गाईजात्रासँगै सुरु भयो जुम्लाको लामो जात्रा

गाेल्डेन बुढा
जुम्ला,१४ भदौ ।
जुम्लामा कर्णाली प्रदेशकै लामो जात्रा सुरु भएको छ । गाईजात्राको दिनदेखि सुरु हुने जात्रा श्रीकृष्ण जन्माष्टमीका दिन मात्रै सकिन्छ । जात्राको पहिलो दिन गाईजात्रा निकालिएको हो ।दिवंगत आफन्तको सम्झना र आत्मशान्तिको कामना गर्दै मनाइने गाईजात्रासँगै जुम्लाको परम्परागत जात्रा सुरु भएको जात्रा समितिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए । चन्दननाथ नगरपालिका–७ महत गाउँबाट स्वर्गीय नरबहादुर महतका दुई परिवार र नगरपालिका–५ कामीटोलका स्वर्गीय रवि सुनारको घरबाट गाईजात्रा निकालिएको थियो ।‘एक वर्षभित्र मृत्यु भएका परिवारका सदस्यको सम्झनाको प्रतीकका रूपमा मानिसलाई गाईको रूपमा सिंगारेर वा गाईलाई नै खलंगाबजार परिक्रमा गराउने चलन छ,’ श्रेष्ठले भने, ‘गाईको पुच्छर समाएर वैतरणी नदी पार गर्न सकिने धार्मिक विश्वासका साथ श्रद्धालुले फलफूल, दही र चिउरा दान गर्छन् ।’गाईजात्रा सदरमुकामको मुख्य बजारबाट कालेखोली हुँदै चन्दननाथ–भैरवनाथ मन्दिर परिक्रमा गरी पुरानो बसपार्क हुँदै जिल्ला प्रहरी कार्यालय र मुख्य बजारमा आएर समापन भएको थियो । जात्रामा जिल्लाको विकास, राजनीतिक, सांस्कृतिक र आर्थिक अवस्थामाथि व्यंग्य गर्ने परम्परा छ ।जुम्लामा यो जात्रा वि.सं. १९५३ सालदेखि निरन्तर मनाइँदै आएको स्थानीय बताउँछन् । नेवार समुदायसँग जोडिएको यो संस्कृति अहिले भने समुदाय विशेषमा सीमित छैन । समग्र जुम्लाबासीको संस्कार र संस्कृति बनेको स्थानीय अर्जुन श्रेष्ठ बताउँछन् ।कान्तिपुरी नगरीबाट व्यापारिक सिलसिलामा दैलेख हुँदै जुम्ला आएका नेवार समुदायले यो संस्कृति भित्र्याएको मानिन्छ । यसका प्रवर्तकका रूपमा पूर्णसिंह श्रेष्ठ मल्लका छोरा कृष्णवीर श्रेष्ठ मल्ललाई मानिन्छ ।श्रावण कृष्ण चतुर्दशीका दिन गठामंगल अर्थात् गाँठेमंगलका रूपमा घण्टाकर्ण नामक राक्षसको पुत्ला स्थापना गरी साँझ नदीमा सेलाएपछि जात्रा विधिवत् सुरु हुन्छ । कृष्ण जन्माष्टमीका दिन कृष्ण जन्मेको दृश्य देखाइन्छ । त्यसको भोलिपल्ट लाखे मारी कृष्णको विजय रथयात्रा निकालिन्छ । कृष्ण मन्दिरबाट सुरु हुने रथयात्राले चन्दननाथ, भैरवनाथ र दरबार मालिकाका मन्दिर परिक्रमा गरेपछि कृष्ण मन्दिरमै पुगेर जात्रा समापन हुन्छ ।जात्रा अवधिमा रोपाइँ जात्रा, सानो पल्टन जात्रा, मिम बादशाह जात्रा, ठूलो पल्टन तथा बाघ–भालु जात्रा देखाउने चलन छ । जात्रा हेर्न साविक कर्णालीका पाँच जिल्लासहित जाजरकोट, दैलेख, सुर्खेत, नेपालगन्ज र काठमाडौंबाटसमेत मानिस आउने गरेका छन् ।
स्थानीयले यसलाई कर्णालीको धार्मिक तथा सांस्कृतिक पर्यटनको आधारका रूपमा हेरेका छन् ।जुम्लाको जात्राको अर्को विशेषता लाखेको मकुण्डो हो । साउन कृष्ण चतुर्दशीदेखि लाखेले लगाउँदै आएको मकुण्डो लामो समयदेखि उस्तै देखिन्छ । यसको इतिहास पनि उत्तिकै पुरानो छ ।सुरुमा माटो र कागज कुटेर मकुण्डो बनाइन्थ्यो । पछि २००५ सालमा डोटीबाट पुरै पितलको मकुण्डो ल्याइएको थियो । आकार नमिलेपछि जुम्ला कामीटोलका विष्णु सुनारले त्यसलाई मिलाएर परिमार्जन गरेका थिए ।चन्दननाथ नगरपालिका–५ का जात्रासम्बन्धी जानकार चित्रलाल श्रेष्ठले २०१८ सालदेखि उक्त मकुण्डोको मर्मतसम्भार, सिंगारपटार र संरक्षण गर्दै आएका छन् ।१२ वटा चौंरी गाईका फुर्का बाँधेर लाखेको ठाग्रो बनाइन्छ । शिरमा चन्द्र–सूर्यको आकृति राखिन्छ । ठाग्रो र मकुण्डो गरी लाखेले नाच्दा शिरमा बोक्ने सामग्रीको तौल झण्डै १० देखि १२ किलोसम्म हुन्छ ।पुस्तौँदेखि प्रयोग हुँदै आएको यही मकुण्डो जुम्लाको जात्राको मौलिक पहिचान बनेको छ । स्थानीय जानकारहरू भने यसको संरक्षणसँगै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिन्छन् ।जात्रामा हुने ठूलो भीडलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय जुम्लाले सुरक्षा व्यवस्था कडा पारेको छ । आपराधिक गतिविधि नियन्त्रण र जात्रालाई शान्त तथा मर्यादित बनाउन पोसाकसहित र सादा पोसाकमा प्रहरी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।






