अनुदानको बजेट दुरुपयाेग : गाउँभरी गाडिए पोल, बलेन बिजुली

सुर्खेत, ३ फागुन ।
गाउँमा बिजुलीका पोल पुग्दा स्थानीयहरु खुशी भए । तार पनि विस्तार भएपछि गाउँमा बिजुली बल्ने आश बढ्यो । बर्षौंदेखिको अन्धकारबाट मुक्त पाइने स्थानीयको आशा अहिले पनि पूरा हुन सकेको छैन ।
अर्थात गाउँमा पोल र तार पुगेको बर्षौं हुँदा पनि बिजुली नबलेपछि स्थानीयहरु निराश छन् । कालिकोटको नरहरीनाथ गाउँपालिकामा स्थानीयहरु अहिले पनि बिजुलीको पर्खाइमा छन् । नरहरिनाथमा बिजुलीका पोल र तार पुगेको १५ वर्ष बित्यो । तर हालसम्म बिजुली बल्न सकेको छैन । गाउँपालिकाका नौ वटै वडामा बिजुलीका पोल गाडिएको छ ।
तार पनि विस्तार गरिएको छ । तर स्थानीयले बिजुलीको उज्यालो देख्न पाएका छैनन् । साविक गाउँ विकास समितिहरुले लालु, माल्कोट, कोटबाडा, रुप्सा र कुमालगाउँमा बिजुलीका पोल र तार विस्तार गरेका थिए। पोल गाडिएको भए पनि न ती गाउँमा बिद्युतका आयोजना बनेका छन्, न त आयोजना बनाउने तयारी नै छ ।
त्यतिमात्र होइन बाहिरबाट त्यहा बिजुली लैजाने तयारी पनि गरिएको छैन । पूर्वतयारी र योजना विना नै विगतमा हचुवाको भरमा पोल गाडिएका कारण अहिले समस्या भएको हो । साविकका गाबिसहरुले विकास अनुदानको बजेट र कर्णाली रोजगार कार्यक्रमको बजेट खर्च गर्न ती पोल गाडेका थिए। बजेट सक्नकै लागि पोल र तार विस्तार गरिए पनि त्यहाँ बिजुली पुग्ने अझै टुंगो छैन ।
तत्काल बिजुली बाल्न त्यहाँ लघु जलबिद्युत आयोजना पनि बनेका छैनन् । न कतैबाट बिद्युत ल्याउने तयारी नै भएको छ । बरु १५ वर्ष अगाडी गाडिएका ती पोल र तारहरु हाल खिया लागेर नष्ट हुन थालेका छन् । राज्यको करौडौं रुपैयाँ उपभोग नै हुन नपाएर नोक्सान भएको छ । यसतर्फ स्थानीय सरकारले पनि चासो दिएका छैनन् ।
‘राजनीतिक दल पनि जिम्मेवार’
हचुवाका भरमा विजुलीका पोल र तार खरिद गर्ने कम भएको स्थानीयको भनाइ छ । विगतमा हचुवाको भरमा विजुलीका पोल र तार खरिद गरेर आर्थिक अनियमिता गरिएको नरहरीनाथ गाउँपालिकाका सामाजिक अगुवा वीरेन्द्रबहादुर बुढाले बताए ।
‘हचुवाको भरमा पोल र तार खरिद गरियो’ उनले भने,‘यसमा तत्कालिन गाविस, राजनीतिक दलका बोर्ड सदस्यहरुले यो अनियमितता गरे ।’ करौडाें रुपैयाँ खर्च गरेर गाडिएका विजुली पोल र तार अहिले अलपत्र अवस्थामा रहेका छन् ।
यसरी अलपत्र पारिएका र साविकका ५ वटा गाविसमा गाडिएका विजुलीका पोल र तारमा कति खर्च भयो भन्ने प्रमाण कुनै निकायसँग छैन । यो काममा ठुलो रकम दुरुपयोग भएको स्थानीय रामबहादुर बटालाले बताए । ‘हचुवाका भरमा पोलहरु गाडियो’ उनले भने,‘त्यसको ठुलो रकम दुरुपयोग भएको छ । अब यसको छानबीन कसले गर्ने ?’
