कर्णालीमा नेकपाभित्र सत्ता संघर्ष,केन्द्रको निर्देशनपछि मुख्यमन्त्रीले रोके मन्त्रीमण्डल पुनर्गठन

सुर्खेत, १७ कात्तिक ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि आइतबार मन्त्रीमण्डल पुनर्गठन रोकिएको बताइएको छ । मुख्यमन्त्री शाहीले आइतबार नै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसमूहका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई हटाएर मन्त्रीमण्डल पुनर्गठनको तयारी थालेका थिए ।

तर अध्यक्ष प्रचण्डले तत्काल मन्त्रीमण्डल पुनर्गठन नगर्न र यदी गर्नैपरे २१ जना सांसद पक्षमा भएमात्रै मन्त्रीमण्डल पुनर्गठन गर्न निर्देशन दिएपछि मन्त्रीमण्डल पुनर्गठन रोकिएको हो । ‘अध्यक्ष (प्रचण्ड) ले सहज वातावरण तय गरेर मात्रै मन्त्रीमण्डल पुनर्गठन गर्नु भन्नु भएको छ’ मुख्यमन्त्री निकट एक सांसदले भने, ‘अब नेकपाका २१ जना सांसद मुख्यमन्त्री पक्षमा उभिएपछि मन्त्रीमण्डल पुनर्गठन हुन्छ ।’
४० सदस्यीय कर्णाली प्रदेश सभामा सभामुखसहित नेकपाका ३३ जना सांसद छन् । तिमध्ये २० जना सांसद मुख्यमन्त्रीको पक्षमा रहेको मुख्यमन्त्री सचिवालयको दाबी छ । माधव नेपाल समूहका आठजना र प्रचण्ड समूहका १२ जना सांसद मुख्यमन्त्रीको पक्षमा उभिएको दाबी गरिएको छ । गत असोज २५ गते नेकपाकै १८ जना सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए । नेपाल समूहका सात जना, प्रचण्ड समूहका तीन जना र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षमा १८ जना सांसदहरुले नेकपा सांसदीय दलको बैठकमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
तर अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका पुरै र प्रचण्ड समूहका दुई जना मुख्यमन्त्रीको पक्षमा उभिएको मुख्यमन्त्री सचिवालयको जनाएको छ । नेपाल समूहका कुर्मराज शाहीलाई असोज २७ गते नै मुख्यमन्त्री शाहीले सचेतक पदमा नियुक्ती गरिसकेका छन् । बाँकी अम्मरबहादुर थापा, चन्द्रबहादुर शाही र करविर शाहीलाई मन्त्री बन्ने लाइनमा छन् । असन्तुष्ट पक्षले संसदमै अविश्वासको प्रस्ताव ल्याउने सक्ने आँकलनपछि मुख्यमन्त्रीले २१ जना सांसद आफ्नो पक्षमा भएमात्रै मन्त्रीमण्डल पुनर्गठन गर्नेछन् ।
केन्द्रको निर्देशनपछि मुख्यमन्त्री र शाहीले एक÷दुई दिनपछि मात्रै मन्त्रीमण्डल पुनर्गठन गर्ने निष्कर्षमा पुगेका छन् । ‘आइतबार नै मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारी थियो, तर केन्द्रबाट एक÷दुई दिन पर्खनु भन्ने खबर आएको छ’ मुख्यमन्त्री निकट ति सांसदले भने, ‘अब एक÷दुई दिन मन्त्रीमण्डल पुनर्गठन हुँदैन ।’ मन्त्रीमण्डल पुनर्गठनका लागि मुख्यमन्त्री शाहीले आइतबार विहान मात्रै बरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरुसँग छलफल थालेका थिए । मुख्यमन्त्रीले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहका मन्त्री रावल र बुढालाई हटाएर नेपाल समूहका चन्द्रबहादुर शाही, करविर शाही र अमरबहादुर थापालाई मन्त्री बनाउने तयारी गरेका थिए ।
सात सदस्ययी मन्त्रीमण्डमा एक वर्षदेखि भौतिक पूर्वाधार विकास मन्त्रालय खाली छ । तर केन्द्रको निर्देशनपछि तत्काल मन्त्रीमण्डल पुनर्गठन रोकिएको थियो । ‘मन्त्रीमण्डल पुनर्गठन हुने सत्य हो, तर मन्त्रीमण्डल विस्तार गर्दा यसको असर केन्द्रमा पर्ने देखियो’ मुख्यमन्त्री निकट ति सांसदले भने, ‘केन्द्रमा दुई अध्यक्षबीच सहमतिको वातावरण बिर्गन नदिन एक÷दुई मन्त्री हेरफेर हुँदैन ।’ मुख्यमन्त्रीले विवादलाई थप चर्किन नदिन र सहमतिको वातावरण तयार पार्ने उद्देश्यले मन्त्रीमण्डल पुनर्गठन रोकिएको ति सांसदले बताए ।
