नेप्से ४३ अङ्कले बढेर २६ सय विन्दुभन्दा माथि

काठमाण्डाै । शेयर बजार परिसूचक नेप्से ४३ अङ्कभन्दा धेरैले बढेको छ ।
व्यापारबाहेक अरू सबै समूहको शेयर उकालो लागेपछि नेप्से ४३ दशमलव ३६ अङ्कले बढेर २६ सय १९ दशमलव शून्य दुई विन्दुमा पुगेको छ । बुधवार बैंकिङ समूहको शेयर झण्डै ४१ अङ्कले बढेको छ ।
यस्तै विकास बैंकको ४३ अङ्कले, होटल र पर्यटनको ६३ अङ्कले, जलविद्युतको ३५, फाइनान्सको नौ, माइक्रो फाइनान्सको २७, जीवन बीमा समूहको एक सय ६८, निर्जीवन बीमा समूहको तीन सय ४९, उत्पादनको ३१, अन्यको २५ र लगानी समूहको शेयर झण्डै दुई अङ्कले बढेको छ ।

बुधवार दुई सय नौ कम्पनीका एक करोड १२ लाख २८ हजार कित्ता शेयर ६ अर्ब १६ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट विकास बैंकको ३६ करोड रुपैयाँको शेयर किनबेच भयो ।
बुधवार पाँच कम्पनीको शेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि रैराङ र युनाइटेड मर्दी हाइड्रो तथा बोटलर्स नेपाल कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले बढेको छ । बुधवार नेप्सेको कारोबार व्यवस्थापन प्रणाली टीएमएसमा समस्या देखिएकाले दिउँसो चार बजेसम्म कारोबार अवधि बढाइएको थियो ।






