिवक्ता शेरबहादुर खत्रीले बताए । अधिवक्ता खत्रीका अनुसार प्रदेश सरकार र नगरपालिकाई प्रत्यक्षदर्शी एवम् विपक्षी बनाइएको उक्त रिटमा उच्च अदालतले (बिहीबार) आज सुनुवाई हुनेछ । मालपोत कार्यालयको सेवा सुधारमा कसैले चासो नदिएपछि अदालतमै रिट दायर भएको हो ।

अधुरो नागरिक बडापत्र

सेवाग्राहीको सहजताका लागि हरेक कार्यालयमा नागरिक वडापत्र अनिवार्य राख्ने गरिन्छ । जसमा कार्यालयबाट प्रवाह गरिने सेवा र प्रक्रियाबारे वडापत्र अनिवार्य राख्नुपर्छ । यस्तै वडापत्र सेवाग्राहीले स्पष्ट रुपमा देख्ने ठाउँमा राख्नुपर्छ । जसमा कार्यालयबाट प्रवाह हुने सेवा र सुविधा प्राप्त गर्ने अधिकार, लाग्ने शुल्क, काम हुने अवधि र सेवा लिन आवश्यक हुने कागजात स्पष्ट रुपमा लेखिनुपर्छ । तर मालमोत कार्यालय सुर्खेतको नागरिक वडापत्र भने न सबैले देख्न सकिने ठाउँमा छ, न त सहज रुपमा बुझिने खालको । कार्यालय हाताभित्र राखिएको वडापत्र आफैमा अधुरो छ । भित्तामा राखिएको वडापत्र सेवाग्राहीको भीडका कारण सहज देख्न सकिदैन । सेवाग्राहीको आँखा लागे पनि वडापत्रले सूचना दिनसक्ने अवस्थामा छैन ।

छैन सहायत कक्ष

सेवा प्रवाहका हिसावले मालपोत कार्यालय सेवाग्राहीको सबैभन्दा बढी भिड हुने कार्यालय हो । जग्गाको किनबेच, रोक्का, फुकुवा र लगतकट्टा लगायतका सेवा प्रवाह गर्ने मालपोतमा सधैजसो सेवाग्राहीको भीड हुन्छ । जग्गा कारोबारसँग सम्बन्धित भएका कारण सामान्य लेखपढ गरेका नागरिक पनि मालपोत कार्यालयका सेवाग्राही हुन् । निरक्षर सेवाग्राहीले बडापत्रबाट सूचना पाउन सक्दैनन् । जसका लागि सहायता कक्ष अनिवार्य मानिन्छ । तर जनमैत्री सेवा प्रवाह गर्नुपर्ने मालपोत कार्यालयले भने हालसम्म सहायता कक्ष नै राखेको छैन । सहायता कक्षका लागि भौतिक संरचना अभाव भएको भन्दै सहायता कक्ष राख्न नसकिएको कार्यालयको तर्क छ । सहायता कक्ष नहुँदा सर्वसाधारणहरु कुन सेवा लिन कहाँ र कुन फाँट अर्थात कोठामा जानुपर्छ भनेर अलमलमा पर्ने गरेका छन् ।

अशक्त र जेष्ठ नागरिकलाई थप सास्ती

मालपोत कार्यालयमा १० नबज्दै सेवाग्राहीको भीड हुन्छ । लाइनमा बस्न तछाडमछाड नै गर्नुपर्छ । दुई हप्तादेखि मालपोत कार्यालयमा सेवाग्राहीको अत्याधिक भीड छ । यस्तो भीडमा शारीरिक रुपमा अशक्त र जेष्ठ नागरिकले सेवा लिन सक्ने अवस्था छैन । सार्वजनिक कार्यालयमा जेष्ठ नागरिकको लागि विशेष व्यवस्था र अशक्त नागरिकले सहजै रुपमा सेवा लिन सक्नेगरी कार्यालयको संरचना आनिवार्य मानिन्छ । यहीकारण खानेपानी, विद्युत, टेलिकम लगायतका सार्वजनिक कार्यालयमा जेष्ठ नागरिकलाई विशेष ग्राहयता दिइन्छ । अशक्त नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्ने बन्दोबस्त नै गरिएको हुन्छ । तर मालपोत कार्यालयबाट भने जेष्ठ नागरिक र अशक्त नागरिकले सेवा लिनसक्ने अवस्था छैन । जेष्ठ नागरिक घण्टौँसम्म लाइनमा बस्नुपर्दा थप सास्ती भोग्न बाध्य छन् ।

समयमा आउँदैनन् कर्मचारी

मालपोत कार्यालयमा १० नबज्दै सेवाग्राही लाइनमा बसी सकेका हुन्छन् । तर कर्मचारीले भने ११ बजेपछि मात्रै सेवा दिने गरेका छन् । १० बजे आएका कर्मचारीले पनि ११ बजेपछि मात्रै सेवा दिन सुरु गर्छन् । कोही कर्मचारी त ११ बजेमात्रै कार्यकक्षमा उपस्थित हुन्छन् । समयमा उपस्थित नहुने कर्मचारीले सहज रुपमा सेवा दिँदैनन् । कोही कर्मचारी खाजा खान मात्रै एक घण्टा समय लगाउने गरेका छन् । कहिले इन्टरनेट नचलेको त, कहिले सिस्टमले काम नगरेको भन्दै अल्झाउँछन् । तर कार्यालयले भने एउटा मात्रै रजिष्ट्रेशन फाँट हुँदा ढिला सेवा प्रवाहमा ढिलाइ हुने गरेको जनाएको छ ।

भौतिक संरचना नहुँदा फाँट थप गर्न नसकिएको कार्यालय प्रमुख लक्ष्मी खत्रीले बताइन् । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएसँग जग्गा र घडेरीको किनबेच बढेका कारण मालपोत कार्यालयमा सधै भीड हुने गर्दछ । कर्णालीका विभिन्न जिल्लाबाट राजधानीमा आउनेहरु बढ्दो छ । यही कारण मालपोत कार्यालयमा सधै भीड हुन्छ । सेवाग्राहीको भीड अनुसार मालपोत कार्यालयको सेवा विस्तार गर्नु आवश्यक देखिन्छ । मालपोत कार्यालयले भने भौत्तिक संरचना अभावकै कारण सेवा विस्तार गर्न नसकिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया