षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार बुढाथोकी र साहलाई

विराटनगर : नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थापना गरेको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार २०७८ टक्सार म्यागेजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकीलाई प्रदान गर्ने भएको छ।
पुरस्कार राशि ५० हजार ५१ रुपैयाँ रहेको छ। सो पुरस्कार यसअघि धर्मेन्द्र झा, शिव गाउँले, तारानाथ दाहाल र विनय कसजूलाई प्रदान गरिएको थियो।
त्यसैगरी षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार २०७८ कान्तिपुर दैनिकका मोरङका संवाददाता देवनारायण साहलाई प्रदान गरिने भएको छ। पुरस्कारको राशि १५ हजार १५ रहेको छ।
सो पुरस्कारबाट यसअघि मोहन काजी, गणेश लम्साल र राजु श्रेष्ठ पुरस्कृत भएका छन्। कार्यसमितिको आज विराटनगरमा बसेको सातौं बैठकले दुवै पुरस्कारको निर्णय गरेको महासंघका अध्यक्ष सञ्जीव खनालले जानकारी दिए।
नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा आगामी चैत १६ गते विराटनगरमा पुरस्कार वितरण गरिने कार्यक्रम रहेको महासंघ मोरङका सचिव नेत्रपी अधिकारीले बताए । उनका अनुसार स्थापना दिवसको अवसरमा मोरङ शाखाले निर्माण गरेको वेबसाइटको पनि शुभारम्भ गरिने भएको छ।
स्थापना दिवसको अवसरमा चैत १७ गते विराटनगरमा मोरङका सञ्चारकर्मीको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको सचिव अधिकारीले जानकारी दिए।






