कुहिएर डल्ला परेको चामल बिक्री

हुम्ला ।
हुम्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुहिएको चामल बिक्री गरेको छ । काठमाडौंदेखि केरुङ नाका हुँदै हुम्लाको हिल्सा नाकाबाट नाम्खा गाउँपालिका–५ मुचु, सब्बामा पु¥याएर ५० परिवारलाई बिक्री गरिएको चामल कुहिएको पाइएको हो ।
खाद्यले यहाँ सोमबार र मंगलबार एक सय २५ क्विन्टल चामल बिक्री गरेको थियो । नाम्खा– ५ का सम्बाका रिन्जिन तामाङले आफूले चार बोरा चामल किनेकामा दुई बोरा कुहिएको पाइएको बताए । ‘चामल भिजेर डल्लैडल्ला परेको छ, खानै नमिल्ने गरी कुहिएको छ,’ उनले भने, ‘दुई बोरा भने राम्रो छ ।’ स्थानीय आङमु लामाले पनि तीन बोरा चामल कुहिएको फेला परेको बताए ।
खाद्यले २५ किलोको एक बोरा चामल अनुदानमा दुई हजार तीन सय ७५ रुपैयाँमा बिक्री गरेको थियो । ‘पैसा तिरिसकेका छौँ, चामल कुहिएर डल्ला परेको छ । अब के गर्ने ?’ टुन्डुप तामाङले भने । खाद्यबाट किनिएको चामल कुहिएको पाइएपछि स्थानीयले बोरा खोलेर घाममा सुकाउने गरेको स्थानीय लोप्चाङ तामाङले बताए ।
खाद्य कम्पनीले हुम्लामा अनुदानको खाद्यान्न ढुवानीको जिम्मा खहरे–डिलाइट निर्माण जेभीलाई दिएको थियो ।
खहरे–डिलाइटका प्रोपाइटर पासाङ शेर्पाले ढुवानीका क्रममा हिल्सा नाकामा दुई दिन पानीमा भिजेकाले चामलमा समस्या आएको बताए । उनले चामल राख्ने गोदाम नभएको र गेटनजिकै त्रिपालले छोपेर राखेको बताए । जमिननिरको भागमा पानी पसेर भिजेपछि चामल बिग्रेको उनले बताएका छन् ।
खहरे–डिलाइटले नाम्खाका लागि हजार क्विन्टल र सदरमुकाम सिमकोटस्थित खाद्यको शाखाका लागि तीन हजार क्विन्टल गरी चार हजार क्विन्टल चामल ढुवानीको ठेक्का पाएको थियो ।
काठमाडौंबाट केरुङ हुँदै नाम्खाको केन्द्रसम्म प्रतिकेजी ४८ रुपैयाँ र सिमकोटसम्म प्रतिकेजी ८७ रुपैयाँ ढुवानी भाडा लागेको उनले बताए । खाद्यको सिमकोट शाखाका सुब्बा नवीन आचार्यले पनि हिल्सामा गोदाम नहुँदा समस्या भएको बताए ।






