श्रीधर पौड्याललाई प्रेस स्वतन्त्रता सेनानी सम्मान

विश्व प्रेस स्वतन्त्रता दिवस तथा नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन शुक्रबार र शनिबार काठमाडौंमा जारी छ । शुक्रबार महाधिवेशनको उद्घाटनसत्रमा पत्रकारिता क्षेत्रमा लामोे समयदेखी योगदान पुरयाएका विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।

नेपाल पत्रकार महासंघले हरेक बर्ष विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वितरण गर्दै आएको प्रेस स्वतन्त्रता सेनानीको सम्मान यस पटक पनि वितरण गरेको छ । कर्णालीबाट प्रेस स्वतन्त्रता सेनानीको सम्मान बरिष्ठ पत्रकार तथा अधिवक्ता श्रीधर पौड्याललाई प्रदान गरिएको छ । महाधिवेशनका मुख्य अतिथि तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्धारा ‘प्रेस स्वतन्त्रता सेनानी’ को सम्मान वितरण गरिएको थियो ।

सम्मानित पौड्यालले २०३५ सालदेखी सुर्खेतमा टंक प्रसाद भट्टराईको सम्पादकत्वमा सञ्चालित पहिलो बुलबुले साप्ताहिक पत्रिकाबाट पत्रकारिताको शुभारम्भ गरेका थिए । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको पूर्व अध्यक्ष समेत रहेका उनी हाल भूमि आयोग जिल्ला समिति सुर्खेतको अध्यक्ष रहेका छन् ।

यस अघि कर्णाली प्रदेशमै रहेर सक्रिय पत्रकारिता गर्ने सुर्खेतका बालाराम शर्मा, चिरञ्जिवी अर्याल, र पिताम्बर ढकाललाई प्रेस स्वतन्त्रता सेनानीबाट सम्मान गरिएको थियो । त्यसैगरी स्थायीबासी कर्णाली प्रदेशमै भएपनि कार्यक्षेत्र काठमाडौंबाट पत्रकारिता गर्दै आएका हुम्लाका डा. दिपेन्द्र रोकाय र जुम्लाका मनऋषि धिताललाई समेत यो सम्मान वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया