चाडपर्वमै महंगियो हवाई टिकट

शुक्रवार वीरेन्द्रनगर आएका एक यात्रुले बुद्ध एयरलाई भुक्तान गरेको (नौं हजार एक सय ९१ रुपैयाँको) टिकट विवरण ।

वीरेन्द्रनगर–१० निवासी रामचन्द्र रेग्मीले शुक्रवार नै सुर्खेतका लागि बसका दुईवटा टिकट लिए । श्रीमती र बच्चाको लागि भनेर उनले दुईवटा टिकटको पाँच हजार एक सय २० रुपैयाँ भुक्तानी गरे ।

‘के गर्ने बसबाट धेरै समय यात्रा गर्नुपर्छ । परिवार केटाकेटाकेटीलाई निकै गाह्रो हुन्छ’, उनले भने, ‘प्लेनमा पठाउनुपर्ने दुई वटा टिकटको पैसाले त दशै खर्च घटाउला भन्ने डर ।’

रेग्मी हवाई यात्राका प्रयोगकर्ता समेत हुन् । सुर्खेतका स्थायी वासिन्दा रहेका उनी अन्य समयमा काठमाडौं यात्राका लागि हवाई यात्राको समेत प्रयोग गर्ने गर्छन् । तर हाल सुर्खेतका लागि हवाई टिकटको मूल्य अत्याधिक बढेपछि उनले बस सेवा नै प्रयोग गर्ने योजना गरेका हुन् ।

घटस्थापना शुरु हुनु अगावै काठमाडौं–सुर्खेत हवाई टिकटको मूल्य बढेको छ । सुर्खेतका लागि हवाई सेवा प्रदान गरिरहेको वुद्ध एयरलाइन्सले टिकटमा ५० प्रतिशतसम्म मुल्य वृद्धि गरेको छ । यसअघि काठमाडौं–सुर्खेतका लागि सात हजार रुपैयाँसम्ममा टिकट बिक्रि गरेर प्रशंसा कमाएको बुद्ध एयरले अहिले प्रतिव्यक्ति १० हजार रुपैयाँको हाराहारीमा टिकट बिक्रि गरिरहेको छ ।

फूलपातीसम्म पनि घट्ने सम्भावना छैन

दशैंको समयलाई लक्षित गरेर बढाइएको भाडा अझै केहि दिन घट्ने सम्भावना नै देखिदैन । बुद्ध एयरलाइन्सको आधिकारिक वेभसाइटमा असोज २८ गते काठमाडौंबाट सुर्खेतका लागि भाडादर हेर्दा न्युनतम नौं हजार नौं सय ८४ रुपैयाँ जनाइएको छ ।

यो भाडा दर ‘फिर्ता नहुने’ भाडा दर हो । शनिवार दिउँस ३ बजेको समयमा असोज २८ गतेकै लागि बुद्धले अधिकतम् १२ हजार तीन सय २८ रुपैयाँसम्मको भाडा दर रहेको जनाएको छ ।

कार्तिक ४ गते फुलपातीका दिनसम्म पनि बुद्धले काठमाडौं–सुर्खेतका लागि १३ हजार नौं सय ८४ रुपैयाँसम्म भाडा दर कायम गरेको देखिन्छ ।

कार्तिक ४ गतेसम्म काठमाडौं–सुर्खेतका लागि बुद्ध एयरको टिकट दर ।

हवाई टिकटमा अग्रिम बुकिङ तर्फ असोज ३० गते तथा कार्तिक १ गतेका लागि क्रमशः १० हजार आठ सय ८६ र ११ हजार ६ सय १५ रुपैयाँ भाडा गरिएको बुद्ध एयरलाइन्सले जनाएको छ ।

वार्षिक २९ हजार बढी यात्रु ओहोर–दोहोर

शुक्रवार सुर्खेत आईपुगेकी वीरेन्द्रनगरकी एक यात्रुले नौं हजार एक सय ९१ रुपैयाँ भाडा भुक्तानी गरिन् । चाडपर्वको समयमा हवाई टिकटको भाडा अस्वभाविक रुपमा बढ्दा उनले दुखेसो थियो ।

