महिनावारी हुँदा टालो लगाउने दिन गए

जुम्लाको तातोपानी गाउँपालिका–४ हाकुँकि हिमाली न्यौपाने १४ वर्ष हुदा पहिलो पल्ट महिनावारी (छुइ)भइन् । त्यो बेला हिमाली गाउँ नजिकैको नेत्र ज्योती माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दै थिइन् ।
हिमालीलाई उतिबेला प्याड सम्बन्धि जानकार थिइनन् । त्यो बेला उनले प्याडका रुपमा प्रयोग गर्न आमाको पुरानो धोतीको केही टुक्रा फेला पारेकी थिइन् । जुन उनले निकै अघिदेखि कुनामा कोचिराखेको पुरानो झोलाबाट निकालेकी थिइन् ।

त्यसपछिका कयौं महिना महिनावारी हुने दिन नजिकिदै जाँदा उनको मनमा एकप्रकारको त्रास, लाज, पश्चाताप र दिक्दारी बढ्दै जान्थ्यो । घरमा बुबाहरुको सामु पर्न हिच्किचाहट हुन्थ्यो । यस्तो बेला भान्सामा छिर्नु हुँदैन । पानी, खानेकुरा छुनु र पूजाकोठामा जानु हुँदैन । आमा र हजुरआमाले भनेका यी कुराले उनलाई झन असहज बनाइदिन्थ्यो ।
महिनामारी भएको बेला कम्तिमा तीन दिन स्कूल जाँदैन थिइन् । यदि गएपनि थरीथरीका बाहाना बनाए । घर आउँछिन् । केटा साथीहरु र सरहरुको अगाडी पर्न उनलाई लाज लाग्थ्यो । उनको लागि त्यो एक हप्ता चरम मानसिक यातनामा बित्थ्यो । छोरी भएर जन्मनु नै अभिशाप जस्तो लाग्थ्यो । यसले गर्दा उनको पढाई पनि खस्कियो, उनी निकै तनावमा रहन थालिन् ।
यस्तो दिग्दारीको अनुभूति छिमेककी साथी वा सोही वडाकि गौतमवाडा गाउँकि हिमाली गौतमलाई पनि हुन्थ्यो । धेरै किशोरीलाई महिनावारी हुँदा एउटै समस्याले सताउँथ्यो ।
गाउँमा खोजेका बेला सेनेटरी प्याड नपाइने । प्याड नभएकै कारण गाउँमा पढ्ने बेलासम्म कति दिन स्कुल छुटाउने गाउँका सबै साथीको समस्या एउटै थियो ।
महिनावारी हुँदा बग्ने रगत लुकाउन र सरसफाइमा ध्यान दिन नसकेकै कारण र महिनावारीका बेला चाहिने प्याड किन्ने पैसा नभएकै कारण विद्यालय छुटाएको दिन उनलाई याद छ । चाहिएका बेला साथमा पैसा हुँदैन । पैसा भए पनि भन्नेबित्तिकै प्याड पाइन्नथ्यो । किशोरी भन्छिन, ‘धेरैपटक स्कुल छुटाइयो ।’
यता छिमेकी पातारासी गाउँपालिका–५ जम्नाकी राजकुमारी बुढाको पनि भोगाई उस्तै थियो । उनी पनि कक्षा ७ मा अध्ययनरत हुदा महिनावारी ( छुइ) भइन् । राजकुमारीको उमेर १२ वर्षको थियो । उनी गाउँको ऋमोक्ष माध्यमिक स्कुलमा अध्ययनरत गर्दै थिइन् । पहिला बुढालाई स्यानेटरी प्याडका बारेमा खासै थाहा थिएन् ।
जब राजकुमारी ९ कक्षामा पढ्ने बेलामा पहिलोपटक आफु पढ्ने स्कुलमा प्याड बनाउने र प्रयोग गर्ने सम्बन्धि तालिम लिइन् । अहिले तालिम लिने संघसंस्थाको नाम थाहा छैन । पहिला प्याडका रुपमा पुराना फोहोर टालो प्रयोग गर्दा एलर्जीको पिडा पनि उनीहरुले सहनु पथ्र्यो ।
यस्ता कपडा धोएको अरुले देख्लान् भन्ने डरले हतारमा राम्रो नधुने, धोएर पनि कसैले नदेख्ने ठाउँमा सुकाउने गर्थे । त्यसले गर्दा झुसिल्किरा वा त्यस्तै विषालु जीवको संक्रमण कपडामा हुन सक्थ्यो । तर पछिल्ला वर्षदेखि उनिहरुको मनबाट यी असहजता हटिसकेको छ ।
