कारागार नहुँदा कैदीबन्दीलाई सास्ती

मुगु,२४ माघ ।

जिल्लामा कारागार नहुँदा कैदीबन्दीले लामो समयदेखि सास्ती भोग्दै आइरहेका छन् । कारागार नभएपछि मुगुका कैदीलाई जुम्ला, बर्दिया, सुर्खेत, कालिकोट, बाँके, दाङमा लैजानुपर्ने बाध्यता छ ।

जिल्लाका कैदीबन्दीलाई मुद्दा फैसला नहुँदासम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमा राख्ने गरिएको छ । मुद्दा फैसला भइसकेपछि पनि कैदीहरूलाई जिल्ला बाहिर चलानी गर्नुपर्दा सुरक्षाकर्मीलाई उत्तिकै सास्ती हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले बताए ।

उनका अनुसार सुरक्षाको दृष्टिकोणले पनि कैदीबन्दीलाई बाहिर पठाउँदा समस्या हुने गरेको छ । ‘गाडीबाटै सबैभन्दा नजिकको जिल्ला जुम्ला पु¥याउन पनि डेढ दिन लाग्छ,’ उनले भने, ‘अन्यत्र लैजाँदा त झन् समस्या छ ।’ उनले जिल्ला बाहिरका कैदीबन्दीलाई भेट्न उनीहरूका आफन्तहरू वञ्चित हुने गरेको बताए ।

छायानाथरारा नगरपालिकाका ७१ वर्षीय सिंहबहादुर मल्लले आफ्ना छोरा जुम्ला कारगारमा थुनिएको झन्डै ९ वर्ष भए पनि अहिलेसम्म भेट्न नपाएको बताए । ‘जिल्लामै कारागार भइदिएको भए बेलाबखत भेटघाट हुन्थ्यो, सुखदुःख बुझ्न पाइन्थ्यो,’ उनले भने, ‘म अशक्त छु, आफैं हिँडेर जान सक्दैन, अरूले पु¥याइदिँदैनन्, छोरालाई भेट्न पनि धेरै मुस्किल भयो ।’

जिल्ला प्रहरी कार्यालयका अनुसार एक जना कैदीबन्दीलाई जुम्ला लैजान ८÷९ जना सुरक्षाकर्मीले पु¥याउनुपर्ने बाध्यता छ । प्रहरी निरीक्षक बुढाथोकीका अनुसार त्यसरी कैदीबन्दी पु¥याउँदा कम्तीमा ५० हजार रुपैयाँसम्म खर्च हुने गरेको छ । ‘खर्च पनि उस्तै, बाहिर लैजाँदा लैजाँदै कैदीबन्दी कतै भाग्ने हुन कि भन्ने डर पनि,’ उनले भने, ‘कहिलेकाहीं त थुनुवा कक्षमै ५० जनासम्मको चाप हुने गरेको छ ।’

भवन नहुँदा कैदीबन्दीको व्यवस्थापनमा सास्ती भएको जिल्ला कारागार कार्यालयका प्रमुख धनराज कार्कीले बताए । उनका अनुसार थुनुवाहरू जिल्लाबाहिर भए पनि उनीहरूको बहस मुगु अदालतमा हुने गरेको छ । जसका कारण उनीहरू आफ्नै बहस सुन्नबाट पनि वञ्चित भएका छन् । उनले बर्सेनि २० जनासम्म कैदीबन्दीलाई जिल्ला बाहिर पठाउनुपरेको बताए । उनका अनुसार ०७६÷०७७ मा २१, ०७७÷०७८ मा १२ र ०७८÷०७९ मा १९ कैदीबन्दीलाई जिल्लाबाहिर पठाइएको छ । तर जुम्ला कारागारमा पनि क्षमताभन्दा बढी कैदीबन्दी हुँदा थप समस्या भएको उनले बताए । अहिले जुम्ला कारागारमा १ सय २० जनाको क्षमता भए पनि १ सय २६ जना बस्न बाध्य छन् ।

जिल्ला प्रहरी कार्यालयमा ३५ दिन कटेपछि कैदीबन्दीलाई चलानी गर्नर्पुर्ने अवस्थाले सुरक्षाकर्मी पनि हैरान हुने गरेका छन् । गमगढीस्थित थापालचौरमा निर्माणाधीन कारागार भवन अझै अलपत्र छ । उक्त भवन ९ वर्षअघि निर्माण सुरु गरिएको हो । ०७१ मा ३ करोड ५० लाख रुपैयाँमा भवन निर्माणको काम सुरु गरिएको थियो । भवन निर्माणको जिम्मा आरसी कन्स्ट्रक्सन धनगढीले लिएको छ ।

भवन निर्माणको झन्डै ९० प्रतिशत काम पूरा भए पनि घेरबार, सुरक्षा पोस्टलगायतको काम नहुँदा अझैसम्म पनि ठेकेदार कम्पनीले हस्तान्तरण नगरेको कार्कीले बताए । उनका अनुसार ८० पुरुष र २० महिला गरी एक सय कैदीबन्दी अट्ने क्षमताको कारागार भवन निर्माण भइरहेको छ । कारागार भवन प्रयोगविहीन भएपछि २ वर्षअघि त्यसलाई कोरोना संक्रमितहरू राख्ने आइसोलेसन बनाइएको थियो ।

कान्तिपुर 

कारागार नहुँदा कैदीबन्दीलाई सास्ती

कालिमाटी  वासीले स्वास्थ्य, पशु, कृषि, शिक्षा र

कारागार नहुँदा कैदीबन्दीलाई सास्ती

जुम्लामा आगलागीमा परी बालिकाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *