मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीदेखि कर्मचारीसम्मको तलब बाढीपीडितका लागि सहयोग

सुर्खेत  ,१५ भदौ ।

मध्यपश्चिम विश्वविद्यालयले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्ने भएको छ।
विश्वविद्यालयका कार्यकारी परिषद्को भदौ १५ गते बसेको बैठकको निर्णयअनुसार विश्वविद्यालय तथा मातहतका निकायमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीको मासिक तलब/पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने भएको हो।
विश्वविद्यालयका रजिस्ट्रार डा. अर्जुनबहादुर अयडीद्वारा जारी सूचनाअनुसार उपकुलपति र रजिस्ट्रारको एक महिनाको तलब बराबरको रकम कट्टा गरिनेछ। त्यस्तै डिन, कार्यकारी निर्देशक र परीक्षा व्यवस्थापन प्रमुखबाट मासिक सुरु तलब स्केलको १५ दिन बराबर, प्राध्यापक तथा सहप्राध्यापक वा सो सरहका शिक्षक तथा कर्मचारीबाट १० दिन बराबर रकम सहयोग गरिनेछ।


यसैगरी उपप्राध्यापक, शिक्षण सहायक, प्रशिक्षक वा सो सरहका शिक्षक तथा कर्मचारीबाट ७ दिन, मुख्य–सहायक, सहायक प्रशिक्षक, सहायक वा सो सरहका कर्मचारीबाट ५ दिन तथा श्रेणीविहीन कर्मचारीबाट २ दिन बराबरको तलब कट्टा गरिने विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयले उक्त रकम मासिक तलब/पारिश्रमिक भुक्तानी गर्दा कट्टा गरी आर्थिक प्रशासन शाखामार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको खातामा जम्मा गर्ने व्यवस्था मिलाएको जनाएको छ।
भदौ १० गते रसुवा जिल्लाको रसुवागढी क्षेत्रमा भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै विश्वविद्यालयले दुःख व्यक्त गरेको छ। बाढीमा परी ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि विश्वविद्यालयले गरेको छ।
विश्वविद्यालयले आफ्ना सम्बन्धनप्राप्त क्याम्पस तथा कलेजहरूलाई समेत कार्यकारी परिषद्को निर्णयअनुसार स्वेच्छिक रूपमा आर्थिक सहयोग गर्न अनुरोध गरेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *