भेरीपुल–बामेखोला सडक : २० वर्ष अगाडी चामलले खनाएको सडक अलपत्र

पुनम वि.सी.
सुर्खेत, १८ असार ।
करिव २० वर्ष पहिले सुर्खेतमा व्यवसायीक कृषिको थालनी भईसकेको थिएन । यहाँका स्थानीयहरुको खेतमा धान फल्थ्यो र करेसावारीमा समेत मौसम अनुसारका तरकारी उत्पादन हुन्थ्यो । सिमित उत्पादनले यहाँका सबै परिवारलाई वर्षभरी खान पुग्थ्यो भन्ने थिएन । वीरेन्द्रनगर–१० का रामबहादुर रावत सम्झन्छन्, ‘हामी केटाकेटी नै थियौँ । खेतवारीको उत्पादनले बर्षभरी खान भने पुग्थेन । छाकको जोहो गर्नैका लागि ज्यालादारी काम गर्नेहरुको संख्या पनि धेरै थियो गाउँमा ।’

रावत भन्छन्, ‘गाउँमा वेमौसमी खेती पद्वती त निकैपछि विस्तार भएको हो । सबै स्थानमा सिंचाई सुविधा पनि थिएन । नागरिकलाई शुद्व पिउने पानीकै पनि समस्या थियो । पिउने पानीका लागि जंगल तथा खोला छेउका मुहानहरु खोज्दै हिड्नुपथ्र्यो ।’ यही समयमा कमजोर खाद्य अवस्थामा सघाउ तथा नागरिकको खाद्य सुरक्षाका लागि विश्व खाद्य कार्यक्रमले सुर्खेतमा राहतको प्याकेजनै ल्याएर आयो । अनि सुरु भयो, ‘बामेखोला देखि भेरी जोड्ने सडक ।’

फोटो क्याप्सनः वीरेन्द्रनगर–१० स्थित बामेखोला–भेरी सडकखण्ड । (तस्विरः पुनम वि.सी/युगआह्वान दैनिक)

सुर्खेत उपत्यकामा भित्रिने भेरीपुल–सुव्वाकुना–धुलियाविट हुँदै उपत्यकामा भित्रिने मुख्य रत्नराजमार्गको विकल्पको रुपमा उक्त मोटर बाटो निर्माण सुरु गरिएको थियो । २० बर्षअगाडी निर्माण कार्य थालिएको बाटोमा साविक लाटीकोइली गाउँविकास समिति र हाल वडा नं. १० ले बर्षेनी लाखौं बजेट खर्च गरेर बाटोको मर्मत सुधार गर्दै आएको छ ।

सुर्खेत उपत्यका भित्रिन छोटो र बैकल्पिक मार्गको रुपमा रहेको उक्त सडक खण्डको स्तरोन्नतीमा कसैको चासो र चिन्ता पुगेको छैन । वीरेन्द्रनगर–१० सानोसुर्खेत बामेखोलामा मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकायको भवन निर्माण भएपछि यस क्षेत्रको विकासमा क्रमिक सुधार हुँदै आएको छ ।

उनी भन्छन्, ‘हामी ७–८ कक्षामा पढ्थ्यौँ, सायद । गाउँका सबै सडक खन्न जान्थे । कहिलेकाही साथीभाई मिलेर हामी पनि उतै खेल्न जान्थ्यौ । गाउँको ठुलो समुहले गरेको त्यो काम हाम्रा लागि पहिलो नै थियो ।’ वीरेन्द्रनगरको दक्षिणी क्षेत्र स्थिती तत्कालिन लाटीकोइली गाउँ विकास समितिको ३, ४, ५ र ७ नं. वडाका स्थानीयले बामेखोलादेखि भेरी जोड्ने सडकको ट्रयाक खोलेका थिए ।

सो समयमा विश्व खाद्य कार्यक्रमले सडक ट्रयाकमा श्रम गरेवापत चामल दिने गथ्र्यो । हाल वीरेन्द्रनगर १० स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा अध्यापन पेशामा रहेका रावत सोही क्षेत्रका स्थानीय हुन् । उनले भने, ‘वीरेन्द्रनगर प्रवेशको वैकल्पिक रुपमा हेरियो सो सडकलाई विश्व खाद्य कार्यक्रमले ट्रयाक खोल्न मद्धत गरेपछि भने खासै चासोको रुपमा लिईएका छैन । प्रदेश राजधानी प्रवेश गर्ने मुख्य सडक भेरी पुलदेखि सुब्बाकुनाको वैकल्पिक सडकका रुपमा हेरिएपनि यसप्रति स्थानीय तह तथा प्रदेशले खास चासो दिएका छैनन् ।’

सुर्खेतमा हालको विमानस्थल विस्तारको विषय चर्चामा आईरहेका समयमा यस बामेखोला–भेरी पुल सडक खण्डप्रति पनि चासो बढेको थियो । विभिन्न समयमा स्थानीयतहलगायतले यस सडकका लागि बजेट विनियोजन समेत गरेका थिए । वीरेन्द्रनगर–१० का वडा अध्यक्ष डिलबहादुर रखालले भने, ‘यस सडकका लागि यसअघि बजेट विनियोजन समेत गरिएको थियो । सोहि अनुसार सो सडक खण्डमा मर्मत, सुधार, नाला र ग्राभिल गर्ने काम भने भएको छ ।’

