तीज गीतमा कोरोनाको असरः ‘पर्ख र हेर’को अवस्थामा गायक–गायिका

कोरोना महामारी हुँदैनथ्यो भने यतिबेला लोकदोहोरी कलाकारहरुलाई तीज गीतको तयारीले भ्याइनभ्याई हुन्थ्यो । रेकर्डिङ स्टुडियोमा धमाधम तीज गीत रेकर्ड भईरहेका हुन्थे । तीज गीतका म्युजिक भिडियोको धमाधम छायांकन भैरहेका हुन्थे ।
जेठको सुरुवातदेखि सुरु हुने तीज गीतको रेकडिङले कलाकारलाई व्यस्त बनाउथ्यो । असार लागेसँगै तीज गीत सार्वजनिक गर्ने दौडमा कलाकार लागेको पाइन्थ्यो ।
हुन त गतवर्ष पनि तीज गीत ल्याउने वा नल्याउने भन्नेमा गायक–गायिकाहरुमा अन्योलता थियो । लकडाउन खुकुलो भएसँगै गायक–गायिकाहरुले तीज गीत तयार गरेर सार्वजनिक गरेका थिए । तर, तीज गीतमा अघिल्ला बर्षमा हुने जस्तो लगानी गतबर्ष हुन सकेन ।
विशेषगरि, स्टेज कार्यक्रम नै नहुने भएपछि कलाकारहरुले तीज गीत सार्वजनिक गर्न खासै जागर देखाएनन् । केही कलाकारले निरन्तरताका लागि मात्र तीज गीत सार्वजनिक गरे । यसवर्ष पनि अवस्था उस्तै छ । कोरोना भाइरसको दोस्रो लहरका कारण निषेधाज्ञा लागेकै डेढ महिना पुग्न थालेको छ । यस्तो परिस्थितिमा यसवर्ष गायक–गायिकाहरुको तीज गीतको तयारी के छ ? यसवर्ष तीज गीत सार्वजनिक होलान् त ?
तीज गीतका गायक–गायिकाहरु अहिले नै यसै भन्न सकिने अवस्था नरहेको बताउँछन् । कोहीले तीज गीत रेकर्डिङ गरेर छायांकनका लागि तयारी अवस्थामा राखेका छन् भने कोही रेकर्डिङका लागि सहज अवस्था पर्खिरहेका छन् । अधिकांश गायक–गायिकाहरु अहिले आफूहरु ‘पर्ख र हेर’को अवस्थामा रहेको बताउँछन् ।
गायक पशुपति शर्माले हरेक वर्ष तीज गीत ल्याउँदै आएका छन् । अवस्था सामान्य हुन्थ्यो भने यतिबेला उनी तीज गीतकै रेकर्डिङ र छायांकनमा व्यस्त हुन्थे । तर, यतिबेला उनी गृहजिल्ला स्याङ्जामा छन् । अहिले आफूले तीज गीतबारे केही तयारी नगरेको उनी बताउँछन् ।
‘अवस्था सहज भयो र काठमाडौं आउने वातावरण मिल्यो भने एक–दुईवटा गीत बजारमा आउलान् । तर, केही योजना र तयारी भने गरेको छैन’ उनले भने, ‘अहिले के हुन्छ भन्नै सक्ने अवस्था छैन । हेरौ, परिस्थिति कस्तो हुन्छ ।’






