नेकपा विभाजनबारे राउटे युवाः फाट्यापनि राम्रै हो, नफाट्यापनि राम्रै हो

सुर्खेत, १५ माघ ।
नेपालकै घुमन्ते जातीमा पर्ने राउटे युवा प्रकाश शाहीले नेकपा विभाजनबारे धारणा दिएका छन् । युगन्यूजको प्रश्नमा बुधबार वीरेन्द्रनगरमा उनले नेकपा मिलेपनि ठिक नमिलेपनि ठिक भन्ने प्रतिक्रिया दिए । नेकपा फूटेको थाहा छ तपाईलाई भन्ने प्रश्नमा प्रकाश भन्छन्, ‘नेकपा एमाल्या, प्रचण्ड माओवादी फाटन लाग्या भन्ने कुरा कानमा सुन्याछु ।’ तपाईलाई के लाग्छ भन्ने प्रश्नमा उनले भने, ‘फाट्यापनि राम्रै हो । नफाट्यापनि राम्रै हो । सरकार त उहि आउँछ । वा विप्लवै आउँछ कि ? क्या थाहा छ र ?’ तपाईलाई को आए राम्रो ? प्रकाशको जवाफ छ, ‘आजभोली ओली नै छन क्यारे । जो आएपनि राम्रो ।’

भत्ता पाएनौं
नेपालमै लोपोन्मुख फिरन्ते जातीको रुपमा रहेको राउटे समूदायले आफूलाई सामाजिक सुरक्षा भत्ता पाँच हजार मासिक रुपमा पाएको खण्डमा घर व्यवहार चलाउन सजिलो हुने बताएका छन् । पोखरा जान भन्दै लेकबेशी नगरपालिकाको वडा नं. ६ नेटाबाट बुधबार वीरेन्द्रनगर आइपुगेका आधा दर्जन भन्दा बढि राउटे युवाले असोजमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेको घोषणा अनुसारको थप दुइ हजार भत्ता नपाएको गुनासो गरेका हुन ।
‘हामीलाई प्रदेश सरकारले हरेक महिनामा दुइ हजार थप भत्ता दिने भनेको थियो, मुख्यमन्त्रीले हाम्रै घरमा आएर त्यो भनेका थिए, मुख्यमन्त्रीले भनेको चार महिना पुग्न लाग्दा पनि हामीले पाँच हजार बुझ्न पाएका छैनों ।’ राउटे युवा खेमराज शाहीले भने, ‘त्यो भत्ता पाएको भए हामीलाई घर व्यवहार चलाउन सजिलो हुने थियो ।’
मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्री दल रावल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीलगायतको टोलीले गएको असोज ८ गते महाष्टमी पर्वको दिनमा उक्त घोषणा गरेको थियो ।
उक्त घोषणा गरेको तीन महिनापछि पुस ६ गते मन्त्रीपरिषदको वैठकले राउटेलाई प्रतिव्यक्ति मासिक दुइ हजार रुपैंया गुराँस गाउँपालिका मार्फत दिने र बजेट पालिकामा पठाउने निर्णय गरेको थियो । उक्त निर्णय गरेको एक महिना सात दिनपछि पनि भत्ता हातमा नपाउँदा आफूहरु दुखी भएको राउटे अगुवा युवा खकेन्द्र शाही गुनासो गर्छन ।
‘सरकारले भनेको अनुसार पैसा दिएको भए आज हामी पोखरा जाने थिएनौं । हामी पोखरा जानुको कारण घर खर्च जुटाउन नै हो ।’ उनले भने, ‘तैपनि प्रदेश सरकारले हामीलाई भनेको रकम दिन्छ होला । हाम्रा लागि आवश्यक रकम गाउँपालिकामा पठाउने भनेको कुरा मैले सुनेको छु ।’ उनले प्रतिव्यक्ति पाँच हजार भएको खण्डमा अहिलेको अभाव हटने बताए ।
‘जंगलमा जाऔं बाँदर पाउन छोडिसक्यो । मासु खान मन लागे कुखुरा र खशी खोज्नुपर्ने अवस्था आएको छ । काठपनि पाइदैन भाँडा बनाऔं भने ।’ उनी भन्छन्, ‘हाम्रो जनता कसरी बाँच्ने ? सरकारले दिने तीन हजारले महिनामा खान नै पुग्दैन । पाँच हजार भएको खण्डमा हामीलाई खासै समस्या हुँदैन ।’
यता, गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले प्रदेश सरकारबाट आउने भनेको थप रकम नआइपुगेको बताए । ‘१४६ जना राउटे छन् । सरकारले प्रतिमहिना दुइ लाख ९२ हजार रुपैंया हाम्रो खातामा जम्मा गर्नुपर्नेछ । त्यो रुपेैंया जम्मा भएको छैन ।’ उनले भने, ‘त्यो रुपैंया जम्मा भएको खण्डमा हामी राउटे परिवारलाई एकमुष्ट पाँच हजारका दरले बाँडछौं ।’






