विपद्ले घेरिएको जाजरकोट  भूकम्पले घर चर्कायो पहिरोले बासै खोस्यो

ओम शाही

सुर्खेत, ६ भदौ ।

जाजरकोटको भेरी नगरपालिका–२ रिसाङकी सपना वलीको परिवार अहिले त्रिपालमुनि रात कटाइरहेको छ । १० जनाको परिवार बस्दै आएको घर र जग्गा साउन ३० गतेको अविरल वर्षापछि आएको पहिरोले बगाएपछि उनीहरूको ओत लाग्ने ठाउँसमेत खोसिएको छ । 

दुई वर्षअघि गएको भूकम्पले घर चर्किएपछि वली परिवार अस्थायी बसोबासमा थियो । भूकम्पले पुरानो घर जोखिममा पारेको पीडा भुल्न नपाउँदै पहिरोले बसिरहेको घर र जग्गासमेत बगाइदियो । अहिले परिवारका सदस्यहरू राज्य र दातृ निकायले उपलब्ध गराएको त्रिपालको भरमा दिन काटिरहेका छन् । 

सपनाको परिवारको अवस्था रिसाङका अन्य भूकम्पपीडित परिवारको जस्तै छ । भूकम्पपछि स्थायी घर निर्माण हुन नसक्दै आएको पहिरोले उनीहरूको बाँकी सहारा पनि खोसेको छ । रिसाङकी वृद्ध कली कामीको अस्थायी टहरा पनि पहिरोले बगायो । उनले एक नातिनी र एक नातीसहित ज्यान जोगाइन् । घरमा रहेका गाई, कुखुरा, बाख्रा र अन्य सम्पत्ति भने पहिरोमै पुरिए । 

‘दुई वर्षअघिको चिसोमा भुइँचालोले दुःख दियो, अहिलेको बर्खामा पहिरोले घरबारविहीन बनायो,’ कलीले भनिन्, ‘मेरो जस्तो पीडा कसैले भोग्न नपरोस् । भुइँचालोले भत्किएको घर बनाउन सकिएको थिएन, त्यहीमाथि पहिरोले साँघुरो टहरा पनि बगाइदियो ।’ रिसाङकै कुमारी विकको परिवारमा चार छोराछोरी छन् । 

भूकम्पले चर्किएको घर यस वर्षको पहिरोले बगाएपछि उनीहरू तत्कालीन सेल्टरमा बसिरहेका छन् । ‘घरमा भएको केही पनि बाँकी रहेन, भाग्यले परिवारको ज्यान बच्यो,’ कुमारीले भनिन्, ‘अहिले लुगा पनि अरूले दिएको लगाउनुपरेको छ । के गर्ने र कसो गर्ने भन्ने उपाय नै छैन ।’ सोही गाउँका लालबहादुर थापाको घरमा प्रत्यक्ष क्षति नपुगे पनि परिवार जोखिमकै बीचमा छ । घरवरपर र माथिल्लो भाग चिराचिरा परेको छ । जमिन कतिबेला फेरि बगेर घर पुर्छ भन्ने त्रासमा उनी सेल्टरमा बसेका छन् । ‘अहिलेसम्म यसरी कहिल्यै जमिन भासिएको थिएन,’ उनले भने, ‘मेरो मात्र होइन, वरिपरिका सबै घर जोखिममा छन् । सुरक्षित ठाउँमा स्थायी रूपमा व्यवस्थापन गरिदिनुपर्छ ।’

भूकम्पपीडितमाथी फेरि विपद्

२०८० कात्तिकमा गएको भूकम्पले निम्त्याएको समस्या समाधान नहुँदै जाजरकोटका भूकम्पपीडितमाथि अर्को विपद् थपिएको छ । भूकम्पले चर्किएका घर र निर्माण गरिएका अस्थायी टहरासमेत पहिरोको जोखिममा परेका छन् । 

३० साउनको अविरल वर्षापछि आएको पहिरोले भेरी नगरपालिका–२ का रिसाङ र स्याला गाउँका अधिकांश बासिन्दा प्रभावित भएका छन् । रिसाङमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । 

घरबारविहीन र जोखिममा रहेका परिवारलाई विद्यालय तथा अन्य अस्थायी संरचनामा राखिएको छ । स्यालास्थित विजया प्राथमिक विद्यालय र रिसाङस्थित त्रिभुवन आधारभूत विद्यालयमा विस्थापित परिवारलाई राखिएको छ । एउटै ठाउँमा ठूलो संख्यामा मानिस बस्दा बालबालिका, वृद्धवृद्धा, गर्भवती र सुत्केरी महिलामा थप जोखिम देखिएको छ । 