महिनावारी हुनु भनेको महिलाको शरीरमा हुने नियमित प्राकृतिक प्रक्रिया मात्र रहेछ भन्ने बुझेपछि उनिहरुको मनबाट ती सबै प्रकारका बोझ भागेका हुन् ।
अहिले उनलाई महिनावारीकै कारण न घरमा बस्न कुनै हिच्किचाहट छ । न त स्कूल जान नै । अहिले त उल्टै ती केही दिन धेरै गाह्रो काम नगर्न बुबाको सल्लाह पाउँछिन् । स्कूलमा केटा साथीहरुको सहानुभूति र आवश्यक पर्दा सहयोग पनि पाउँछिन् ।
अझै पनि पिछडिएको उनको समाजमा यस्तो चेतना स्थानीय सरकार, सरकारी तथा गैरसरकारी कार्यालय विभिन्न बालक्लबहरु मार्फत् बढेको किशोरीहरु बताउँछिन् । शुरुमा यस्ता कुरा बुझाउन निकै गाह्रो पर्यो । महिनावारी हुँदा लापरवाही गरे भगवान रिसाउने, पाप लाग्ने डर देखाइन्थ्यो । तर यस्ता विषयमा पनि आफ्नो समाजमा जागरण ल्याउन निकै पहल गर्यौं ।
आमाहरुको गालि खायौं तर सम्झाउन छाडेनौं । विस्तारै मान्न थाल्नु भो । अहिले पुरानो सोचमा परिवर्तन आइसकेको छ । महिनावारी हुँदा आधुनिक प्याड किनेर प्रयोग गर्न सक्ने हैसियत अहिले पनि धेरैको छैन ।
त्यसकारण घरमै उपलब्ध कपडालाई सफा गरी प्रयोग गर्ने तरिका अहिले त्यस क्षेत्रका युवतीहरुले सिकेका छन् । उनीहरु अहिले त्यस्ता पुराना कपडा दुई, तीन महिनाभन्दा बढी प्रयोग गर्दैनन् । त्यसपछि उनीहरु फेरि अर्को कपडा प्रयोग गर्छन् ।
यस्ता कपडा पानी सफा गरी धोई प्रयोग गर्ने तरिका गाउँमा महिला स्वास्थ्यकर्मीले र स्कूलमा शिक्षिकाहरुले सिकाएको सोही गाउँकी मिना बुढा बताउँछिन् । अहिले किन्न सक्नेले सेनिटरी प्याड नै प्रयोग गर्छन् । अरुले सफा कपडा प्रयोग गर्ने उनीहरुको भनाई छ । छोरीहरुको सिको गर्दै त्यस क्षेत्रका अन्य आमाहरुले पनि महिनावारीका बेला आफ्नो स्वास्थ्यको ख्याल राख्ने, सफा प्याड प्रयोग गर्ने जस्ता सचेतता अपनाउन थालेको गुठिचौर गाउँपालिका अन्तर्गतको स्वास्थ्य शाखा प्रमुख बालराम नेपाली बताउँछन् ।
त्यसो त पछिल्लो समय धेरै गैर सरकारी तथा सरकारी संस्थाहरुले जन स्वास्थ्यसँग सम्बन्धित गतिविधि सञ्चालन गर्दै आएका छन् । त्यसले मानिसमा सचेतना बढेको छ । विद्यालयमा महिला शौचालय नहुँदा र महिनावारीलाई हेर्ने पुरातन दृष्टिकोणका कारण धेरै युवतीले माध्यमिक शिक्षा पूरा नहुँदै स्कूल छाड्ने गरेका थिए ।
अहिले यसरी स्कूल छाड्ने युवतीको संख्यामा धेरै नै कमी आएको शिक्षिका लक्ष्मी बुढा बताउँछिन् । बालविवाह, बालश्रम, बालबालिका बेचबिखन जस्ता विकृति विरुद्ध जिल्ला बाल सञ्जाल र वडा बाल सञ्जालहरुले ठाउँ ठाउँमा सडक नाटक देखाउँछन् ।
स्थानीय अभिभावक, बालबालिकासहितको भेला, छलफल कार्यक्रम आयोजना गर्छन् । महिनावारीलाई पापको मुहान ठान्ने गलत पुरातन सोचको शिकार अहिले पनि नेपालका धेरै किशोरी हुँदै आएका छन् ।
खासगरी कर्णालीका क्षेत्रमा महिलालाई महिनावारी हुँदा गोठमा राख्ने छाउपडी प्रथा अहिले पनि अधिकांश गाउँ घरमा कायमै छ ।






