जसले सुर्खेतमा पाउरोटी खान सिकाए

विपिन ठाकुर
सञ्चालक, गंगामाला पाउरोटी उद्योग,सुर्खेत

जीवन संघर्षको क्रममा जो निरन्तर मेहनतबाट थाक्दैन, अवश्य उसले सफलता प्राप्त गर्छ । जसले कर्म नगरी भाग्य खोज्छ, ऊ सफल नहुन सक्छ । जीवनमा जस्तो सुकै बाधा अड्चन आए पनि जसले डटेर लड्ने क्षमता राख्छ । ऊ अवस्य पनि गन्तव्यमा पुग्छ । यस्तै जीवन भोगाईको अनुभव भएका एक उदाहरण व्यक्ति हुन्, विपिन ठाकुर । वीरेन्द्रनगरमा रहेको न्यू गंगामाला पाउरोटी उद्योगका सञ्चालकसमेत रहेका उनको जीवन भोगाइ र संघर्षको अनुभव आजको जम्काभेटमा । प्रस्तुत छ, कुराकानीमा आधारित शारासं :-

घरको काम गर्दै स्कुल
मेरो जन्म २०२४ साल चैत्र २७ गते भएको हो । महोत्तरी जिल्लाको तत्कालिन भ्रमपुरा गाविस ३ मा म जन्मिएको हुँ । मेरो जन्म सामान्य कृषक परिवारमा भएको हो । म गाउँमै जन्मिएँ र गाउँमै हुर्किएँ । बाल्यकालमा घरको काम गर्दै स्कुल जान्थ्येँ । परिवारमा खान लगाउन खासै समस्या थिएन । तर परिवारको मुख्य पेशा नै कृषि भएकाले बाबा आमासँगै खेतवारी र मेलापात गरिन्थ्यो । घरमा भैंसी पालेका थियौँ । म विदाको दिन र स्कुलबाट आएपछि भैंसी चराउन जान्थ्येँ । कक्षा ५ सम्म गाउँकै प्राथमिक विद्यालयमा पढेँ । पछि कक्षा ६ देखि १० सम्म गाउँ नजिकैको माध्यामिक विद्यालयमा पढेँ ।

गरिबीले पढाइ अधुरो
धान तथा अन्य अन्नबाली उत्पादन गरेर बेचेको पैंसाले हाम्रो परिवारको खर्च चल्थ्यो । चाडवाडमा मिठो मसिनो खान होस्, वा राम्रो लगाउन पैंसाका लागि अन्नबालीकै भर पर्नुपथ्यो । अहिलेको जस्तो पढ्न पनि सजिलो थिएन । विद्यालयको चौरमा बसेर बाँसको कलमले लेख्दै पढेको याद ताजै छन् । तर घरको कमजोर आर्थिक अवस्थाका कारण मैले कक्षा १० भन्दा माथि पढ्न सकिन । हुन त त्योबेला कक्षा १० सम्म पढ्नु पनि ठुलै कुरा थियो । कक्षा १० पछि उच्च शिक्षका लागि गाउँ छोड्नुपर्ने बाध्यता थियो । पढ्नका लागि कि त जनकपुर, कि भारतको पट्ना, सितामणी लगाएतका सहरमा जानुपथ्यो । त्यहाँ गएर पढ्नका लागि आर्थिक अवस्था कमजोर भएपछि पढाइ छोडर व्यवसायमा लागेँ ।

व्यवसायिक यात्रा
व्यापार व्यवसायप्रति मेरो सानै देखिको रुची पनि हो । कुरा २०४१ साल तिरको हो । मैले सुर्खेतमा आएर नापी टोलीसँग काम गर्ने जागिर पाएँ । दुईवर्ष काम पनि गरेँ । त्यो अवधिमा सुर्खेतका गाउँ गाउँ पुगियो । त्यतिबेला यातायातको सविधा थिएन । हामी घरबाट आउँदा वा जादाँ बर्दिया हात्तिसारसम्म हिँडेरै जान्थ्यौं । त्यो बेला दिउँसो अफिस जाने, विहान विहान पाउरोटी बेच्ने काम गरेँ । सुर्खेतमा त्यतीखेर अशोक पाउरोटी उद्योग मात्रै थियो । त्यो त्यती व्यवस्थितत थिएन । फुर्सदको समय खाली किन बस्नु भनेर विहान पाउरोटी बेच्ने काम गरेको हुँ ।

त्यतीबेला अधिकांश मान्छेहरुले पाउरोटी भन्ने थाहाँ पाएका थिएनन् । म बेच्न जादाँ कसरी खाने हो ? भनेर सोध्थे । सुर्खेतमा अधिकांशलाई पाउरोटी खान पनि सिकाइयो । त्यतीबेला सुर्खेतमा १८ वटा होटल मात्रै थिए । म सबै होटलमा पाउरोटी दिन जान्थ्येँ । विस्तारै होटल बढ्दै गए । पाउरोटीको बजार पनि बढ्दै गयो । पाउरोटी उद्योगमा राम्रो सम्भावना देखेपछि पिपिरामा रहेको गंगामाला पाउरोटी उद्योग किनेर न्यू गंगामाला नाम राखँे । त्यसपछि मेरो उद्योगमा उत्पादन हुने पाउरोटी उपभोक्ताले मन पराउदै गए । दिन प्रतिदिन आम्दानी बढ्दै गयो । हाम्रो उद्योगले सुर्खेतको बजार माग पूर्ती गर्दै गयो ।

३० जनालाई रोजगारी
२०४२ तिर चोकचोकमा पाउरोटी लिएर बेच्न जादाँ एउटा पाउरोटीको मुल्य ५० पैंसा मात्रै थियो । अहिले १० रुपैंया पुगेको छ । त्योबेला रातभर आगोमा पाउरोटी पकाउनु पथ्र्यो । तर अहिले सबै काम मेसिनबाट हुन्छ । पहिले र अहिले दुखमा धेरै फरक छ । तर अहिले १० रुपैंयामा बेचेको भन्दा त्यो बेला ५० पैंसामै बेचेको पाउरोटीबाट बढी फाइदा हुन्थ्यो ।

व्यवसायमा मैले कहिल्यै अरुको रिस गरिन । सँधै आफ्नो मेहनत जारी राखे । अहिले हाम्रो व्यवसायमा सघाउन ३० जना बढीलाई रोजगारी दिएको छु । तर बजारमा दक्ष जनशक्तिको अँझै अभाव छ । धेरैले काम पाएनौ भनेर हिँड्छन् । तर आफुसँग भएको सीप प्रयोग गर्दैनन् । नेपाली गरिब र बेरोजगार छैनन् । गरिब बनेका मात्रै हुन् । यहाँ व्यवसाय गर्न सके धेरै सम्भावना छन् । तर दक्षजनशक्ति र विद्युत लगायतको समस्या छन् ।

अबको योजना
मेरो अबको व्यवसायिक यात्रा भनेको पाटी प्यालेस सञ्चालन गर्ने भन्ने हो । कोरोनाका कारण केही समय ढिला भयो । पाटी प्यालेस खोलेर सयौंलाई रोजगारीको अवसर सृजना गर्नेछु । तर पाउरोटी उद्योग बन्द हुँदैन । यी दुबै व्यवसाय सञ्चालन गर्ने सोचमा छु । मलाइ धन र रिसको घमण्ड छैन । आफ्नै बुद्धिले भ्याएसम्म काम गर्छु । धेरै पैंसा कमाएर धेरै धन सम्पति कमाउनुपर्छ र राजनीति गर्नुपर्छ भन्ने मेरो भावना छैन । परिवारलाई सन्तोषसँग बस्न खान पुगेकै छ ।

पाउरोटी बेचेरै वीरेन्द्रनगरमा ढाइ तलाको पक्की घर बनाएको छु । आठ धुर जग्गा जोडेको छु । सवारी साधन किनेको छु । काठमाडौं ब्रिटिस कलेजबाट छोरोलाई एलेक्स पढाएँ । अहिले छोरो फिल्म क्षेत्रमा अध्धयन गर्न भारतको हैदराबादस्थित क्याम्पसमा भर्ना भएको छ । मसँग श्रीमती, नातिनी र भतिजाहरु साथमा छन् । हामी आफु खुसी र सन्तुष्ट हुँदै हाम्रा ग्राहकलाई पनि खुसी बनाउन सफल भएका छौं । हामीलाई अब व्यवसायमा लगानी गर्ने र कामदारलाई दिने पैंसा आम्दानी भए पुग्छ । जसरी पाउरोटी उद्योगबाट ग्राहकलाई सन्तुष्ट दिलाएका छौं । त्यसरी नै अब पाटी प्यालेस खोलेर ग्राहकको मन जित्ने छौं । हाम्रो यो यात्रामा सहयोग गर्ने सबै आफन्त तथा महानुभावप्रति कृतज्ञता प्रकट गर्दछु । हामीलाई आगामी दिनमा पनि यसरी नै साथ दिनुहोला । (२०७७ भदौं १९ गते शुक्रबार युगआव्हान राष्ट्रिय दैनिकको साताको जम्काभेटमा प्रकाशित)

जसले सुर्खेतमा पाउरोटी खान सिकाए

डिएसपी खतिवडाका दर्जनौं कर्तुत खुलासा

जसले सुर्खेतमा पाउरोटी खान सिकाए

युनियन लाइफ वीमा कम्पनीले बदमासी गरेपछि

Leave a comment

Your email address will not be published. Required fields are marked *