भेरी नगरपालिकाका अनुसार दुई वटा पहिरोबाट एक सय ६८ घरधुरीका आठ सय ९३ जना प्रभावित भएका छन् । उनीहरूका लागि विभिन्न स्थानमा चार वटा अस्थायी शिविर सञ्चालन गरिएको छ । शिविरमा एक सय आठ  बालबालिका, ६ सुत्केरी र पाँच गर्भवती छन् । 

भेरी नगरपालिकाका विपद् व्यवस्थापन शाखाका प्रमुख यज्ञप्रसाद गौतमका अनुसार पीडित परिवारलाई खाना, लत्ताकपडा, स्वास्थ्य किटलगायत राहत सामग्री वितरण भइरहेको छ । जिल्ला प्रशासन कार्यालयले एकद्वार प्रणालीमार्फत राहत वितरण गरिरहेको छ । पहिरोले भूकम्पपछि निर्माण गरिएका १३ वटा अस्थायी टहरामा क्षति पुर्‍याएको छ । त्यसमध्ये १२ वटामा आंशिक क्षति पुगेको छ । ३१ वटा गोठमा क्षति पुगेको र ३१ पशुचौपाया मरेका छन् ।

देखिन थाल्यो स्वास्थ्य समस्या

पहिरोपछि विस्थापित भएर अस्थायी सेल्टरमा बसिरहेकामा स्वास्थ्य समस्या देखिन थालेको छ । दुषित खानेपानी र एउटै स्थानमा धेरै मानिस बस्नुपर्दा रुघाखोकी तथा ज्वरोका बिरामी बढेका छन् । प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार विस्थापित नागरिकको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राखेर परीक्षण तथा उपचार सुरु गरिएको छ । 

भेरी नगरपालिका, कर्णाली प्रदेश अस्पताल र विकास साझेदार संस्थाबाट स्वास्थ्यकर्मी परिचालन गरिएको छ । तर, ५० शय्याको जाजरकोट अस्पतालमा पर्याप्त चिकित्सक छैनन् । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख सुनिल पुनका अनुसार बिरामीको चाप बढे पनि जनशक्ति अभावमा नियमित सेवा सञ्चालनमै कठिनाइ भइरहेको छ । 

‘पहिरोका कारण घाइते तथा विस्थापित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेपछि जिल्ला अस्पतालमा पनि बिरामीको चाप बढेको छ,’ उनले भने, ‘सीमित जनशक्तिका कारण प्रभावकारी उपचार सेवा दिन कठिन भइरहेको छ ।’

भूगर्भविद्सहितको टोली प्रभावित क्षेत्रमा

पहिरो प्रभावित क्षेत्रको अध्ययन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली रिसाङ पुगेको छ । प्रतिनिधिसभा सदस्य खड्कबहादुर बुढासहित प्राधिकरणका उपसचिव सुरेश सुनार, भूगर्भविद् डा. प्रकाश पोखरेल, इन्जिनियर जगदिश विष्ट, मेटेरियोलोजिस्ट राजन लामिछानेसहित आठ सदस्यीय टोलीले स्थलगत अध्ययन गरिरहेको छ । 

टोलीले भेरी नगरपालिका–१, २, ३ र ४ का पहिरो प्रभावित तथा जोखिमयुक्त क्षेत्रको निरीक्षण गर्नेछ । प्रारम्भिक अध्ययनपछि दुई दिनभित्र प्रतिवेदन तयार गर्ने तयारी छ । प्रतिनिधिसभा सदस्य बुढाले प्रभावित नागरिकको तत्कालीन सुरक्षा र दीर्घकालीन पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने बताए । 

उनका अनुसार भूगर्भविद्को अध्ययनपछि मात्रै जोखिमयुक्त बस्ती स्थानान्तरण वा पुनःस्थापनाबारे निर्णय गर्नुपर्छ । सपना वलीजस्ता परिवारका लागि भने अहिले सबैभन्दा ठूलो प्रश्न सुरक्षित छानोको हो । भूकम्पपछि पुनर्निर्माणको प्रतीक्षामा रहेका उनीहरूलाई पहिरोले फेरि शून्यमा पुर्‍याएको छ । विपद्को दोहोरो मारमा परेका यी परिवारलाई राहत मात्र होइन, सुरक्षित बस्ती र स्थायी पुनःस्थापनाको सुनिश्चितता आवश्यक देखिएको छ ।

विपद्ले घेरिएको जाजरकोट   भूकम्पले घर चर्कायो  पहिरोले बासै खोस्यो

भारतमा विषाक्त मदिरा सेवनका कारण आठ जनाको

विपद्ले घेरिएको जाजरकोट   भूकम्पले घर चर्कायो  पहिरोले बासै खोस्यो

विपद्ले घेरिएको जाजरकोट  भूकम्पले घर चर्कायो पहिरोले

Leave a comment

Your email address will not be published. Required fields are marked *