पालिका विशेष

श्रमदानबाट समृद्धि देखेका मेयर भाम


छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भाम राजनीतिकलाई सेवा हो भनेर उनी राजनीतिकमा होमिए । युवा उमेरमा नै राजनीतिक होमिएका दिनदेखि नै दिनदुखीको सेवा गर्नु श्रममा विश्वास गर्ने गरेका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ प्रायः श्रमदान गरिरहेकै भेटिन्छन्, यो सबैलाई थाहा छ । तर, मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले गरेको श्रमदान भने प्रायः लाई थाहा छैन । उनी पनि हर्ककै शैलीमा श्रमदान गर्छन् । तर, उनी प्रचार प्रसार र सामाजिक सञ्जाल धेरै चलाउन चाहदैनन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा सोही नगरपालिका वडा नं. ४ को वडाध्यक्ष बनेका भाम २०७९ सालको निर्वाचनमा नगरपालिको प्रमुखमा बाजी मारे । वडाध्यक्ष हुँदादेखि नै जनश्रमदानबाट काम गर्न सुरु गरेका उनले ढुङ्गा बोकेरै विद्यालयदेखि धारासम्मका संरचना बनाएका छन् ।

श्रमदानबाटै उनले नगरपालिकाभित्र बसपार्क, चैनाखोला वैकल्पिक नाला र गोरेटो बाटो, खानेपानी धारा, जिल्ला अस्पताल मुगुमा खानेपानी धारा, अल्का साँगु काठे पुल, बोटुधारा चौतारा लगायतका संरचना बनाएका छन् । ‘मैले साना–तिना काम श्रमदानले पनि गर्न सकिन्छ भनेर बजेटको व्यवस्थापन गरिनँ ।,’ मेयर भाम भन्छन्, ‘टुक्रे योजनामा बजेट हाल्नुभन्दा श्रमदान गरेर नै विकास गर्छु भन्ने सोचेको छु ।’

साना टुक्रे योजना वितरणमुखी बजेट बन्द गरेको र साना योजना श्रमदानबाट प्रत्येक शनिवार काम गर्ने गरेको मेयर भाम बताउँछन् । यद्यपि उनी सञ्चार माध्यममा खासै आउँनै चाहँदैनन् । ‘मैले पाउने सुविधाबाट एम्बुलेन्स किन्छु, पाहुना बोलाएर खाँदा ओढाउँदिन ।’

भाम पाहुना बोलाएर खादा–माला लगाउने प्रचलन आफूले हटाएको बताउँछन् । ‘म आफू पनि कुनै कार्यक्रममा जाँदा खादा–माला लगाउँदिन । अरुलाई बोलाएर पनि लगाउने पराम्पराको विकास गर्दिन,’ उनले भने । उनी यो परम्परामा एक प्रकारको चाकडीबाज देख्छन् ।

त्यसा त दुई वर्षसम्म उनले नगरबाट कुनै सेवा–सुविधा लिएका छैनन् । अझै थप सेवा–सुविधा नलिने उनी उद्घोष गर्छन् । ‘नगरबाट अतिरिक्त सेवा–सुविधा लिन्न,’ उनले भने । आफूले मिनिरल वाटर समेत नखाने प्रण गर्छन् । ‘अहिले नगरपालिकामा आउने चैन धारोबाट पानी ल्याएर प्यास मेटाइरहेको छु । नागरिक सामु गरेका बचनलाई आत्मसाथ गर्दे सानो रकम मौज्दात रहे गरिब–दुःखीलाई केही राहत पुग्ने हेतुले काम गरिरहेको छु’ उनले भने । उनले नगरपालिकाबाट मोबाइल खर्च, क्वार्टर, रासनलगायतका खर्च लिएका छैनन् । त्यो रकम जम्मा गरेर एम्बुलेन्स किनेका छन् भामको ।

‘राजनीति विशुद्ध सेवा हो’
कार्यालयको समय सकिएपछि भाम आफ्नै करेसाबारीतिर भेटिन्छन् । ‘कहिले काँही राजनीतिक भेटघाटका लागि हिँड्नैपर्ने हुन्छ । त्यस बाहेक कार्यालयबाट बचेको समय म आफ्नै बारी÷करेसाबारीमा लगाउँछु ।’ उनले भने्, ‘मैले नगरपालिकाको काम सकिएपछि बिहान–बेलुकी बारीमा तरकारी फलाउने गर्छु । बिहान–बेलुका त्यसैले छाक टार्छु ।’
राजनीतिलाई विशुद्ध सेवाको रूपमा अथ्र्याउँछन् प्रमुख भाम । जनप्रतिनिधिहरूले तलब–भत्ता लिन नहुने मान्यता छ उनको । ‘वडा सदस्यदेखि राष्ट्रपतिसम्मको सबै जनप्रतिनिधिहरूको सेवा–सुविधा (तलब) हुनुहुँदैन ।’ उनको मान्यता छ, ‘राजनीतिक सेवा हो, पेसा होइन ।’ २०७४ सालको स्थानीय निर्वाचनमा वडा नं. ४ को वडाध्यक्ष बनेका भाम २०७९ मा भएको निर्वाचनमा मेयर बनेका हुन् ।

अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख
छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहन स्वरुप एक लाख उपलब्ध गराउँदै आएको छ । छायाँनाथ रारा नगरपालिकाले १२ औँ नगर सभामा अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो । छाँयानाथ रारा–१० चरापगाउँका २५ बर्षिय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह पहिलो पटक एक लाख रुपैया दिएर सम्मान गरेको थियो ।

आफैं ओसार्छन एम्बुलेन्समा बिरामी
नगर प्रमुख भाम आफैँले यो हप्ता चार पटकमा चार जना बिरामीलाई अस्पताल पु¥याउने गरेका छन् । बचेको समयमा आफैँले एम्बुलेन्समा अस्पताल पु¥याएको नगर प्रमुख भामले बताए । उनले भने, ‘सर, म अहिले नगर प्रमुखको कुर्सीमा बसेर सेवा गर्दैछु । बिहान र बेलुका भईपरी आउँदा आफैँ एम्बुलेन्स चलाउँछु । मैलै एम्बुलेन्सकै लागि भनेर आठ महिना अघिमात्र लाइसेन्स निकालेँ ।’

नगर प्रमुख भामका अनुसार नगरपालिकामा एक जना मात्रै एम्बुलेन्स चालक छ । एम्बुलेन्स चालक बिदामा बस्दा वा चालकले नभ्याउँदा नगर प्रमुख आफैंले एम्बुलेन्स हाँक्ने गरेको उनी बताउँछन् । समृद्ध छायाँनाथ रारा नगरपालिका बनाउन सरसफाई अभियान, श्रमदान अभियान लगायतका विभिन्न अभियान सञ्चालन गर्दै आएको छन् ।

खाली समयमा बिरामीहरुको उपचारको लागि अस्पतालसम्म लैजान सहयोग गर्ने र अब एम्बुलेन्स चालक बिदामा बस्दा होस् वा आफ्नो खाली समयमा बिहान–बेलुका आफैँले एम्बुलेन्स हाँकेर बिरामीलाई सेवा दिइने उनले प्रतिबद्धता जनाए ।
साथै उनले चुनावताका नै सेवा सुविधा नलिने घोषणा गरेको स्मरण गर्दै भने, ‘मेरो ५ वर्षको सेवा सुविधाले ३ वटा एम्बुलेन्स आउछ होला । दुई वटा चाही नगरपालिकालाई दिन्छु । एउटा चाहि आफै हाँकेर सेवा गर्ने विचार गरेको छ ।’ उनले आफ्नो कार्यकाल सक्ने बेला उक्त प्रतिबद्धता अनुसारको एम्बुलेन्स खरिद गर्ने बताएका छन् । एम्बुलेन्स चलाउनकै लागि लाइसेन्स निकालेका छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख भामले ।

विपन्न विद्यार्थीका लागि अक्षय कोष
नगरपालिकाले गरिब विपन्न विद्यार्थीको अक्षय कोष स्थापना गरिएको छ । त्यसबाट आपतविपतमा परेका नागरिकलाई त्यसैबाट सहायता उपलब्ध गराउँदै आएको छ । गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई प्रोत्साहन स्वरुप छात्रवृत्ति प्रदान गर्न साथै न्यून आयस्रोत भएका तथा विपन्न घर परिवारका बालबालिकालाई पठन पाठनमा सहज होस् भन्ने उद्देश्यले अक्षय कोषको स्थापना गरिएको छ ।

नगर बस सेवा सञ्चालन
नगरपालिकाले पहिलो पटक आफ्नो नगर क्षेत्रभित्र सर्बसाधारणका लागी नगर बस सेवा सञ्चालनमा ल्याएको छ । नगरपालिकाले ८४ लाख रुपैयाँमा दुई वटा बस खरिद गरी आफ्नो नगर क्षेत्रका केही स्थानहरुमा पहिलो पटक सर्बसाधरणका लागी नगर बस संचालनमा ल्याएको हो ।

नगरपालिकाभित्रका ३४ रुटमध्ये पहिलो चरणमा सदरमुकाम गमगढीबाट आठ वटा रुटमा नगर बसले सेवा दिने नगरपालिकाकले जानकारी दिएको छ । नगरपालिका–१४ बाम गाउँसम्मको २२ किलोमिटरसम्मको रुटमा बस सञ्चालन भइरहेका छन् ।

नगरपालिकाको १४ वडाका ८७ बस्ति मध्ये दुई बस्तिमा अझै सडक पुगेको छैन । अन्य सबै बस्तिमा सडक पुगेको भए पनी सर्बसाधारणले सहुलियत दरमा यातायात गर्न पाएका थिएनन् । गमगढीदेखी बाम गाउँसम्म भाडा जिपहरुले प्रति ब्यक्ति एकतर्फी ६ सय रुपैयाँ भाडा लिने गरेका छन् । नगरपालिकाले आफ्नो सेवामार्फत प्रति ब्यक्ति ३ सय र अपाङ्गता भएका ब्यक्ति र जेष्ठ नागरिकहरुलाई नगरबस सञ्चालन कार्यबिधी अनुसार भाडामा छुट हुने नगरपालिकाले जनाएको छ ।

एक मुख दश रुख अभियान
नगरपालिकाले ‘एक मुख दश रुख’ को अभियान सञ्चालन गरेको छ । नगरपालिका भित्र प्रभावित क्षेत्रको रोगथाम तथा हरित नगर बनाउने उद्देश्यका साथ छायाँनाथ रारा नगरपालिकाकाले ‘एक मुख दश रुख’ अभियान संचालन गरेको हो ।
नगरपालिकाले नीति तथा कार्यक्रममा ‘एक मुख दश रुख’ हरित नगर बनाउने अभियान सञ्चालन गर्ने नीति नगर प्रमुख बिष्णुकुमार भामले बताए । ‘पहिरो जाने स्थानमा पहिरो रोगथामका लागि वृक्षारोण गरिने र बिशेष गरी हरित नगर बनाउने उद्देश्य रहेको छ ।’

उनले भने, ‘प्रत्येक नागरिकले अनिवार्य आफनो गाउँ टोल तथा सार्वजनिक स्थलमा एक जना नागरिकले १० रुख लगाउनु पर्नेछ । जिल्लाका सरकारी कार्यालय, संघ संस्था, बिद्यालय, स्वास्थ्य संस्थाले आफनो कार्यालय परिसर तथा सार्वजनिक स्थल सबैमा आफुलाई पायक पर्ने स्थानमा एक जना ब्यत्तिले १० रुख विरुवा अनिवार्य रोप्नु पर्नेछ ।’

दलित नीति बनाउने पहिलो पालिका
नगरपालिका भित्रका वडामा प्राथमिक विद्यालय टाढा भई बालबालिकालाई पठनपाठनमा असहज भएका गाउँ वस्तीमा बाल बिकास केन्द्र स्थापना, नगरपालिकाभित्रका सबै विद्यालयमा कम्प्युटर कक्षा तथा इन्टरनेट जडान गरिनुका साथै विपन्न तथा गरीव परिवारका विद्यार्थीका लागि छात्रवृत्ति सहयोग गर्ने नीति लिएको छ ।

नगरपालिका भित्रका एकदेखि चौध वडासम्मका दलित घरपरिवारलाई दशैं भत्ता उपलब्ध गराउने र दशैँभत्ता वापत पहिलो चरणमा २५ सयका दरले दशैँ भत्ता उपलब्ध गराउने व्यवस्था गर्ने नीति नगरपालिकाले लिएको छ । नगरपालिकामा विभिन्न सडक दुर्घटना, बाढी, पहिरो आगलागीको उच्च जोखिममा रहेकाले, विपत्त व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिनुका साथै, विपत व्यवस्थापन कोषको स्थापनालगायत दमकलको व्यवस्था गर्ने लक्ष्य राखेको छ । शारीरिक, मानसिक, सामाजिक रुपमा पिछडिएकालाई उपचारको व्यवस्था गर्ने नीति नगरपालिको रहेको छ ।

तपाईको प्रतिक्रिया