राष्ट्रिय प्रसारण लाइनबाट बिजुली लैजाने तयारी
अब भने गाउँमा राष्ट्रिय प्रसारण लाइनबाट बिजुली लैजाने तयारी भइरहेको नरहरिनाथ गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका सबै क्षेत्रमा बिजुलीका पोल गाडिएकाले अब राष्ट्रिय प्रसारण लाइनबाट बिजुली लैजाने तयारी थालिएको गाउँपालिकाले जनाएको हो ।
विगतमा कालिकोटमा राष्ट्रिय प्रसारण लाइन नहुँदा समस्या भएको र अहिले राष्ट्रिय प्रसारण लाइन जोडिएका कारणले त्यहाँबाट बिजुली लैजाने तयारी भएको गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टले जानकारी दिए ।
राष्ट्रिय प्रसारण लाइन नहुँदा गाउँपालिका–६ नम्बर वडामा धाचु खोला जलविद्युत आयोजना निर्माण भइरहेको र त्यहाँबाट उत्पादन हुने बिजुली गाउँपालिकामा जोडिने अध्यक्ष बिष्टले बताए ।
तार र पोल अलपत्र
कालिकोटका लालु, माल्कोट, कुमालगाउँ, रुप्सा र कोटबाडामा विगतमा खरिद गरिएका दर्जनौं पोल लालीघाट र जितेबजारमा अलपत्र परेको नरहरिनाथ गाउँपालिका–९ का शिक्षक नवराज शाहीले बताए ।
‘गाविस र कर्णाली रोजगारको पैसा दुरुपयोग गर्नमात्र बिजुलीका पोल खरिद गरिएका रहेछ’ उनले भने,‘विद्युत आयोजना नै नभएको ठाउँमा बजेट नै खर्च गर्न पोल र तार किनियो, अहिले ती सडेर जान थाले ।’
गाउँहरुमा विद्युत आयोजनाको सर्भे भएका कारण विगतमा गाविसको बजेटबाट पोल खरिद गरिएको नेकपा एमालेका जिल्ला सचिव टेकबहादुर बुढाले बताए । ‘दुई ठाउँमा विद्युत आयोजनाको सर्भे भएको छ’ उनले भने,‘ त्यही भएर नै गाविसको बजेटबाट ऊबेला पोल र तार खरिद गरेका हौं ।’
कति बजेट खर्च भएको थियो ?
पोल र तारमा साविकको लालु गाविसले आ.व. २०६७/०६८ कर्णाली रोजगार कार्यक्रमबाट ४५ लाख र गाविसको २७ लाख बजेट खर्च गरेको छ भने माल्कोट गाविसले पनि लाखौं खर्च गरेको छ ।
कुमालगाउँ गाविसले आ.व.२०७०/७१ को विकासे अनुदानबाट २५ लाख रुपैयाँ खर्च गरेर पोल खरिद गरिएको माओवादी केन्द्र नरहरिनाथ गाउँपालिकाका ईन्चार्ज अग्रबहादुर विष्टले बताए ।
गाउँमा विद्युत आयोजनाका पुर्वाधार निर्माण नगरी गाउँमा विद्युतका पोल र तार कतै गाडिनु तथा पोल र तार अलपत्र अवस्थामा छोड्नुको मुख्य कारण आर्थिक सहायताको दुरुपयोग गर्नु नै देखिएको स्थानीय शिक्षक निर्मलकुमारले बताए ।
‘विद्युतका पोल र तारको नाममा आर्थिक सहायता दुरुपयोग गर्ने उद्देश्य नै देखिन्छ’ उनले भने,‘न विद्युत आयोजना छ, न कतैबाट विद्युत ल्याउने तयारी छ । हचुवाका भरमा विद्युतका पोल गाड्नुको के अर्थ ? राज्यको बजेट मात्र खेर फाल्ने काम भयो ।’





