दसैँ नजिकिँदै, नेपालगञ्जका मूर्तिकारलाई माटोको मूर्ति बनाउन भ्याइनभ्याइ

बाँके, १० असोज ।
नेपालीको महान् चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई यतिबेला माटोका मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ । दसैँको आगमनसँगै नेपालगञ्जका सडक किनार, अस्थायी टहरा र घरका आँगनमा विभिन्न देवीदेवताका आकर्षक माटाका मूर्ति देखिन थालेका छन् । मूर्तिकारहरू भने बिहानदेखि अबेर रातिसम्म मूर्ति निर्माण, साजसज्जा र रङरोगनमा व्यस्त छन् ।
तराई क्षेत्रमा घटस्थापनाका दिनदेखि टोलटोलमा नवदुर्गा भवानीका मूर्ति स्थापना गरी पूजाअर्चना गर्ने पुरानो धार्मिक तथा सांस्कृतिक परम्परा छ । यही परम्पराका कारण दसैँ सुरु हुनुअघि नै मूर्तिको माग बढ्ने भएकाले मूर्तिकारहरूलाई समयमै अर्डर पूरा गर्ने चटारो परेको हो ।
नेपालगञ्ज उपमहानगरपालिका–८ का अङ्कित मिश्र एक महिनाअघिदेखि नै दुर्गा भवानीका मूर्ति बनाउन व्यस्त हुनुहुन्छ । अहिले उहाँले तयार पारेका मूर्तिमा अन्तिम चरणको साजसज्जा र रङरोगनको काम भइरहेको छ । पराल, बाँस, माटो, भुस र दाउरालगायत सामग्री प्रयोग गरेर मूर्ति तयार पार्ने गरिएको उहाँले बताउनुभयो ।
मिश्रका अनुसार दुर्गा भवानीसँगै लक्ष्मी, गणेश, कार्तिकेयलगायत देवीदेवताका साथै बाघ, मुसा, राँगा र सर्पका आकृति पनि तयार पारिएका छन् । “ग्राहकले एक महिनाअघिदेखि नै अर्डर गर्ने भएकाले समयमै काम सक्न चटारो छ,” उहाँले भन्नुभयो, “मूर्ति सजावटका सामग्री र आवश्यक औजार भने सीमावर्ती भारतीय बजार रुपैडिहाबाट ल्याउने गरेका छौँ ।”
मूर्तिको आकार तयार भएपछि त्यसलाई आकर्षक बनाउन रङरोगन, वस्त्र, गरगहना, मुकुट तथा देवीदेवताका वाहन र अस्त्रशस्त्र सजाउने काम गरिन्छ । यसका लागि मूर्तिकारसँगै सहयोगीहरू पनि दिनरात खटिएका छन् ।
नेपालगञ्ज–६ का सन्दीपकुमार वंसकारको दैनिकी पनि यतिबेला माटोसँगै बितिरहेको छ । पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आउनुभएका वंसकार सडक किनारमा बनाइएको अस्थायी टहरामा सयौँ मूर्ति तयार पारिरहनुभएको छ । दसैँको समय मूर्तिको माग बढ्ने भएकाले अन्य समयको तुलनामा यो समयमा आम्दानीको अवसर पनि बढ्ने उहाँ बताउनुहुन्छ ।
उहाँका अनुसार एउटा मूर्ति सामान्यतः रु २० हजारदेखि रु २५ हजारसम्ममा बिक्री हुने गरेको छ । एउटा मूर्तिबाट करिब रु चार हजारदेखि पाँच हजारसम्म नाफा हुने गरेको उहाँले बताउनुभयो । मूर्ति निर्माणको काममा वंसकारले आफू मात्र नभई अन्य छ जनालाई समेत रोजगारी दिनुभएको छ । कामदारलाई कामको प्रकृति र समयअनुसार रु १० हजारदेखि रु २० हजारसम्म पारिश्रमिक दिने गरिएको उहाँले जानकारी दिनुभयो ।
तर मूर्तिकारहरूले यो पेसामा विभिन्न चुनौतीसमेत रहेको बताएका छन् । संगठित सङ्घसंस्थाको अभाव, कच्चा पदार्थको मूल्यमा हुने उतारचढाव तथा मूर्तिको मूल्य निर्धारणका लागि निश्चित दररेट नहुँदा व्यवसाय सञ्चालनमा समस्या हुने गरेको उनीहरूको भनाइ छ ।
एउटै प्रकृतिका मूर्तिको मूल्यसमेत आकार, सजावट र ग्राहकअनुसार फरक हुने गरेको छ । नियमित तथा चिनेजानेका ग्राहकलाई छुट दिनुपर्ने भएकाले कतिपय अवस्थामा लागतअनुसारको मूल्यसमेत नपाउने अवस्था रहेको वंसकारले बताउनुभयो । उहाँका अनुसार मूर्ति बनाउन लाग्ने समय, श्रम र सामग्रीको लागत बढ्दै गए पनि बजारमा त्यसअनुसार मूल्य लिन कठिन हुने गरेको छ ।
नेपालगञ्जमा दसैँका अवसरमा मूर्ति निर्माणसँगै टोलटोलमा धार्मिक तथा सांस्कृतिक गतिविधिसमेत बढ्न थालेका छन् । बाँकेको नेपालगञ्ज, कोहलपुर, जानकी, खजुरा, डुडुवा र नरैनापुरका विभिन्न क्षेत्रमा दसैँको भोलिपल्ट दुर्गा झाँकी निकाल्ने परम्परा छ । कतिपय टोलमा समुदाय मिलेर रकम सङ्कलन गरी तथा कतिपय ठाउँमा व्यक्तिगत खर्चमा नवदुर्गा भवानीका मूर्ति स्थापना गर्ने गरिएको छ ।
स्थानीय अगुवा सन्तोषकुमार कनोडियाका अनुसार टोलमा देवीको मूर्ति स्थापना भएसँगै बगियामा रामलीला सुरु हुने र त्यसपछि दसैँको रौनक थप बढ्ने गरेको छ । “मूर्ति स्थापना र रामलीला यहाँको दसैँसँग जोडिएको पुरानो सांस्कृतिक परम्परा हो,” उहाँले भन्नुभयो ।
नवरात्रभर विधिवत् पूजाअर्चना गरिएका मूर्ति दसैँको भोलिपल्ट बाजागाजासहित नजिकैको राप्ती नदीमा लगेर धूमधामका साथ विसर्जन गर्ने गरिन्छ । मूर्ति विसर्जनसँगै दसैँको धार्मिक विधि पूरा गर्ने परम्परा रहेको स्थानीय बताउँछन् ।
यसरी नेपालगञ्जमा दसैँको तयारी घरपरिवारमा मात्र सीमित छैन । मूर्तिकारका अस्थायी टहरादेखि टोलका पूजा स्थलसम्म अहिले दसैँको चहलपहल बढ्दै गएको छ । धार्मिक आस्था, सांस्कृतिक परम्परा र मूर्तिकारको श्रमसँग जोडिएको यो गतिविधिले नेपालगञ्जको दसैँलाई थप जीवन्त बनाउने गरेको छ ।

 

दसैँ नजिकिँदै, नेपालगञ्जका मूर्तिकारलाई माटोको मूर्ति बनाउन भ्याइनभ्याइ

विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन आग्रह 

Leave a comment

Your email address will not be published. Required fields are marked *