भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

बाँके ,२८ भदौ ।
बाढी, पहिरो, भूकम्पलगायत विपद्का बेला एकैपटक ठूलो संख्यामा शव आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै भेरी अस्पताल नेपालगञ्जमा कम्तीमा ५० वटा शव अट्ने क्षमताको शवगृह निर्माण तथा विस्तार गरिने भएको छ।
पश्चिम नेपालकै प्रमुख रेफरल अस्पतालका रूपमा रहेको भेरी अस्पतालमा हाल एकैपटक ६ वटा शव मात्र राख्न सकिने क्षमता छ। विपद्का बेला ठूलो संख्यामा शव आउँदा सुरक्षित रूपमा व्यवस्थापन गर्न समस्या हुने भएकाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले शवगृहको क्षमता विस्तार गर्ने निर्णय गरेको हो।
मन्त्रालयले कम्तीमा ५० वटा शव व्यवस्थापन गर्न सकिने क्षमताको शवगृह निर्माणका लागि अस्पताललाई परिपत्र पठाइसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले बताउनुभयो।
“अहिले ६ वटा शव व्यवस्थापन गर्न सकिने अवस्था छ। क्षमता बढाएर ५० वटा शव राख्न सकिने बनाउने निर्णय भएको छ,” डा. दर्नालले बताउनुभयो, “बजेट भने अहिलेसम्म आएको छैन। अस्पताल विकास समितिबाट निर्णय भएपछि विस्तृत परियोजना प्रतिवेदन तयार गरी बजेट माग गरिनेछ।”
सामान्य अवस्थामा पनि पश्चिम नेपालका विभिन्न जिल्लाबाट उपचारका लागि आउने बिरामीको मृत्यु भएपछि भेरी अस्पतालमा शव ल्याउने क्रम तुलनात्मक रूपमा बढी हुने गरेको छ। विपद्का समयमा भने एकैपटक ठूलो संख्यामा शव आउन सक्ने भएकाले सुरक्षित राख्ने स्थानको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै शवगृहको क्षमता विस्तार गर्न लागिएको डा. दर्नालले बताउनुभयो।
हालैको भोटेकोशी बाढीबाट समेत विपद्का बेला ठूलो संख्यामा शव व्यवस्थापनका लागि पूर्वतयारी आवश्यक रहेको पाठ सिकिएको उहाँले जनाउनुभयो। विपद्का बेला शवको सुरक्षित संरक्षणसँगै पहिचान, परीक्षण तथा कानुनी प्रक्रिया पूरा गर्न पर्याप्त र व्यवस्थित शवगृह आवश्यक हुने अस्पतालको भनाइ छ।
अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष डक्ट धितालले नयाँ शवगृह निर्माण भएपछि शवको सुरक्षित र सम्मानजनक व्यवस्थापन गर्न सहज हुने बताउनुभयो। उहाँका अनुसार शवको पहिचान, परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनसमेत नयाँ संरचनाले सहयोग पुग्नेछ।
“विपद्का बेला एकैपटक धेरै शव आउँदा सुरक्षित रूपमा राख्ने ठाउँको अभाव हुन नदिन पूर्वतयारी आवश्यक छ,” धितालले बताउनुभयो, “नयाँ शवगृह बनेपछि शव व्यवस्थापनसँगै पहिचान र फरेन्सिक प्रक्रियालाई पनि व्यवस्थित गर्न सहज हुनेछ।”
अस्पतालका अनुसार नयाँ शवगृह निर्माणका लागि आवश्यक जमिन अस्पताल परिसरमै पर्याप्त रहेको छ। सरकारले गरेको निर्णयलाई छिटो कार्यान्वयनमा लैजान अस्पताल विकास समिति र प्रशासनले आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरेका छन्।
नयाँ शवगृह निर्माण भएपछि भेरी अस्पतालको विपद् प्रतिकार्य क्षमता मात्र नभई शव परीक्षण तथा फरेन्सिक सेवासमेत थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

जुम्लाका गोविन्द : विभेददेखि रंगमञ्चसम्म

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

Leave a comment

Your email address will not be published. Required fields are marked *