‘अविश्वासको प्रस्ताव फेल भइसकेको छ, केन्द्रमा दुई अध्यक्षले सहमतिको प्रयास गरि राख्नुभएको छ’ ति सांसदले भने, ‘मुख्यमन्त्री सहमतिबाटपछि हट्नु भएको होइन, तर विवादलाई थप चर्किन नदिन एक÷दुई दिन मन्त्रीमण्डल पुनर्गठन रोक्नु भएको हो ।’ उनका अनुसार अब २१ सांसद मुख्यमन्त्रीको पक्षमा उभिएपछि मन्त्रीमण्डल पुनर्गठन हुनेछ । असोज २५ गते मुख्यमन्त्रीविरुद्ध १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव ल्याएपछि नेकपामा विवाद सिर्जना भएको थियो । मुख्यमन्त्री शाहीले नेपाल समूहका केही सांसदहरुलाई मन्त्री बनाउने सहमतिपछि अविश्वासको प्रस्ताव फिर्ता लिएका जनाएका थिए । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल समूह र नेपाल समूहका १८ जना सांसदले कात्तिक ७ गते बसेको संसदीय दलको बैठकबाट अविश्वासको प्रस्ताव फेल भएको बताउँदै आएका छन् । तर अविश्वासको प्रस्ताव ल्याउने पक्षले भने मुख्यमन्त्रीबिरुद्धको अविश्वासको प्रस्ताव जहाँको तही रहेको दाबी गर्दै आएको छ ।
आन्तरिक गृहकार्य बाँकी छ ः विष्ट
प्रचण्ड समूहका सांसद विन्दमान विष्टले भने आन्तरिक गृहकार्य नपुगेका कारण आइतबार मन्त्रीमण्डल पुनर्गठन हुन नसकेको बताए । ‘आइतबार नै मन्त्रीमण्डल विस्तार हुने कुरा थिया,े तर सबै पक्षसँग गृहकार्य गर्ने समय पर्याप्त भएन’ उनले भने, ‘गृहकार्य नपुगेकै कारण मन्त्रीमण्डल विस्तार रोकिएको हो ।’ अध्यक्ष प्रचण्डले मन्त्रीमण्डल रोक्न आदेश नगरेको, तर सबैलाई केहीदिन कुर्न आग्रह गरेको उनको भनाइ छ । ‘अध्यक्षले मन्त्रीमण्डल पुनर्गठन नगर्नु भन्नु भएको छैन, तर केहीदिन पर्खनु भन्नु भएको छ’ सांसदले विष्टले भने, ‘मुख्यमन्त्रीले आन्तरिक गृहकार्य गरेपछि मन्त्रीमण्डल पुर्नगठन हुन्छ ।’ मन्त्रालय बाँडफाँडमा कुनै विवाद नरहेको उनको दाबी छ ।
सबै मन्त्री फेर्नुपर्छ ः थापा
यस्तै नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद अमरबहादुर थापाले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आग्रहमा मन्त्रीमण्डल पुनर्गठन रोकिएको बताए । ‘आइतबार नै मन्त्रीमण्डल पुनर्गठन हुने तयारी थियो, तर प्रचण्डले फोन गरेपछि रोकियो’ सांसद थापाले भने, ‘केही दिनमा मुख्यमन्त्री बाहेक सबै मन्त्रीहरु हेरफेर हुन्छ ।’ असोज २७ गते नै मन्त्रीमण्डल पुनर्गठन गर्ने सहमति अनुसार सबै मन्त्रीमण्डल फेरबदल हुने उनको भनाइ छ । मन्त्रीहरुले आधा कार्यकाल पुरा गरिसकेको भन्दै सांसद थापाले मुख्यमन्त्री बाहेक सबै मन्त्री फेरिनुपर्ने बताए । ‘मन्त्रमण्डल पुनर्गठन भनेको एक÷दुईलाई हटाउने मात्रै होइन, पुराना सबैलाई विदाई गर्नुपर्छ भन्ने होे’ उनले भने, ‘अब पुरानालाई हटाएर नयाँ ल्याउनुपर्छ ।’ मुख्यमन्त्रीसँग असोज २७ गतेको छलफलमा नेपाल समूहका तीन जना सांसदलाई मन्त्री बनाउने सहमति भएको समेत उनको दाबी छ ।
सहमतिका लागि राजीनामा दिएनौं ः मन्त्री रावल
आइतबार विहान मात्रै पदबाट राजीनामा दिने संकेत गरेका सामाजिक विकास मन्त्री दल रावलले सहमतिको प्रयास भएका कारण राजीनामा नदिएको बताएका छन् । ‘मन्त्रीमण्डल फेरबदल हुने संकेत पाएको थिए,ँ तर मैले राजीनामा दिने कुनै आधार नै थिएन’ उनले भने, ‘कसैको पक्ष् विपक्षमा लागेरभन्दा पनि सहमतिको प्रयासका लागि राजीनामा दिइँन ।’ पार्टीलाई एक बनाउन र सहमति अनुसार सरकार सञ्चालनको पक्षमा लाग्ने तर आफू कुनै गुटको शिकार नहुने मन्त्री रावलले भनाइ छ । ‘सबै पक्ष पार्टीको सहमति अनुसार चल्नुपर्छ, तर कसैलाई पेल्ने र ठेल्ने काम गर्नु हुँदैन’ उनले भने, ‘सबैको सहअस्तित्वका साथ समस्याको निरुपण गरिनुपर्छ ।’ पार्टी केन्द्रले पनि आफूलाई राजीनामा नदिएर सहमतिको प्रयास गर्न आग्रह गरेको मन्त्री रावलले बताए ।





