गाउँ फर्किने घटे

विद्यालयका क्वारेन्टाइन हटाइँदै

सुर्खेत, २३ असार ।

पछिल्लो समय कोरोना संक्रमित क्षेत्रबाट गाउँ फर्कने नागरिकको संख्या घट्दै गएको छ । सोमबार मात्रै संक्रमित क्षेत्रबाट डोल्पा, हुम्ला र कालिकोट जिल्लामा एक जना नागरिक घर फर्केका छन् । रुकुमपश्चिमा तीन जना, सल्यानमा सात जना र जुम्लामा नाँै जना नागरिक गाउँ फर्किएका हुन् ।

सोमबार कर्णाली प्रदेश भित्रिएका एकसय ६९ जनामध्ये सुर्खेतका ५४, दैलेख २५, मुगु ३१ र जाजरकोटका ४० रहेको छन् । भारत तथा अन्य तेस्रो मुलुकबाट गाउँ फर्कने नागरिकको संख्या घटेसँगै विद्यालयमा बनाइएका क्वारेन्टाइन पनि हटाउन थालिएको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कर्णालीका झण्डै ९० प्रतिशत विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएका छन् ।

कर्णाली प्रदेशका विभिन्न जिल्ला स्थित क्याम्पस र विद्यालयमा निर्माण गरिएका क्वारेन्टाइन अन्य भवनमा सार्न थालिएको छ । भने गाउँ फर्किनेको संख्या घटेपछि अधिकांश क्वारेन्टाइन मर्ज गरिने भएको हो । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार सकेसम्म विद्यालयमा बनाइएका क्वारेन्टाइनहरु हटाइने तयारी छ ।

क्वारेन्टाइन बस्नेको संख्या घटेपछि नजिकका विद्यालयहरुमा क्वारेन्टाइन गाभ्ने तयारी भएको हो । ‘संक्रमित क्षेत्रबाट गाउँ फर्कने नागरिकको संख्या घट्दैछ । कोरोना संक्रमण घट्दै गएमा विद्यालय खोल्नुपर्ने अवस्था आउन सक्छ’ मन्त्रालयका सूचनाअधिकारी कृष्णबहादुर रोकायले भने ‘अव क्याम्पसर र विद्यालयमा तयार पारिएका क्वारेन्टाइनहरुको विकल्प खोज्न थालेका छौं ।’

संक्रमितको संख्या १५ सय नाग्यो

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय नागेको छ । सोमार जुम्लामा एक, जाजरकोटमा तीन र सुर्खेतमा १४ जना गरी कुल १८ जना संक्रमित थपिएपछि संक्रमितको संख्या १५ सय १६ पुगेको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा परीक्षण गरिएकामध्ये १८ जनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमित सुर्खेतका १४ जनामध्ये भेरीगंगा नगरपालिका ३, ४, ११ र बराहताल गाउँपालिका ४, ७ र १० का एक÷एक छन् । त्यस्तै बराहताल–५ मा सात जना र वडा नखुलाईएका एक जना, जाजरकोटको भेरी गनरपालिकाका तीनजना र जुम्लाको सिंजा गाउँपालिका–६ का एक जना रहेका छन् ।

मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । सोमबार नै सुर्खेतको पञ्चपुरीबाट सात, गुर्भाकोटबाट पाँच, प्रदेश अस्पतालबाट तीन र जाजरकोटको बारेकोट आइसोलेसन सेन्टरबाट एक जना गरी कुल १६ जना संक्रमणमुक्त भएका छन् । योसँगै कर्णालीमा आइसोलेसनबाट डिस्चार्ज हुनेको संख्या १२ सय ३७ पुगेको हो ।

रित्तिदै क्वारेन्टाइन

विदेश तथा संक्रमित क्षेत्रबाट गाउँ फर्कने नागरिकको संख्या घटेसँगै कर्णालीका क्वारेन्टाइनहरु खाली हुन थालेका छन् । कोरोना रोकथाम र नियन्त्रणका लागि भन्दै स्थानीय र प्रदेश सरकारले आठ सय ९१ स्थानमा क्वारेन्टाइन निर्माण गरेका थिए । जहाँ ४१ हजार नौसय ५६ जना नागरिकलाइ राख्न सम्भव छ । हिजोआज भने ती क्वारेन्टाइनमा न्यून संख्यामा मानिसहरु बसेका छन् । सोमबारसम्मको तथ्याङ्क अनुसार प्रदेशभर दुईहजार पाँचसय ५० जनामात्रै क्वारेन्टाइनमा बसेका छन् ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार डोल्पाका क्वरोन्टाइन रित्तिएका छन् । त्यस्तै हुम्लामा दुईसय १०, मुगुमा ६५, कालिकोटमा एकसय १५, जुम्लामा ९०, रुकुमपश्चिममा दुईसय ५६, सल्यानमा तीनसय १७, दैलेखमा दुईसय ८८ र सुर्खेतमा सातसय ७५ जना क्वारेन्टाइनमा बसेका छन् ।

अब पालिकामै एकीकृत क्वारेन्टाइन

विदेशबाट गाउँ फर्कने नागरिकको संख्या घट्दै गएपछि सुर्खेतमा विद्यालयमा बनाएका क्वारेन्टाइहरु हटाइने भएको छ । विद्यालयबाट क्वारेन्टाइन हटाएर पालिका स्तरमै एकीकृत क्वारेन्टाइन निर्माण गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विद्यालय क्वारेन्टाइनको रुपमा प्रयोग हुदाँ बालबालिकाको पठनपाठनमा बाधा पुगेको निश्कर्ष निकालेको हो ।

विद्यालयमा बनाइएका क्वारेन्टाइनको विकल्प खोज्न थालिएको उनले बताए । विद्यालयमा रहेका क्वारेन्टाइनलाइ पालिकास्तरमा एकीकृत रुपमा सञ्चालन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुको संख्या क्रमश घट्दोक्रममा रहेकोले सम्भव भएसम्म अन्य भवनलाइ क्वारेन्टाइनको रुपमा प्रयोग गरिने भएको हो ।

विद्यालयका क्वारेन्टाइन हटाउने निर्णय भएको सूचना अधिकारी पदमलाल लामिछानेले बताए । सुर्खेतमा आधार भूत विद्यालयदेखि विश्वविद्यालयका एकसय ७५ शैक्षिक संस्थाहरु क्वारेन्टाइनको रुपमा प्रयोग भएका छन् । हालसम्म यी क्वारेन्टाइनमा १२ हजार आठसय ७० नागरिक बसिसकेका छन् साथै बैठकले क्वारेन्टाइन सञ्चालनले विद्यालयमा पर्ने असरबारे पनि अध्ययन गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया