झोलुङ्गे पुलको जाली लत्रिँदा १३ खच्चड अड्किए, ४ वटाको उद्धार

कर्णाली नदीमाथिको झोलुंगे पुलमा आइतबार बिहान फसेका खच्चडहरूको उद्धार कार्य जारी छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीय बासिन्दाको समेत सहयोगमा पुलमा फसेका खच्चड उद्धार गरिरहेका छन् ।
अछामबाट चामल लिन दैलेखको आठबीस नगरपालिकाको राकम बजार आउँदै गरेका १३ वटा खच्चड पुलमा फसेका थिए ।
अछामका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश कोइरालाका अनुसार ती खच्चडहरू अछामबाट चामल लिन दैलेख आउँदै गर्दा पुलमा फसेका थिए ।
‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई पुलमा फसेका खच्चड उद्धार गर्न परिचालन गरिएको छ,’ उनले भने, ‘विकट स्थान र घटनाबारे आज बिहान ११ बजेमात्रै खबर आइपुगेको थियो ।’
अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीसलाई जोड्ने कर्णाली नदी माथिको उक्त पुलको एकछेउका लठ्ठा चुडिँदा खच्चड अड्किन पुगेका थिए । लठ्ठा चुडिँएको भागको पुल झुकेपछि १३ खच्चर जालीमा छिरेका थिए । पुलको जाली काटेर खच्चडहरूको उद्धार गरिएको हो ।
‘सुरक्षाकर्मी र स्थानीयले पुलको जाली काटेर खच्चडलाई कर्णाली नदीमा खसालिरहेका छौं, केही खच्चड तैरिएर किनारमा आए, केहीलाई डुंगामार्फत् निकालिएको छ,’ आठविस ६ का वडाध्यक्ष नवराज शर्माले भने ।
उनकाअनुसार हालसम्म चार वटा खच्चडलाई नदीमा खसालिएको छ । नदीमा एउटा डुंगा राखिएको छ ।
उद्धार गरिएको खच्चडहरूको उपचारका लागि मेडिकल टिम बोलाइएको वडाध्यक्ष शर्माले बताए ।
उनकाअनुसार कतिपय खच्चड जाली काटेर खसाले पनि बगरमा पर्ने भएकाले त्यसको लागि अर्को विकल्प खोजिएको छ ।
‘नदीमा खस्ने खच्चड त बाँच्ने सम्भावना छ, बगरमा झर्ने खच्चडलाई उद्धारमा कठिन छ,’ उनले भने, ‘तत्काल नदीमा खसाल्न मिल्नेलाई उद्धार गर्ने र छेउमा भएकाहरूका लागि अर्को विकल्प खोजिरहेका छौं ।’