काठमाडौं देखि सुर्खेत तर्फको भाडा ६ हजार दुई सय हो । यसमा एयरलाइन्स कम्पनीहरुले न्युनतम चार हजार ६ सय ५० र अधिकतम् आठ हजार दुई सय ६६ रुपैयाँसम्म भाडा शुल्क लिन पाउछन् । हाल नागरिक उड्ययन प्राधिकरणले आन्तरिक हवाई सेवामा प्रति यात्रुका लागि प्रति घण्टा पाँच हजार नौं सय चार रुपैयाँ ४४ पैसा भाडा दर कायम गरेको छ । सो आधारमा काठमाडौं–सुर्खेत तर्फ ६४ दशमलव ९९ मिनेट हवाई यात्रा हुन्छ ।

सुर्खेत विमानस्थलको तथ्यांक हेर्दा यहाँ वर्षमा करिव २९ हजार यात्रु ओहोर–दोहोर गर्छन् । नागरिक उड्ययन प्राधिकरणको तथ्यांक अनुसार सन् २०२१ मा सुर्खेत विमानस्थल मार्फत २९ हजार ९३ जना यात्रुले हवाई सेवा प्रयोग गरेका थिए ।

सो वर्षमा सुर्खेत विमानस्थल भित्रनेहरुको संख्या १५ हजार दुई सय ३८ जना थियो । यो संख्या यहाँबाट वाहिरिने यात्रुहरुको संख्या भन्दा एक हजार तीन सय ८३ जनाले कम हो । सन् २०२१ मा सुर्खेत विमानस्थलबाट १३ हजार आठ सय ५५ जना वाहिरिएका थिए ।

सो समयमा दुई हजार पाँच सय १३ वटा विमान सुर्खेत विमानस्थलमा अवतरण गरेको नागरिक उड्ययन प्राधिकरणको तथ्यांक छ ।

हुम्लामा यात्रुलाई टिकट पाउन समस्या

दशैं नजिकिँदै गर्दा सिमिकोटबाट नेपालगञ्ज तथा सुर्खेत जाने यात्रुलाई हवाई टिकट पाउन समस्या भएको छ । नियमित रूपमा उडान नहुनु, टिकट महँगो हुनुलगायत कारणले यात्रुलाई टिकट पाउन समस्या भएको हो ।

सिमकोट बजारमा सिलाइकटाइको काम गर्दै आएकी पवित्रा परियारले नेपालगञ्ज जाने टिकट नपाएर यही बस्नु परेको बताइन् । उनले ११ दिनदेखि नेपालगन्ज जाने टिकट पाउन नसकेको गुनासो गरिन् । दैनिक टिकटका लागि निजी एयरलाइन्सको काउन्टरमा धाउने गरे पनि टिकट सकिएको जवाफ मात्र पाउने गरेको उनको भनाइ थियो ।

यहाँबाट नेपालगन्जका लागि समिट, सीता, तारा र नेपाल एयरलाइन्सका जहाजले उडान भर्ने गरेकामा अहिले समिट एयरले दैनिक एक–दुई उडान भर्ने गरेकाले टिकटको समस्या भएको नागरिक उड्ययन प्राधिकरण सिमकोट शाखाले जनाएको छ । सीता, तारा र नेपाल एयरलाइन्सले हप्तामा एकदेखि चार उडान मात्र भर्ने गरेका छन् ।

‘सहुलियतका टिकट हुनुपर्छ’

‘अरु समयमा कम मुल्यमा टिकट बेच्ने र चाडपर्वको समयमा भने मौका हेरेर अवसर छोप्नु गलत हो’, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले भने, ‘अहिले झन् यात्रुलाई सहुलियत दिनुपर्ने समय हो । यो बेला धेरै यात्रु ओहोर दोहोर गर्छन् ।

सुर्खेत देखि काठमाडौं फर्कदा हवाई सेवा कम्पनीहरुले यात्रु नपाउने भनाईका सन्दर्भमा उनले भने, ‘यो त बसमा पनि लागु हुन्छ नि । अव यात्रु पाइएको छैन भन्ने वहाना बनाएर भाडा नै बढाउनु त हुदैन ।’

हाल बढेको भाडाका विषयमा यहाँको प्रदेश सरकार तथा नागरिक उड्ययन प्राधिकरणको समेत ध्यानाकर्षण हुनुपर्ने उनले बताए ।

चाडपर्वमै महंगियो हवाई टिकट

मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब भन्दा बढि

चाडपर्वमै महंगियो हवाई टिकट

नेपालको सौन्दर्यता शे–फोक्सुण्डो, भ्रमण गर्न आह्वन गर्दै