उम्मेदवारका पुरानै एजेन्डा

सुर्खेत, २ कात्तिक ।
प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवारबीच मतदातामाझ विकासका प्रतिबद्धता बाँड्ने होडबाजी सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारले यस पटक ठोस चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेका छैनन । तर, उम्मेदवारले सञ्चारमाध्यम र मतदातासँगको भेटघाटमा आफ्ना निर्वाचनलक्षित योजना सुनाउन थालेका छन् ।

निर्वाचनमा होमिएसँगै प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवारले यसपालि पनि पूर्वाधार विकासका पुरानै एजेन्डालाई प्राथमितामा राखेको देखिन्छ । सांसदको मुख्य जिम्मेवारी कानुन निर्माण हुने भए पनि उम्मेदवारले जनतासँग भौतिक पूर्वाधार विकासका क्षेत्रमा आफ्ना प्रतिबद्धता केन्द्रित गरेका छन ।
सुर्खेत क्षेत्र नम्बर २ (ख)का उम्मेदवार मोहनसिंह बडुवालले मतदाताका बीचमा पूर्वाधार विकासमा जोड दिएको छ । मदन भण्डारी राजमार्ग कालोपत्रे गर्ने, विद्युुत् केन्द्रीय प्रसारण लाइन विस्तार, भूमिहीन सुकुुम्बासीलाई जग्गा उपलब्ध गराउने, चौकुुने सिमेन्ट उद्योग र लखरपाटा सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्ने र विद्यालय पूर्वाधार कार्यक्रम प्रभावकारी बनाउने उहाँका चुुनावी एजेन्डा छन ।
सत्तारूढ गठबन्धनबाट दैलेख क्षेत्र नं. १ को प्रतिनिधि सभा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापाले आफू निर्वाचित भए आगामी फागुुनबाटै पेट्रोलियम पदार्थ उत्खननको कामलाई तीव्र पार्ने दाबी गरेका छन् ।
उहाँले पेट्रोलियम पदार्थ उत्खनन, कोटिलामा सम्भाव्यता अध्ययन गरिएको पञ्चकोसी ताल निर्माण र महावुु सडकखण्डको काम डेढ वर्षमै सम्पन्न हुनेगरी अघि बढाउने जानकारी दिए । अघिल्लो निर्वाचनमा उहाँ निर्वाचित भएर कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीसमेत भए । तर, जनतामाझ गरेका केहीबाहेक धेरै वाचाहरू पूरा भएनन् भन्ने गुनासो मतदाताकै छ ।
दैलेखमा प्रतिनिधि सभाका दुई र प्रदेश सभाका चारवटा निर्वाचन क्षेत्र छन । दैलेख निर्वाचन क्षेत्र नं. २ (क)मा सत्तारूढ गठबन्धनबाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका नेपाली कांग्रेसका घनश्याम भण्डारी आफू निर्वाचित भए पञ्चकोसी क्षेत्रको विकासलाई प्राथमिकता दिने बताए ।
शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकाससँगसँगै पूर्वाधार निर्माणका योजना जोड दिने उनले बताए । मध्यपहाडी लोकमार्गको कामलाई व्यवस्थित र स्तरीय बनाउने, कर्णाली राजमार्गलगायतका सडक पूर्वाधारको विकासमा जोड दिइनेजस्ता प्रतिबद्धता भण्डारीले गर्न थालेका हुन् । एनि दुल्लु नगरपालिकाका पूर्वप्रमुुख हुन् । उनको पालिकाका अस्तव्यस्त सडककै कारण भण्डारी कार्यकालभरि निकै आलोचित बन्नुुपरेको थियो ।
नेकपा (एमाले)ले दैलेख क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार पार्टीका जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मालाई बनाएको छ । शर्माले पनि विगतमा जनाएका प्रतिबद्धतालाई नै अहिले पनि मुख्य एजेन्डा बताएका छन् । पेट्रोलियम पदार्थले मुुलुककै भविष्य उज्ज्वल हुने देखिएको भन्दै उनि यस पटक पनि सोही आयोजनाको उत्खननमा जोड दिइने बताए । अघिल्लो निर्वाचनमा यही प्रतिबद्धता गरेका शर्माले फेरि अहिले पनि दोहो¥याएका छन् ।
उनले २०७४ मा चुनाव लड्दा पेट्रोलियम पदार्थ उत्खनन्को विषय चुुनावी नारा बताएका थिए । जानकारहरूका अनुसार शर्माको पहलमा पेट्रोलियम पदार्थ उत्खननका लागि केही प्रारम्भिक अध्ययन थालिए पनि अपेक्षित रूपमा काम भने अघि बढेन । माथि उल्लिखित यी केही प्रतिनिधिमूलक उम्मेदवार हुन ।
घरदैलो अभियान सुरु नभए पनि उम्मेदवारहरू पार्टी कमिटीका आन्तरिक बैठक तथा भेला र सञ्चारमाध्यममा आफ्ना चुनावी एजेन्डाबारे बताइरहेका छन । पूर्वाधार विकासलाई बढी जोड दिएका उम्मेदवारको चासो सामाजिक मुद्दामा भने निकै कम देखिन्छ । लोकप्रियता कमाउने ध्याउन्नमा उम्मेदवारले पूरा गर्न सम्भव नभएका योजनालाई प्रतिबद्धतामा समेट्ने गरेको कतिपय मतदाताको भनाइ छ ।
गोरखापत्र






