मदिराको कुलतले सक्दैछ राउटेको स्वास्थ्य र पैसा, लगानी बालुवामा पानी

ओम शाही सुर्खेत ।
आठ वर्षअघि २०७२ सालमा राउटे युवा कपिल शाही जलेर सख्त घाइते भए । उनको काठमाडौंसम्म पु¥याएर उपचार गरिएको थियो । तर, आगोले पोलिएको घाउ निको भएन । झन्झन् बढ्न थाल्यो । घाउको दुखाइ कम गर्न उनले मदिराको सहारा लिए । नियमित अत्यधिक मदिरा सेवनले उनलाई अन्य स्वास्थ्य समस्या देखियो । अन्ततः कपिलले ३१ असार २०७७ मा ज्यान गुमाए ।

५ माघ २०७९ मा अत्यधिक मदिरा सेवन गरेर आगो नजिकै सुतेका राउटे युवा नारायण शाही गम्भीर घाइते भए । काठमाडौं पु¥याएर उपचार चलिरहेकै बेला उनले ज्यान गुमाए ।

जाडो छल्न बालेको आगोमा कसरी परे राउटे युवा ?

बजारमा पाइने लिचीजस्ता मदिराको लतमा फसेका अर्का युवा शिवराज शाहीले पनि २०७८ वैशाखमा ज्यान गुमाए । पछिल्लो पाँच वर्षमा राउटे समुदायका २९ जनाले अनाहकमा ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा १९ जना बालबालिका र १० जना वयष्क उमेरका छन् । त्यसमध्ये धेरैजसो वयष्क उमेरका राउटेको मदिरा सेवनबाट मृत्यु भएको छ । मदिरा सेवनका कारण अधिकांश राउटेको स्वास्थ्य कमजोर हुन थालेको स्वास्थ्यकर्मी बताउँछन् ।

आगोमा जलेका राउटे युवाको मृत्यु

पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्ने राउटे कुनै समय अरुले दिएको खानेकुरासमेत खाँदैनथे । राउटेका लागि जाँड खानु मौलिक विशेषता नै हो । उनीहरू परापूर्वकालदेखि छाप्रोमा बचेको खानाबाट जाँड बनाउने र सेवन गर्दै आएका थिए । तर, पछिल्ला वर्षमा भने आफूले बनाएको होइन, बजारमा पाइने कमसल गुणस्तरहीन मदिराका पारखी बनेका छन् ।

बालबालिकादेखि बुढापाकामा मदिरा सेवनको लत बढ्दै गएको छ । अत्यधिक मदिरा सेवनका कारण मृत्यु हुने क्रम बढेको छ । राउटेको अवस्थाबारे अध्ययन गरिरहेका डा. लालबहादुर पुन बजारको कमसल गुणस्तरको मदिराको प्रयोग पूर्ण रूपमा रोक्न नसके राउटेको अस्तित्व नामेट हुने बताउँछन् । वनको राजा भन्न रुचाउने राउटे समुदायको आयआर्जनको पाटो सिमल, टुनी प्रजातिका विरुवाबाट कोशी, मधुस, पिर्का लगायतका समग्री तयार पारी अन्नसँग साट्नु हो । तर, पछिल्लो समय विभिन्न सामुदायिक वनका नाममा संरक्षित जंगलका कारण राउटे समुदायको पेसा नै संकटमा परेको छ ।
राउटेलाई विभिन्न संघसंस्थाहरूले गर्ने सहयोगले आफ्नो मूल पेसा छाडेर परनिर्भरतातिर धकेलिँदा अस्तित्व नै संकटमा पुगेको छ । अत्यधिक मदिराको सेवन गर्नु, पोषणयुक्त खानाको कमी हुनु, नवजात शिशुको हेरचाहमा कमीजस्ता कारणले उनीहरूको अस्तित्व मेटिने खतरा बढेको हो । राउटेको जनसंख्या बर्सेनि घट्दो क्रममा छ । मदिराको उच्च सेवनबाट युवादेखि वृद्धवृद्धासम्मले अकालमा ज्यान गुमाइरहेका छन् भने, हेरचाह र खानपान नमिल्दा बालबालिकाले ज्यान गुमाएका छन् । ‘राउटेमा मदिरा सेवनको लत बन्द गर्नुपर्छ’, डाक्टर पुन भन्छन्, ‘सामाजिक सुरक्षा भत्ता मदिरामै सक्ने प्रवृत्ति राउटे समुदायमा छ, यसले समुदाय नै लोप हुने अवस्था नआऊला भन्न सकिँदैन, त्यसैले अब सामाजिक सुरक्षा भत्ता नगद दिन बन्द गर्नुपर्छ ।’

