अवरुद्ध सडक खुलेपछि स्थानीयलाई राहत

मुगु,१६ मंसिर ।
गत असोज दोस्रो हप्तामा भारी बर्षादका कारणले बाढी पहिरोले अवरुद्ध भएका खत्याड भेकका ग्रामीण सडक सुचारु हुन थालेका छन् । खत्याड गाउँपालिकाको पहलमा अवरुद्ध सडक मर्मत अगाडि बढाएसँगै सडक सुचारु हुन थालेका हुन् ।
खत्याड गाउँपालिका वडा नं–१ का कर्णवीर रोकायाले, गाउँमा जोडिने बाटोहरू सबै अवरुद्ध भएको कारण गाउँमा बाढी पहिरोका कारण सडक अवरुद्ध हुँदा खाद्यान्न सामग्री देखि बिरामी लैजान अप्ठ्यारो भएकोमा अहिले गाउँपालिकाको पहलमा सडक मर्मत गरी काम सुरु हुँदा राहत महसुस भएको बताउछन् ।
उहाँले भन्नुभयो, ‘‘असोज १९ देखी २४ गते सम्मको निरन्तर अविरल वर्षाका कारण पहिरोले गाउँसम्म सञ्चालनमा आएका सडक अवरुद्ध भएपछि अहिले गाउँपालिकाले ती सडक सुचारु गर्न थालेकाले आशा जगाएको छ ।’
जुम्लाको गोटिजिउँला देखि भतभते खोला,माथिचौड् हुँदै निगालबोट सम्म र खत्याडका गाउँपालिकाका बस्ती समेत जोडेको सडक पूर्ण अवरुद्ध भएपछि अहिले ती ग्रामीण सडक खत्याड गाउँपालिकाको पहलमा सञ्चालनमा आएसँगै स्थानीयवासी लाई आउजाउ कार्यमा निकै सहज भएको खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीले बताए ।
खत्याड गाउँपालिकाको कार्यालय बाट ती अवरुद्ध सडकको मर्मत गर्ने जिम्मा विश्व निर्माण कन्स्ट्रक्सन प्रा.ली ले लिएको छ । कन्स्ट्रक्सन प्रालीका सञ्चालक आरएन बोहराले सडक मर्मत गर्ने कार्यमा सडक क्षेत्रमा पर्ने जग्गा धनीबाट असहयोग हुँदा गाह्रो भएको गुनासो गरे ।
गोरखापत्र






