सुविधा सम्पन्न प्रदेश अस्पतालमा सुत्केरीको मृत्यु


सुर्खेत ।
कर्णाली प्रदेशको एक मात्र सुविधा सम्पन्न अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पतालमा प्रसुती भएकी महिलाको उपचारकै क्रममा प्रसुति वार्डमा ज्यान गएको छ ।
मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–४ बस्दै आएकी ३० वर्षीय जानकी रेग्मी अधिकारी रहेकी छन् ।उनको शल्यक्रिया गरिसकेपछि अस्पतालमै मृत्यु भएको हो ।
उनका ससुरा तिलक अधिकारीका अनुसार जानकी २९ गते अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालमा भर्ना पश्चात् उनले शुक्रबारनै प्रसूति वार्डमा छोरा जन्माएकी थिइन् ।
ससुरा तिलकले भने ‘छोरा जन्मेपछि बुहारीलाई जनरल वार्डमा राखियो, त्यति बेलासम्म अवस्था सामान्य थियो । छोरालाई दूध समेत खुवाएकी थिइन्, सोही वार्डमा एक्कासी बेहोस भइन्, अनि उनलाई आइसियुमा राखियो । शनिबार उनलाई अस्पतालले एक्कासी मृत घोषणा गर्यो बच्चा जन्माएको २४ घण्टामा सुत्केरीको मृत्यु हुनु अस्पतालको लापरबाही प्रमुख कारण रहेको पीडितहरूको बुझाई छ । बच्चा अहिले आइसीयुमै छ ।
“प्रदेश राजधानीको सुविधा सम्पन्न अस्पतालमा आउँदा पनि सुत्केरी सुरक्षित हुन नसक्नु आफैमा विडम्बना हो” उनले भने, ’के कारणले मृत्यु भएको हो भन्ने अस्पतालले अहिलेसम्म भनेको छैन ।’
उनका अनुसार अस्पतालले आफूहरूलाई नयाँ घटना भएको र आफूहरू पनि अचम्मित भएको जवाफ दिएको छ । शवको पोस्टमार्टम गरिएको छ । मृत्युको कारण भने अहिलेसम्म अस्पतालले दिएको छैन ।
अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले भने घटनाको विषयमा समीक्षा हुने बताए । यद्यपि कारणबारे भने उनले आफूलाई जानकारी नरहेको बताए । समीक्षापछि मात्र घटना बारे थाह हुने उनको भनाइ छ ।