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर प्रवेशका लागि वैकल्पिक बाटोका रुपमा हेरिएपनि यसप्रति चासो नदिँदा हाल यो बाटो चोरी तस्करी गर्नेहरुका लागि प्रयोगका आउन थालेको छ । भेरी पुल क्षेत्र आसपासबाट बालुवा गिट्टी ढुवानी गर्नेहरुले यस सडकबाट लुकिछिपी निर्माण सामाग्री ओसार्ने गर्छन् ।

स्थानीयवासी रावत भन्छन्, ‘केहि समय पहिले त यो बाटो चोरी चस्करीका लागि निकै फलदायी सावित पनि भयो । गैरकानुनी सामाग्रीहरु यस सडक हुँदै वीरेन्द्रनगर भित्र्याउने गरिन्थ्यो । हालपनि चोरी तस्करमा संलग्नहरुले यस सडकलाई प्रयोग गदैनन् भन्ने चाही छैन ।’

वीरेन्द्रनगरको दक्षिणी भू–भाग समेटेको यस बाटोलाई स्तरोन्नती गरी सवारी साधानको चाप बढ्ने गरी प्रयोगमा ल्याइनुपर्ने रावतको धारणा छ । उनले भने, ‘यो सडक खण्डलाई प्रयोगमा ल्याउन सके वीरेन्द्रनगर उपत्यकाको दक्षिणी क्षेत्रमा विकास हुने थियो । यस विषयमा सम्वन्धित निकायको ध्यान जान जरुरी छ । सडकले नै हो विकासका पूर्वाधार बोकेर हिड्ने ।’

प्रदेश सरकारको ४० लाख बजेट
कर्णाली प्रदेश सरकाले हाल आएर भने बामेखोला–भेरी सडकखण्डका लागि ४० लाख रुपैयाँ विनियोजन गरेको भने छ । आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रममा यस सडक खण्डलाई समेत समेट्दै प्रदेश सरकारले ‘बामेखोला देखि भेरी पुलसम्म जोड्ने सडक स्तरोन्नती’ का लागि ४० लाख रुपैयाँ विनियोजन गरेको हो ।

पूर्वाधार विकास निर्देशनालयका प्रमुख रामशरण आचार्यले भने, ‘आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले सो सडक खण्डको स्तरोन्नतीका लागि बजेट छुट्टाएको छ । सडकको हालको अवस्था अध्ययन गरी सोहि अनुसार सडकको स्तरोन्नतीको काम सुरु हुन्छ ।’

डिपिआर बोकेर काठमाडौँ पुगे वडा प्रतिनिधि
वीरेन्द्रनगर–१० वडा समितिले यस सडक खण्डलाई वडा अन्र्तगतको मुख्य आयोजनाको रुपमा हेरिएको छ । वीरेन्द्रनगर–१० का वडा अध्यक्ष डिलबहादुर रखालले भने, ‘हाम्रो वडामा अवस्थित यस सडक खण्डलाई मुख्य आयोजनाका रुपमा लिएका छौँ । स्थानीय तहले मात्र आफै यस सडक निर्माण गर्न सक्ने अवस्था छैन । संघ र प्रदेशबाट पनि टुक्रा–टुक्रा रुपमा योजना परेको छ । यसले गर्दा बामेखोला–भेरी पुल सडक खण्ड निर्माण कार्य झन लम्बिएको छ ।’

वडाले यसअघि बामेखोला–भेरी पुल सडक खण्डको डिपिआर समेत गरेको थियो । र, अहिले सोही डिपिआर लिएर वडा प्रतिनिधि काठमाडौँ पुगेका छन् । वीरेन्द्रनगर–१० का वडा सदस्य मनोहरलाल आचार्य सो सडक खण्डको डिपिआर बोकेर राष्ट्रिय योजना आयोग पुगेका छन् ।

युगआह्वानकर्मीसँग टेलिफोनमा कुरा गर्दै आचार्यले भने, ‘प्रदेशले पनि ४० लाख बजेट विनियोजन गरेको छ । यता संघबाट पनि ५० लाख विनियोजन गरिएको छ । तर यसरी छिटफुट रुपमा आएको बजेटले यस सडक खण्डको निर्माण कार्य समयमै गर्न सम्भव छैन । त्यसैले हामी यहाँ काठमाण्डौँ आईपुगेका छौँ ।’

वडाले गरेको डिपिआरका अनुसार सो सडक खण्ड कुल ७.३ किलोमिटर लम्बाई रहेको छ । नाली वाहेकको १२ मिटर चौडाई गर्दा करिव १७ करोड रुपैयाँ खर्च लाग्ने वडाको अनुमान छ । वडा सदस्य आचार्यले भने, ‘वहुवर्षीय योजनाका रुपमा लिन सकियो भने पटक–पटक भएपनि चाडै नै यो सडक सञ्चालनमा ल्याउन सकिन्थ्यो ।

यसका लागि आगामी आईतबार सम्वन्धित निकायमा भेटवार्ता रहेको छ ।’ यस सडक खण्ड वीरेन्द्रनगर–१० को विकासका लागि मुख्य आयोजनाका रुपमा लिइएको छ । भेरीबाट सिधै बामेखोला हुँदै सडक निर्माण भए नगरको दक्षिणी क्षेत्रमा विकासमा गतिविधि बढ्ने वडाको भनाई छ ।

भेरीपुल–बामेखोला सडक : २० वर्ष अगाडी चामलले खनाएको सडक अलपत्र

स्वास्थ्य केन्द्रमा हुँदैनन् सुत्केरी

भेरीपुल–बामेखोला सडक : २० वर्ष अगाडी चामलले खनाएको सडक अलपत्र

खलंगाको रातो दरवारमो कविता वाचन प्रतियोगिता हुँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *