सम्पादकीय : कहिले सुध्रिन्छ कर्णाली राजमार्गको अवस्था ?

जुम्लामा स्याउ उत्पादन बढ्दै गएको छ । किसानले खेती विस्तार गरिरहेका छन् । बारीमै पुगेर व्यापारीले स्याउ खरिद गर्न थालेका छन् । यसले जुम्लाको स्याउ उत्पादन व्यावसायिक बन्दै गएको संकेत गर्छ । तर, उत्पादन बढ्नु मात्रै पर्याप्त हुँदैन । उत्पादित वस्तु सुरक्षित र सहज रूपमा बजारसम्म पुग्ने पूर्वाधार पनि त्यत्तिकै आवश्यक हुन्छ । जुम्लाको स्याउका लागि यही आधारभूत पूर्वाधार अहिले सबैभन्दा ठूलो चुनौती बनेको छ । कर्णाली राजमार्गको जीर्ण अवस्था र वर्षायाममा दोहोरिरहने पहिरोका कारण स्याउ बोकेका गाडी बाटोमै लामो समय रोकिन्छन् । यो कुनै एक व्यवसायीको मात्र समस्या होइन । जुम्लाबाट सुर्खेत, नेपालगन्ज, बुटवल, धनगढी, काठमाडौंलगायतका बजारमा स्याउ पअठाउने किसान र व्यवसायीले हरेक वर्ष यस्तै समस्या भोग्दै आएका छन् । किसानको बारीबाट प्रतिकिलो ७० देखि ८० रुपैयाँमा खरिद गरिएको स्याउ बजार पुग्दा उपभोक्ताले प्रतिकिलो एक सय ८० रुपैयाँभन्दा बढी तिर्नुपर्छ ।
जुम्लाबाट ढुवानी खर्च प्रतिकिलो सातदेखि आठ रुपैयाँसम्म लाग्छ । तर, सडक अवरुद्ध हुँदा गाडी हप्तौँसम्म रोकिने र खाल्डाखुल्डीका कारण स्याउमा चोट लाग्ने समस्या थपिन्छ । व्यवसायीका अनुसार बजारसम्म पुग्दा औसतमा प्रतिक्वीन्टल १० किलोग्रामसम्म स्याउ क्षति हुने गरेको छ । यसरी सडकको कमजोरीको मूल्य अन्ततः किसान, व्यवसायी र उपभोक्ता तीनै पक्षले चुकाउनुपर्छ । उता जुम्लामा उत्पादनको सम्भावना भने निरन्तर बढिरहेको छ । आर्थिक वर्ष २०८२/८३ मा १८ हजार दुई सय ४५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । चालु आर्थिक वर्षमा यो १९ हजार पाँच सय मेट्रिक टन पुग्ने अनुमान छ । स्याउ खेती गर्ने किसानको संख्या १८ हजार तीन सय १५ पुगेको छ । खेतीको क्षेत्रफल पनि आर्थिक वर्ष २०७८/७९ को तीन हजार आठ सय २५ हेक्टरबाट बढेर गत आर्थिक वर्षसम्म चार हजार चार सय ४५ हेक्टर पुगेको छ । उत्पादन बढाउने किसानलाई बजारसम्म पुर्‍याउने सडक नदिने हो भने कृषि क्षेत्रमा गरिएको लगानीको प्रतिफल कसरी आउँछ ? त्यसैले अब स्याउ उत्पादन बढाउने कार्यक्रमसँगै ढुवानी पूर्वाधार सुधारलाई पनि प्राथमिकतामा राखिनुपर्छ ।
कर्णाली राजमार्गको गगने खोला, पिली, एसमोड र दही खोलाजस्ता पहिरो प्रभावित क्षेत्रमा तत्काल पहिरो पन्छाउनेभन्दा दीर्घकालीन समाधान खोजिनुपर्छ । भौगर्भिक अध्ययन, टेवा पर्खाल, बायोइञ्जिनियरिङ, रक सेड वा आवश्यक स्थानमा पुल निर्माणजस्ता विकल्पमा सरकारले काम गर्नुपर्छ । वैकल्पिक सडकको सम्भावनालाई पनि व्यवहारमा अघि बढाउन आवश्यक छ । कर्णाली राजमार्ग जुम्लाको स्याउ बजारमा पुर्‍याउने बाटो होइन । यो कर्णालीको कृषि, पर्यटन, व्यापार र दैनिक जनजीवनसँग जोडिएको जीवनरेखा हो । त्यसैले वर्षेनी पहिरो पन्छाएर सडक खुलाउने अस्थायी अभ्यासबाट माथि उठेर दीर्घकालीन समाधानमा राज्यले लगानी गर्नुपर्छ । किसानले उत्पादन बढाइरहने तर सडककै कारण उत्पादन खेर जाने अवस्था अन्त्य नगरेसम्म जुम्लाको स्याउले खोजेको वास्तविक बजार र मूल्य पाउन सक्दैन ।
सम्पादकीय : कहिले सुध्रिन्छ कर्णाली राजमार्गको अवस्था ?

बर्का अट्वारी पर्वले मौलिक संस्कृति र सामाजिक

सम्पादकीय : कहिले सुध्रिन्छ कर्णाली राजमार्गको अवस्था ?

होला त कर्णाालीमा १० औँ राष्ट्रिय खेलकुद

Leave a comment

Your email address will not be published. Required fields are marked *