तीज संस्कृति र परिस्थिति


भूमिसरा चपाई/शिक्षक
भैरव माध्यमिक विद्यालय, वीरेन्द्रनगर–४, सुर्खेत
आगनीका ढिकढाक काली कौवा काका,
के कोमा समाचार ल्यायौ बरिलै ।
एकमा समाचार कागजका चिर्कटा
दोसरी समाचार माइत जाऊ रे ।
मेरो माया मान्दा हुन त बाबा आफै आउँदा हुन कागजका चिर्कटामा जान्न बरिलै ।।
तीज पर्व नेपाली नारीहरुको महान् पर्व हो । यसलाई विशेष गरी हिन्दु नारीहरुले निराहार ब्रत बसी, नाच गान गरेर हर्सोउल्लासका साथ मनाउने चलन छ । नेपाली संस्कृतिभित्र तीज पर्वको महत्व निकै ठुलो भएको पाईन्छ । छोरीलाई रजस्वला नहुँदै खुट्टाको जल खाएर पराई घरमा पठाएपछि पापमुक्त भएर पुण्य कमाउने हाम्रो नेपाली समाजभित्र तीज पर्वको अत्यन्त महत्वपूर्ण स्थान छ ।
७ देखि १३ बर्षको उमेरमा आफ्नो जन्म घर छोडेर अर्काको घरमा गई रुपमती उपन्यासकी आदर्श पात्र रुपमतीले जस्तो बुहार्तन खपेर बस्नुपर्ने अवस्थाका नारीहरुका लागि वास्तवमा तीज पर्व एक किसिमले गाईजात्रा जस्तै हो ।
अन्य अर्थमा नभै बर्ष दिनभरिका आफ्ना दुःख, पिडा, स्वतन्त्र रुपमा गीतको माध्यमबाट पोख्न पाउने अर्थमा मात्रा माइती घरमा गएर एक छाक मिठो दर खाने चलनसंग यो पर्वको महत्व जोडिएको छ । यसैगरी बर्ष दिनको तीजमा टाढा रहेका छोरी, चेलीलाई माइत बोलाउने र जसरी भए पनि एक छाक मिठो, मसीनो खुवाउने नेपाली परम्परा र संस्कार नै हो ।
नारीहरुले पनि तीज पर्व आउँदा माइतीको बाटो हेर्ने, यदि माइती लिन नआएमा मनका बेदना यसरी पोख्ने गर्थे । “बर्षदिनको तीजमा बाबै लिन नआउँदा असारे झरी झै रुन्छ मेरो मन” यसैगरी आमाले पनि तीज पर्वमा “रम र झम तीजैमा आयो जाउ न मेरो जेठा छोरा चेलीलाई लिन” भनेर बर्ष दिन सम्म घरमा दुःख र बेदनामा बसेकी चेलीलाई बोलाउने, मिठो खुवाउने र खुशी बनाएर तीज पर्व मनाउने चलन नेपाली संस्कार हो ।
नेपाली संस्कृतिभित्र तीज पर्वले नारीहरुका पिडा, दुःख पोख्ने ती पिडा र दुःखबाट थोरै समय भए पनि छुटकारा पाएर राम्रो लुगा, गहना लगाई रमाउने र मनोरञ्जन गर्ने कुरालाई उजागर गर्छ । नारीका पिर, व्यथा पोख्ने पर्व भएकाले तत्कालिन समयमा तीजले महिला हिंसा विरुद्ध विजारोपणसम्म गरेको हो कि भन्ने लाग्छ मलाई । किनभने तीजमा गाउने धेरै जस्तो गीतहरुले सासु, बुहारी, नन्द, भाउजु, देउरानी, जेठानी र घर परिवारका अन्य सदस्यहरुबाट भएका हिंसालाई उजागर गरेको पनि पाईन्छ जस्तै :
आमाले दिएको लाली मेरो रिवन, बाबैले दिएको छाता बरिलै,
अर्काको घरमा विहानै उठ्नुपर्छ, जुनेली भैदेउ रातबरीलै,
बर्षदिनको तीजमा बाबै लिन आएका, पठाएनन् घरकाले फर्के बरिलै ।।
