मेयरले चालक नहुँदा आफैं चलाउँछन् एम्बुलेन्स


छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले आफैंले एम्बुलेन्स चलाएर बिरामीलाई अस्पताल लैजान थालेका छन् । एम्बुलेन्स चालक काम विशेषले घर गएपछि सेवा प्रभावित हुन नदिनका लागि मेयर भाम आफैंले एम्बुलेन्स सञ्चालन गर्न थालेका हुन् ।
बिरामीलाई एम्बुलेन्स सेवाबाट हुन नदिन नगरपालिकाको अन्यकाम छाडेर एम्बुलेन्स चलाउन थालेको नगर प्रमुख भामले बताए । छायाँनाथ रारा नगरपालिकाका–६ बालै गाउँका ७० वर्षिय बिरामी लोकबहादुर भाम र सोही गाउँकी ६८ वर्षिय बिरामी हिउँकला भामलाई उपचारका लागि मेयर आफैंले एम्बुलेन्स चलाएर जिल्ला अस्पताल पु¥याएको बिरामीका आफन्त जनकबहादुर भामले बताए ।
बिरामीका आफन्त भामका अनुसार एम्बुलेन्सका लागि नगरपालिकामा दुई-तीन पटक फोन गर्दा चालक नभएको जानकारी आएको थियो । उक्त समस्या मेयरलाई सुनाएपछि मेयर भाम आफै एम्बुलेन्स ल्याएर गाउँमा पुगेको उनको भनाइ छ ।
नगरपालिकाको कामसँगै आवश्यकता अनुसार बिहान र बेलुकाको समयमा एम्बुलेन्सको चालक नभएको बेलामा आफैले बिरामीलाई अस्पतालसम्म पु¥याउने कामलाई निरन्तरता दिने नगर प्रमुख भामले बताए ।






