आज विश्व पर्यटन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, ११ असोज ।

आज ४१औं विश्व पर्यटन दिवस मनाइँदैछ । यस वर्ष ‘दिगो विकासका निम्ति ग्रामीण पर्यटन’ भन्ने मूल नाराका साथ देशैभर विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाईदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन दिवसको अवसरमा काठमाडौंको चोभार स्थित मन्जुश्री पार्क पुगेर वृक्षारोपण गरेका छन् ।

मन्त्री भट्टराईले कोभिड १९ का कारण अर्थतन्त्रमा नराम्रोसँग धक्का परेको अवस्थामा पर्यटनको क्षेत्रबाट अर्थतन्त्रलाई उठाउन सकिने बताए । कोभिडका कारण देशको आम्दानीका स्रोतहरु घटेको अवस्थामा राज्यले मानिसको स्वास्थ्यलाई जोगाउन पहिलो प्राथमिकता दिएपनि पर्यटन क्षेत्रको विकासका लागि पनि विभिन्न कार्यक्रम ल्याउने बताए ।

राज्यको आम्दानीको स्रोतको विकास गर्नका लागि उपत्यका वरिपरिका डाँडाँहरुलाई घुम्न जाने नजिकको गन्तव्यको रुपमा विकास गरिने उनले बताए । चोभारलाई पनि त्यसै कार्यक्रमसँग जोडेर विकास गरिने मन्त्री भट्टराईले उल्लेख गरे ।

मन्जुश्री पार्कसँगसँगै उपत्यका वरिपरिका पहाडहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकेमा उपत्यकाको रात्रीकालिन जीवनको पनि सुरुवात हुने मन्त्री भट्टराईको भनाई छ । उनले अबको पर्यटन ग्रामीण पर्यटन माथि केन्द्रीत हुनुपर्ने पनि धारणा राखे ।

ग्रामीण पर्यटनको विकासमा काम गर्न सके ग्रामीण क्षेत्रका मानिसहरुको आर्थिक जीवनमा समेत परिवर्तन ल्याउन सकिने विश्वास मन्त्री भट्टराईको छ । कोरोना संक्रमणका कारण देशभर रहेका होटल र अन्य पर्यटकीय क्षेत्रका व्यवसाय ६ महिनायता ठप्प छन् ।

विदेशी पर्यटक नेपाल आउने अवस्था छैन भने आन्तरिक पर्यटकहरु पनि ओहोर दोहोर गर्ने अवस्था नरहेपछि पर्यटन उद्योग जीवन मरणको अवस्थाबाट गुज्रिन पुगेको छ । यस क्षेत्रमा सक्रिय लाखौं मजदुर र कर्मचारीले रोजगारी गुमाउन परेको अवस्था छ ।

हिमाली पर्यटन, ट्रेकिङ्ग, होटल, एयरलाइन्स, टुर अपरेरिङ्ग, सडक यातायात, रेष्टुरेण्ट लगायतका पर्यटकीय उद्योग ठप्प रहेको छ । यस क्षेत्रमा संलग्न व्यवसायीहरुले पर्यटन उद्योगलाई जोगाउन सरकारले सम्बोधन गर्नु पर्ने माग राख्दै आएका छन् ।

तपाईको प्रतिक्रिया