तीज पर्वको धार्मिक महत्वमा राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसंग गरिदिने बचन दिएका थिए । उक्त बचन पार्वतीलाई मन नपरेपछि आफुलाई मन परेको वर पाउन जंगल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले कठोर वर्त पुरा गरी शिवजीसंग विवाह भएको दिन भाद्र शुक्ल तृतीया थियो । यसैगरी पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरिरमा कुनै बाधा उत्पन्न नहोस भनेर पहिलो ब्रत राखेको दिन पनि भाद्र शुक्ल तृतीयाकै थियो ।
यस कारण भाद्र शुक्ल तृतीया वा हरितालिका तीजलाई विशेष गरी श्रीमान्को दिर्घायुका लागि निराहार ब्रत बसेर हिन्दु नारीहरुले मनाउने धार्मिक परम्परा चलि आएकोछ । श्रीमती भोकै ब्रत बसेर श्रीमानको आयु बढ्ने कुरा धार्मिक रुपले नकार्न नसकिए पनि यथार्थ यही हो भन्न सकिँदैन । यसरी नेपाली परम्परा, संस्कति र धर्म अनुसार चल्दै आएको तीज पर्व नेपाली समाजको परिवर्तनसंगै परिवर्तन हुँदै आएको छ । हुनत तत्कालिन अवस्थामा पनि अभिभावकले रोजेको पति मन नपरेको कुरा पार्वतीको कठोर ब्रतबाट स्पष्ट हुन्छ ।
तापनि अभिभावकसंग भन्न नसकेर तपस्या गर्नुपर्ने अवस्था वर्तमान समाजमा छैन । समाजको परिवर्तनसंगै छोरीहरुले पनि पढ्ने, सचेत हुने, आफ्ना मनका कुरा अभिभावकसंग राख्न सक्ने अवस्था सृजना भयो । चेतनाका कारण थोरै सन्तान जन्माउने, छोराछोरी बराबरी जस्ता चलन समाजमा चल्न थाले । फलस्वरुप “गोठमा राम्रो गाजु भन्ने गाइले माइतमा राम्रो दाजुभाईले” जस्ता गीतहरुले तीज पर्वसंग बिदा माग्नुपर्ने अवस्था आयो ।
छोराछोरी समान भएको समाजमा के तीज मनाउन दाजुभाइनै चाहिए त ? कदापि चाहिँदैनन भए त सुनमा सुगन्ध छोरीहरुपनि परिवारको सदस्य भएकाले आमाबुवा छोरीहरु संगसंगै मिलेर रमाइलोसंग तीज मनाउने चलन चल्यो । छोराछोरी सम्मान भएकाले सम्पत्तिमा पनि अधिकार पाएपछि छोराछोरीको आँगन एउटै हुँदा उर्लदो भदौंरे भल तरेर चेली लिन जाने गीतहरु पनि विस्तारै तीज पर्वसंग टाढिँन थाले । फलस्वरुप तीज पर्वमा गाउने गीतहरुमा पनि परिवर्तन आयो ।
“बर्षदिनको तीज घुमिफिरी आईरहने, हामी चेली अधेँरीमा कति रोईरहने”
“सिर्फूल मेरा टलक्कै टल्कने, नगरौं वयान कालो केसको ।।”
यसरी एउटा धार राजनीतिक चेतनासहित अँधेरीमा बस्नुहुन्न । संघर्ष गरेर अगाडी बढ्नु पर्दछ भन्ने सन्देशमुलक गीतहरुतर्फ गयो भने अर्को धार सौन्दर्यको वर्णन गरेर मनोरञ्जनतर्फ गएको पाईन्छ । तीज हुने, खाने वर्गको मात्र होइन भन्ने सन्देश दिने “बनारसी सारी लाउँ दिदी आफै मलाई यसै ठिकै छ नि बरिलै मलाई यसै ठिकै छ” तीज गीतले वर्तमान परिस्थितिले अझै कोल्टो फेरेको सन्देश दिएको छ । गीतका सर्जक तीर्थराज पुरी परिर्वतनका बाहक बन्नुभएको छ । उहाँप्रति यसै लेखमार्फत हार्दिक अभार व्यक्त गर्दछु ।