राउटे समुदायको संरक्षणका लागि अल्पकालीन योजना नभई दीर्घकालीन सोचसहितको राउटे संरक्षण क्षेत्र नै घोषणा गरेर राज्य अगाडि बढ्नु पर्ने डा. पुनको सुझाव छ ।

राउटे मुखियाको चिन्ता– आजकालका तन्नेरी मान्दैनन्, पैसा पाउनासाथ पिउन गइहाल्छन्

राउटेलाई भत्ताको साटो पोषणयुक्त आवश्यक खाद्यान्न उपलब्ध गराउनुपर्ने डा. पुन बताउँछन् । पुनले अस्तित्व संरक्षण गर्नका लागि राउटे समुदायका नागरिकलाई मदिरा बिक्री वितरणमा रोक लगाउनुपर्ने बताए । ‘पहिले राउटेहरू गिठा भ्याकुर, तरुललगायतका जंगली फलको भरमा बाँच्थे, अहिले अस्वस्थकर खानाले पनि उनीहरूको स्वास्थ्यमा असर पु¥याएको देखिन्छ,’ डा. पुन भन्छन् ।

राउटे समुदायले नेपाललाई विश्वमा चिनाएको छ । नेपालको सांस्कृतिक विविधता झल्काउन पनि यो जातिको भूमिका महत्त्वपूर्ण मानिन्छ । राउटेहरू दैलेख, सुर्खेत, जाजरकोट, सल्यान आसपासका जंगलमा बस्छन् । तर, उनीहरू कहिले जंगलका छेउ त कहिले पहाडको खोंच तथा टाकुरा र नदी किनारमा बसाइँ सरिरहन्छन् । नेपालको सम्पदा र कर्णालीको गहनाको रूपमा चिनिने राउटे जाति दक्षिण एसियाकै एक प्रमुख फिरन्ते जाति हो ।

प्रतिफलविहीन बन्दै लगानी

राउटेमाथि भएको सरकारी लगानी प्रतिफल प्राप्त हुनेगरी हुन सकिरहेको छैन । राउटेका नाममा बर्सेनि करोडौँ रकम खर्च भइरहेको छ । उक्त रकम मदिरामा खर्च हुँदा यसलाई रोक्न कुनै प्रयास राज्यबाट भएको देखिँदैन । राउटेको एकै परिवारमा चौमासिक रूपमा एक लाख रुपैयाँसम्म भत्ता बापतको रकम जाने गरेको छ । दैलेखको गुराँस गाउँपालिकाले ३१ असार २०७५ मा पहिलो पटक राउटेहरूलाई परिचयपत्र वितरण गरेको थियो । सोही समयदेखि गाउँपालिकाले राउटेहरूलाई सामाजिक सुरक्षाबापतको रकम वितरण गर्दै आएको छ । लाखौँ खर्चेर गुराँस गाउँपालिकाले वितरण गरेका परिचयपत्र हाल राउटेले हराइसकेका छन् ।

राउटे युवतीमाथि दुर्व्यवहार प्रकरण ः मदिरा खुवाएर जबर्जस्ती गरेको अभियुक्तको स्वीकारोक्ति

राउटेहरूको जीविकोपार्जनका लागि सरकारले २०६५ देखि सामाजिक सुरक्षा भत्ता दिन थालेको थियो । हाल भत्ताबापत मासिक चार हजार रुपैयाँ दिने गरेको छ । हाल यो समुदायका एक सय ४१ जनाले मासिक चार हजार भत्ता पाउँछन् । उक्त भत्ताबापत गुराँस गाउँपालिकाबाट मासिक पाँच लाख ६४ हजारका दरले वार्षिक ६७ लाख ६८ हजार रकम खर्च हुने गरेको छ ।

