राष्ट्रिय कृषक समूह महासंघको १६औँ स्थापना दिवस भेरीगंगामा सम्पन्न

सुर्खेत, २३ भदौ ।
राष्ट्रिय कृषक समूह महासंघ नेपालको १६औँ स्थापना दिवस सुर्खेतको भेरीगंगा नगरपालिकामा विभिन्न कार्यक्रम गरी मनाइएको छ। बेलायत सरकारको आर्थिक सहयोग तथा राष्ट्रिय कृषक समूह महासंघ नेपालको सहकार्यमा सञ्चालित एक्टिभ परियोजना अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।

राष्ट्रिय कृषक समूह महासंघ कर्णाली प्रदेशका अध्यक्ष सन्तबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भेरीगंगा नगरपालिका महासंघ, लेकबेँसी नगरपालिका महासंघ, वीरेन्द्रनगर नगरपालिका महासंघका पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय सदस्यलगायत कृषक समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघकी केन्द्रीय सदस्य लिलावती ढकाल, प्रदेश उपाध्यक्ष विद्या आचार्य, प्रदेश सल्लाहकार सभिराम आचार्य, भेरीगंगा नगरपालिका महासंघका अध्यक्ष पूर्णबहादुर खत्री, सहसचिव मोहनकुमार खत्री, लेकबेँसी नगरपालिका महासंघका सदस्य तथा पदाधिकारी, वीरेन्द्रनगर नगरपालिका महासंघका पदाधिकारी तथा सदस्यलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले कृषकको हकहित, कृषि क्षेत्रको विकास, किसानका समस्या समाधान तथा कृषक समूहलाई थप व्यवस्थित र सशक्त बनाउन महासंघले खेल्दै आएको भूमिकाबारे चर्चा गरेका थिए।
कृषकका समस्या राज्यका सम्बन्धित निकायसम्म पुर्याउने, किसानलाई संगठित गर्ने तथा कृषि उत्पादन र उद्यमशीलता प्रवर्द्धनमा कृषक समूह महासंघको भूमिका महत्वपूर्ण रहेको सहभागीहरूको भनाइ थियो।

कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न पालिकाबाट कृषक समूहका प्रतिनिधि तथा महासंघका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो। स्थापना दिवसका अवसरमा महासंघको आगामी कार्यदिशा, कृषकका समसामयिक समस्या र संगठनलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो।





