मदिरा पिएर मात्तेका वडाध्यक्षले डाक्टर कुटेपछि …

दैलेख, १३ फागुन । (नागरिक दैनिकबाट)
दैलेखको नौमुले गाउँपालिका–७ का वडाध्यक्ष मोतीलाल बस्नेतले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टरमाथि हातपात गरेका छन् । वडाध्यक्ष बस्नेतले बुधबार राति साढे आठ बजेतिर ड्युटीमा रहेका डाक्टर यामप्रसाद शर्मालाई गालीगलौज गर्नुका साथै हातपातसमेत गरेका थिए ।
डाक्टरमाथि भएको गालीगलौज र हातपातविरुद्ध स्वास्थ्यकर्मीहरुले इमरजेन्सीबाहेकका सेवा बिहीबारदेखि बन्द गरेका छन् । स्वास्थ्यकर्मीका अनुसार मदिरा सेवन गरेर आएका वडाध्यक्षले होहल्ला गर्न थालेपछि सम्झाउन खोज्दा उल्टै चिकित्सकमाथि आक्रमण गरेको बताएका छन् ।
स्वास्थ्यकर्मीहरुले मेडिकल अधिकृत डाक्टर शर्मामाथि दुव्र्यवहार गर्ने वडाध्यक्ष बस्नेतले माफी नमागेसम्म इमरजेन्सी र प्रसुती सेवाबाहेक सञ्चालन नगर्ने बताएका छन् ।
‘इमरजेन्सीमा विरामी जाँच गरिरहेको बेला राति साढे आठ बजेतिर आएका वडाध्यक्षले गालीगलौज गर्दै हातपातसमेत गरे,’ डा. शर्माले भने, ‘जनप्रतिनिधिबाटै असुरक्षित महशुस भएपछि इमरजेन्सी र प्रसुतीबाहेकका स्वास्थ्य सेवा बन्द गर्न बाध्य भएका हौं ।’
उनले जनप्रतिधिहरुबाट आफूहरु असुरक्षित रहेको, स्वास्थ्य संस्थामा काम गर्ने वातावरण नभएको र त्रासमा आफूहरु काम गर्न नसक्ने भएकाले आफूहरुमाथि हातपात र गालैगलौज गर्ने जनप्रतिनिधिले माफी मागेर काम गर्ने वातावरण नहुँदासम्म काममा नफर्कने बताए ।