एकातिर यसरी चेनाले सिढी चढिरहँदा अर्कोतर्फ वर्तमान समाजमा तीज पर्व मनाउने नाममा विकृतिहरु पनि देखिन थालेका छन् । परम्परा र संस्कृति अनुसार तीज पर्व मनाउने तरिकामा विचलन आयो । बर्षभरी नयाँ लुगा लगाउन नपाउने चेलीले तीजमा नयाँ लुगा लगाउने परम्पराले ५०/६० हजारका सारी लगाउनुपर्ने विकृति निम्त्यायो ।
खाजा भात भदौरे तामा, गाभा, देही र केराको दरखाने परम्पराले मासु र पुलाउ नभई दरै नहुने बनायो । राम्रो लुगा र गहना लगाउने चलनले घर धरौटी राखेर गहना देखाउने बनायो । एक दिन तीजको दर खुवाउने चलनमा विकृति आउँदा ऋणमा जाकिएर भएपनि एक महिना अघिदेखि होटलमा दर खुवाएर देखाउनुपर्ने बाध्यता बनायो । जे होस तीन पर्व मान्ने र मनाउने परम्परा चलेकै छ । समाजसंगगसगै तीज पनि परिस्कृत शैलीमा अगाडी बढिरहेको छ ।
तीजलाई परिस्थितिले पनि त्यत्तिकै प्रभाव पारेकै छ । परमपरामा टाढा भएका दिदी बहिनीलाई लिन दाजुभाई जाने चेलिबेटी माइत जाने, दर खाने, नाचगान रमाइलो गरेर चार्ड मनाउने चलन थियो । समय परिवर्तनसंगै महिलाहरुपनि शिक्षित भएर कामकाजी भए पसले माइत जाने र तीज मनाउने चलनमा केही कमी ल्याए जस्तो लाग्छ । अर्कोतर्फ पुलपुलेसा र यातायातका साधनको विकासले तीज पर्वको भेटघाटलाई अँझै बाक्लो बनायो ।
यसरी समय र परिस्थितिसगै प्रति बर्ष मनाउँदै आईरहेको हरितालिका तीजलाई वि.सं. २०७७ सालमा आईपुग्दा विश्व मानव समुदायलाई समेत बन्द कोठामा बस्न बाध्य तुल्याएको कोभिड–१९ कोरोना भाईरसले तीज पर्वलाई पनि अछुतो राखेन । परिस्थिति अनुसार तीज मनाउनुपर्ने बाध्यता बनायो । विश्व परिवेश बन्द कोठामा थन्किरहेको मानव जाति कोठामै कुजिन् बाध्य हुँदा समेत महिला दिदीबहिनीहरु आफ्नो परम्परालाई जोगाई राख्न परिस्थिति अनुसार लागि रहनु भयो ।
विना बत्तिको अन्धकारभित्र पनि बन्द कोठामै कताकता गलाहरु रन्केको सुनियो । कोठाभित्रै पुजा गरेर परमपराअनुसारका बस्तुहरु पहिरिएर सामाजिक सञ्जालमार्फत पनि तीज मनाई रहनुभयो । यसले सबभन्दा वलवान परिस्थिति रहेको सन्देश दिन्छ । जस्तोसुकै प्रतिकुल परिस्थितिभित्र पनि मानवले आफ्नो परम्परा र संस्कृतिको अस्थित्व खोजि रहँदो रहेछ । अनुकुलता त झनै रमाइलो हुनेनै भयो ।
त्यसैले हाम्रा परम्परा र संस्कृति अनुसारका चार्डपर्वहरुलाई बोझिला होइन सजिला बनाऔं । विकृति होइन संस्कृति बचाऔं । चार्डपर्वका नाममा अश्लिलता प्रदर्शन रोकौं । देखासीकि होइन, घाँटी हेरी हाड निलौं । समय र परिस्थिति अनुसार चल्न सिकौं । नारीको काम नाच्ने मात्र होइन, कामकाजी नारीलाई पनि सम्मान गरौं । समाजमा हुने खाने र हुँदा खाने दुवै वर्गका लागि सहज रुपमा चाडपर्व मनाउने वातावरणको सिर्जना गरौं । माथिका पङ्क्तिहरुले यही शंखघोष गरुन जय हरितालिका–२०७९ ।