यसका अलवा प्रदेश सरकार स्थानीय पालिका, गैर सरकारी संस्थाहरूले पनि वार्षिक रूपमा राउटे समुदायका लागि लाखौँ रकम खर्च गर्ने गरेका छन् । तर, यो लगानी प्रतिफलविहीन बन्दा राउटेको अस्तित्व नै संकटमा पर्दै गएको छ । राउटे समुदायका नागरिकहरूले भत्ताको रकम सबै रक्सी, सुर्ती र चुरोटमा खर्चिने गरेका छन् । राउटे महामुखिया महिनबहादुर शाहीले आफ्नो समुदाय रक्सीको कुलतमा फसेको बताए ।

‘पहिले हामी आफैँले बनाएको जाँड खान्थ्यौँ, अहिले त सबै बजारका रक्सी खान्छन्,’ उनले भने, ‘महिला र पुरुष दुवैले अत्यधिक रक्सी सेवन गर्ने समस्या छ, अहिले त बालबालिका पनि अभिभावकसँगै रक्सी खान थालिसके ।’ बुवाआमा मदिराको लतमा फसेर भर्खर जन्मिएका बालबच्चाको हेरचाह नगर्दा सबै सन्तान जन्मिनेबित्तिकै मर्न थालेको उनको भनाइ छ । हाल राउटे दैलेखको महाबु गाउँपालिका वडा नम्बर ३ मा बसोबास गरिरहेका छन् । उनीहरूको संख्या हाल १ सय ४१ छ ।

दुई वर्षपछि दुई शिशुको जन्म

बर्सेनि घट्दो अवस्थामा रहेका समुदायमा पछिल्लो एक महिनाको अवधिमा दुई शिशुको जन्म भएको छ । गत एक महिनाको अवधिमा राउटे युवा हीरासिंह शाही, बाङ्गे शाही तथा हर्क शाही र फरिना शाही दम्पतीबाट छोरी जन्मिएका हुन् । यस समुदायमा २०७८ असोज २७ यता शिशु जन्मिएका थिएनन् । दुई वर्षपछि शिशु जन्मिएसँगै राउटे जातिको जनसंख्या १ सय ४३ पुगेको छ ।

उच्च बाल मृत्युदर

राउटे समुदायमा पछिल्लो पाँच वर्षयता २६ जना शिशु जन्मिएका छन् । २०७५ साउनदेखि २०७८ मंसिरसम्म २६ जना शिशु जन्मिएको तथ्यांक रहेको छ । पाँच वर्षको अवधिमा जन्मिएका २६ शिशुमध्ये १४ जनाले ज्यान गुमाइसकेका छन् । यसले राउटे समुदायमा बाल मृत्युदर ५० प्रतिशतभन्दा बढी देखाउँछ ।

परियोजनाका जोडी शिक्षकको रूपमा राउटे बस्तीमा खटिएका लालबहादुर खत्रीले अभिभावकले मदिरा सेवन गरेर नवजात शिशुको हेरचाह नगर्दा शिशुहरूले जन्मिएको एक हप्ताभित्रै ज्यान गुमाउने गरेको बताए । ‘राउटेको बसाइ नै त्यस्तै छ, चिसो भुईंमा सुत्ने गर्छन्, पोषणयुक्त खानपिन छैन, त्यसमाथि अभिभावक मदिराको लतमा फस्दा शिशुले अकालमै ज्यान गुमाइरहेका छन् । मदिराले वयष्क नागरिकको स्वास्थ्य अवस्था पनि बिग्रिँदै गएको छ’, उनले भने ।

बजेट घटाउँदै प्रदेश सरकार

कर्णाली प्रदेश सरकारले राउटे समुदायका लागि बजेट घटाउँदै जान थालेको छ । प्रदेश सरकारले राउटेको मूल प्रवाहीकरणका लागि आर्थिक वर्ष २०७५÷०७६ देखि २०७८÷०७९ मा झण्डै एक करोड रुपैयाँ छुट्याइएको थियो । यो मध्ये आर्थिक वर्ष २०७५÷०७६ मा छुट्याइएको २० लाख बजेटमा चार लाख खाद्यान्न, बसाई व्यवस्थापन, र लत्ताकपडामा खर्च भएको छ ।

मदिराको कुलतले सक्दैछ राउटेको स्वास्थ्य र पैसा, लगानी बालुवामा पानी

नेपालगन्जमा रहेको प्रहरी विशेष सुरक्षा गण कर्णालीमा

मदिराको कुलतले सक्दैछ राउटेको स्वास्थ्य र पैसा, लगानी बालुवामा पानी

आज ‘श्रीकृष्ण जन्माष्टमी’