बालविवाह न्यूनीकरण गर्न अन्तरपुस्ता संवाद


गाउँमा वालविवाह रोक्नका लागि अन्तरपुस्ता संवाद कार्यक्रम थालिएको छ । बालबालिका, ज्येष्ठ नागरिक र युवा पुस्ताकाबिचमा बालविवाहको बुझाइ, भोगाइ र न्यूनीकरणमा साझा एक्यबद्धता थालिएको छ ।

हिमा गाउँपालिका–६ पाथरखोला गाउँका ७३ वर्षीय पदम खत्रीले भने, “१० वर्षको उमेरमा विवाह भयो । सानै उमेरमा भएको विवाहले घरवार बन्न सकेन । बालविवाह भएकाले दोस्रो विवाह गर्नुपर्ने अवस्था आयो ।“ सानै उमेरमा भएको विवाह सफल नभएपछि २५ वर्षको उमेरमा दोस्रो विवाह गर्नुपरेको अनुभव सुनाए ।

खत्रीका अहिले तीन छोरा र तीन छोरी छन् । “त्यतिबेला यो बालविवाह कुरै हुने गरेको थिएन । सानै उमेरमा विवाह गर्ने चलन थियो । कुनै महिलालाई पुरुषले मन परायो भने सिधै तानेर लिने चलन थियो । बालविवाहको पश्चताव हुन्छ अहिले । बालविवाहले शिक्षा र स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने रहेछ“, उनले भने ।

हिमा गाउँपालिकाको समन्वय तथा क्याड नेपाल प्लान नेपालको आर्थिक सहयोगमा गाउँमा बालविवाह विरुद्धको अन्तरपुस्ता संवाद कार्यक्रम गरिँदै आएको छ । हिमा ६ पाथरखोला गाउँकी ४६ वर्षीय सम्झना शाहीले १५ वर्षको उमेरमा मेलामा घाँस काट्न गएका अवस्थामा त्यहीबाट छोपेर ल्याएर विवाह भएको हो । उहाँका दुई छोरा, एक छोरी छन् । उनका अनुसार १५ वर्षको उमेरमा बालविवाह भएकै हो । “बालविवाह गर्नु नहुने रहेछ । अहिले बालविवाहका असार र प्रभावका विषयमा थाहा पायौँ । छोराछोरीलाई बालविवाह नगर्न भनेर सुझाउने गरेका छौँ,“ उनले भने ।

पाथरखोला गाउँस्थित भानु माध्यामिक विद्यालय कक्षा ८ मा अध्ययनरत १३ वर्षीय स्वष्तिका शाहीले बालविवाह गर्न नहुने कुरा बुझेको बताए । “बालविवाहले प्रत्यक्ष रुपमा मानिसको स्वास्थ्य र शिक्षामा असर पर्ने भएकोले गर्न नहुने कुरा बुझेका छौँ । पहिलो पुस्ता र दोस्रो पुस्ताले बालविवाह गर्दा उहाँहरुले भोग्नु भएको दुःख पीडालाई पनि हामीले बुझेका छौँ । कानुनी रुपमा पनि २० वर्षदेखि माथि पुगेपछि मात्रै विवाह गर्नु पर्दछ भन्ने बुझेका छौँ । बालविवाह गर्न नहुने कुरा सवै गाउँबस्तीमा पुगेर सचेतीकरण गर्नुपर्ने छ“, उनले भने ।

अन्तरपुस्तामा ‘बिहेबारी २० वर्षपारि’ भन्ने नारा नेपाल सरकारको नारा छ । यही नारालाई प्राथमिकतामा राखेर नेपाल सरकारले सन् २०३० सम्म बालविवाह मुक्त समाज बनाउने लक्ष्य लिएको छ ।

यसअघि क्याड नेपाल जुम्लाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार तीन वर्षयता हिमा गाउँपालिकामा मात्रै एक हजार एक सय सात जनाको विवाह भएकोमा सात सय ५५ जनाको बालविवाह भएको देखिन्छ । कुल विवाहको ६८।२० प्रतिशत बालविवाह भएको तथ्याङ्कले देखाउँछ ।

प्लान नेपालको सहयोगमा हिमा, सिजा र कनकासुन्दरी गाउँपालिकामा बालविवाह न्यूनीकरण गर्नका लागि कार्यक्रम सञ्चालन गर्दै आएको आत्म सम्मानका लागि सहकार्य (क्याड) जुम्लाका सामाजिक परिचालक अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए । उनले गाउँ गाउँमा बालविवाह विरुद्धको अन्तरपुस्ता संवाद कार्यक्रम समेत गर्दै आएका छौं । अन्तरसंवाद सामाजिक अभियान्ता तथा संचारकर्मीहरुबाट सहजीकरण गर्दै आएको आचार्यले बताए ।

बालविवाह न्यूनीकरण गर्न अन्तरपुस्ता संवाद

बाँकेमा किसानसँग पालिकाप्रमुख कार्यक्रम

बालविवाह न्यूनीकरण गर्न अन्तरपुस्ता संवाद

सल्ली खोलामा बनेको पुल प्रयोगविहीन