बंगुरमा देखिने अफ्रिकन स्वाईन फिबरसम्बन्धी कार्यशाला

सुर्खेत, २६ माघ ।
बंगुरमा देखिने अफ्रिकन स्वाईन फिबर रोग सम्बन्धी एक दिने सचेतनामूलक कार्यशाला विहिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । पशुपन्छी विकास निर्देशनालय सुर्खेतको बार्षिक कार्यक्रम अनुसार कार्यशाला आयोजना गरिएको थियो ।
सुँगुर र बंगुरमा अफ्रिकन स्वाईन फिबर रोग तथा अन्य विभिन्न रोग संक्रमणका लक्षण तथा रोकथामका उपायहरुका बारेमा तीन वटा कार्यपत्र प्रस्तुत गर्दै सरोकारवाला सबैले छलफल गरेका थिए । कार्यशालामा रुकुम पश्चिम मुसिकोट नगरपालिका–१ खलंगाबाट आएका बंगुरपालक कृषक जवाहरलाल बुढामगरले फर्ममा पालिएका बंगुर मरेको जानकारी दिए । साना तथा ठुला ४५ वटा बंगुर मरेपछि ५ लाख बराबरको क्षति भएको जानकारी दिए ।

कृषक बुढामगरले फर्ममा रहेका बंगुरमा बिहान दाना खाएको बंगुर अचानक भोलि पल्ट मरेको गुनासो गरे । उपचार नपाउँदा वंगुर मरेको उनले बताए । पुष २८ देखि यता एक महिनामै फर्ममा लाखौंको क्षति भएको उनले जानकारी दिए ।
सुर्खेतस्थित सबै स्थानीय पालिका पशु सेवा शाखाका प्रमुख र कालीकोट, सल्यान, रुकुमपश्चिम, जाजरकोट, दैलेखका पशु सेवा अस्पताल तथा पशु सेवा कार्यालयका कर्मचारी, सुगुर तथा बंगुर पालक किसानहरुको सहभागिता रहेको छ ।
पशु पन्छी रोग अन्बेषण प्रयोगशाला सुर्खेतका प्रमुख बरिष्ठ पशु चिकित्सक डा. विकास श्रेष्ठले अफ्रिकन स्वाईन फिबर रोगका लक्षण, रोकथामको उपाय, त्यसको नियन्त्रणका लागि सरोकारवाला निकायको भूमिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

पशुपन्छी रोग अन्बेषण प्रयोगशाला सुर्खेतका पशु चिकित्सक डा. जितेन्द्र श्रेष्ठले पशु रोग नियन्त्रण, रोकथामका लागि सरकारी तहबाट भएका नीति, नियम, दायित्वका विषयमा जिम्मेवार व्यक्ति तथा निकायहरुको भूमिकाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
पशुपन्छी विकास निर्देशनालय सुर्खेतका पशु विकास अधिकृत डा. सोविना मल्लले बगुरका विभिन्न रोगको संक्रमण, लक्षण, रोकथामका उपायका बारेमा जानकारी गराएका थिए । पशुपन्छी विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक कृष्ण प्रसाद पंगनीको अध्यक्षता तथा पशुपन्छी रोग अन्बेषण प्रयोगशाला सुर्खेतका प्रमुख बरिष्ठ पशु चिकित्सक डा. विकास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यशालाका सहभागि पशु चिकित्सक तथा कृषकहरुलाई बंगुरमा रोग संक्रमण भएपछि देखिने लक्षण, रोकथामका उपायका बारेमा छलफल गरिएको थियो ।






