घोषणापत्रको अन्तिम तयारीमा दलहरू

काठमाडौँ,२८ असोज ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित घोषणापत्र तयारीमा राजनीतिक दलहरू जुटेका छन् । मङ्सिर ४ गते हुने निर्वाचनमा मतदाता आकर्षित गरी अनुमोदित हुने अभिप्रायले राजनीतिक दलहरू घोषणापत्रलाई अन्तिम रूप दिन सक्रिय छन् ।

सत्ता साझेदारहरू नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चासँगै गठबन्धनमा आबद्ध लोकतान्त्रिक समाजवादी पार्टी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा जुटेका छन् ।

प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी नेपालसहितका राजनीतिक दल पनि घोषणापत्र सार्वजनिक गर्ने तयारीमा छन् । कांग्रेस महामन्त्री गगनकुमार थापाले शुक्रबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा घोषणापत्रको प्रारम्भिक खाकामाथि छलफल गरेर दुई–तीन दिनभित्रै सार्वजनिक गर्ने बताए ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र लेखन, आवरण निर्माणसहित सम्पूर्ण काम सकिएकाले केही दिनभित्रै सार्वजनिक गर्ने बताए । माओवादी केन्द्रकी नेत्री ओनसरी घर्तीमगरले जनताबाट आएका सुझावसहित घोषणापत्र तयार गरिएको जानकारी दिँदै पार्टीभित्रको छलफलपछि परिमार्जनसहित सार्वजनिक गरिने बताए ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको घोषणापत्र लेखनको तयारी अन्तिम चरणमा पुगेको बताउँदै केही दिनमै सार्वजनिक गर्ने जानकारी दिए । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर र जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले घोषणापत्र निर्माण भइरहेको बताए ।

सबैको नारा समृद्धि

नेपाली कांग्रेस ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ घोषणापत्र तयारी समिति’ले ‘निरन्तरतामा नवीनता’को दृष्टि केन्द्रमा राखेर घोषणापत्र तयार गर्दैछ । समितिका संयोजक एवं महामन्त्री विश्वप्रकाश शर्माले पार्टी स्थापनाकालदेखि अहिलेसम्मका दस्तावेज र घोषणापत्र अध्ययनपछि मौलिक घोषणापत्र लेखिएको बताए ।

उनका अनुसार समयसापेक्ष र जनताका मुद्दालाई केन्द्रमा राखेर नवीन नेपालको परिकल्पनासहित घोषणापत्र सार्वजनिक गर्ने बताए । उनले भने “अलग–अलग क्षेत्रका उचित सुझावलाई घोषणापत्रमा समावेश गरिएको छ ।

संविधान निर्माणपछि अब देशको समुन्नतिका सवालमा कांग्रेसले कोर्ने मार्गचित्र घोषणापत्रमार्फत आउनेछ ।” एमाले उपमहासचिव ज्ञवालीले समृद्धि नेपाल सुखी नेपालीको अभियानलाई सार्थक बनाउने लक्ष्यसहित घोषणापत्र आउने बताए ।

माओवादी केन्द्रकी नेत्री घर्तीमगरले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने, समावेशी र समानुपातिक प्रतिनिधित्वको मुद्दालाई प्रभावकारी कार्यान्वन गर्ने र जनतामा रूपान्तरणको अनुभूति गराउनेजस्ता महत्वपूर्ण कार्यक्रम घोषणापत्रमा समावेश गरिएको बताए ।

उनले देशलाई उज्यालो बनाउने अभियान र आधारभूत तहका नागरिकका समस्याको निराकरण गर्ने कार्यक्रम पनि घोषणापत्रमा राखिएको बताए । एकीकृत समाजवादीका सम्मानित नेता खनालले लोकतन्त्रको सुदृढीकरणका पक्षमा पार्टीले गहन ढङ्गले विश्लेषण गरेर घोषणापत्र आउने बताए ।

उनले भने “प्राप्त उपलब्धिको रक्षा गर्नु नै अहिलेको दायित्व हो । संविधानमाथि आएको सङ्कटलाई रोक्न सफल भयौँ । अब जनतालाई परिवर्तनको अनुभूति दिने गरी कार्यक्रम बनाएर अघि बढ्छौँ ।”

गोरखापत्र

घोषणापत्रको अन्तिम तयारीमा दलहरू

थरि थरि उम्मेदवारः थरि थरिका प्रतिवद्धता

घोषणापत्रको अन्तिम तयारीमा दलहरू

बोर्ताका बाढी पहिरो पीडितलाई राहत सामाग्री वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *