हत्या आरोपमा पक्राउ परेका ११ जना सार्वजनिक

युवक हत्यामा संलग्न भएको आरोपमा परेका ११ जना सार्वजनिक भएका छन् । जिल्लाको कुमाख गाउँपालिका–६ का २१ वर्षीय बिकास वलीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सल्यानले बिहिबार खलंगामा सार्वजनिक गरेको हो ।

कुमाख गाउँपालिका–५ कौछेका मानसिंह कुमाई लगायत ११ जनालाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिए । पक्राउ पर्ने अन्य १० जनामा सन्तोष कुमाई, हेमन्त थापा, विमल कुमाई, हेमन्त बुढाथोकी, भरत बुढाथोकी, टिकाराम थापा, डण्डवीर कुमाई, मनवीर कुमाई, लोकेन्द्र थापा र झलक कुमाई रहेका छन् । पक्राउ परेका सबै अभियुक्तलाई सल्यान जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघी बढाइएको छ ।

कुमाख गाउँपालिका–५ कौचेस्थित मंगलबार राति विवाहको भोज खाई नाचगान गर्ने क्रममा विवाह घरमा सजाइएका ध्वजापतका च्याती विवाहमा आएका मानिसहरुलाई अश्लिल शब्द प्रयोग गरी हो हल्ला गरेपछि विकास वलीले भरत बुढाथोकी लगायतको समूहलाई सम्झाई बुझाई गर्दा वादविवाद भएको थियो । घर फर्किने क्रममा विवाह घरदेखि झन्डै एक किलोमिटर टाढा मानसिंह लगायतका व्यक्तिहरूको समूहले बिकास वली सहित ३ जनालाई कुटपिट गर्दा गम्भीर घाइते भएका थिए । घाइते वलीको मिशन अस्पताल चौरजहारी हुँदै नर्सिङ होम नेपालगंज बाँकेमा उपचारका लागि लिदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।

कुटपिटबाट घाइते भएका १ जना मिशन अस्पताल चौरजहारीमा उपचार पश्चात डिस्चार्ज भएका छन । घाइते १ जनाको नर्सिङ होम बाँकेमा उपचार भइरहेको सल्यान प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया