आमाको नागरिकतामा छोराको हस्ताक्षर

सुर्खेत, ५ भदौ ।
रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) केशवप्रसाद ओलीका लागि बुधबारको दिन अरू दिनभन्दा विशेष रह्यो । सरकारी जिम्मेवारी सम्हालिरहेका उनले आफ्नै आमाको नागरिकताको प्रतिलिपिमा हस्ताक्षर गरेर आमालाई बुझाउने अवसर पाए ।
आमाको नागरिकतामा आफ्नै हातले हस्ताक्षर गर्न पाउँदा उनी भावुक मात्र भएनन्, खुसी र गर्वले भरिए । केशवले उक्त क्षणको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन्, ‘सधैँ नमिल्ने एक खुशीः आफ्नै आमाको नागरिकतामा यो छोराको आफ्नै हातले साइन गर्दा हात काप्यो, मन बहकायो । किनकि भारी खुसी र गर्व थियो ।’
यो भिडियो यति बेला सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ । उनको भिडियो धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले मन पराएका छन् । केशव यो क्षणका लागि संयोगका पात्र बने, जसले आफ्‌नी आमाको नागरिकतामा हस्ताक्षर गर्न पाउने अवसर विरलै मात्र प्राप्त गर्छन ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–७ की मोतिकला ओलीको नागरिकता केही समयअघि पानी परेर च्यातिएको थियो । सरकारी कामकाजका लागि नागरिकता आवश्यक परेपछि उनी प्रतिलिपि लिन बुधबार जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन् । त्यहाँ पुग्दा उनले कल्पना नगरेको खुसी पाइन् ।
नागरिकताको प्रतिलिपिका लागि आवश्यक प्रक्रिया पूरा गरेपछि मोतिकला सहायक सिडिओको कार्यकक्षमा पुगिन् । प्रतिलिपिमा हस्ताक्षर गर्ने सरकारी अधिकारी अरू कोही नभएर उनकै छोरा केशव थिए । सरकारी ओहोदामा बसेर आफ्नै आमाको नागरिकतामा हस्ताक्षर गरी उनलाई बुझाउन पाउँदा केशवको अनुहारमा खुसी र उमङ्गको रंग देखिन्थ्यो ।
केशवले आमालाई नागरिकता दिएको भिडियोले अहिले सामाजिक सञ्जालमा निकै चर्चा कमाएको छ । तर, यो कुनै प्रचार वा कन्टेन्ट बनाउन कैद गरिएको दृश्य भने होइन । सरकारी सेवामा रहेका एक छोराले आफ्नै जन्मदिने आमालाई नागरिकताको प्रतिलिपि हस्तान्तरणको क्षण अपवाद बाहेक सायदै विरलै भेटिन्छ ।
केशवको सरकारी सेवाको यात्रा पनि लोभलाग्दो र प्रेरणादायी छ । सुरुमा उनले चार्टर्ड एकाउन्टेन्ट (सीए) पढ्न थालेका थिए । करिब एक वर्षपछि त्यो पढाइ छाडेर व्यवस्थापन संकायमा स्नातक (बीबीएस) अध्ययन सुरु गरे । त्यसपछि लोकसेवा आयोगको तयारीमा जुटेका केशवले तीन महिनाको मेहनतमै २०७५ साल जेठमा खरिदारको रुपमा आफुलाई सरकारी सेवामा उभ्याए ।
उनको पहिलो नियुक्ति जिल्ला अदालत दाङमा भयो । खरिदारका रूपमा काम गर्दै उनले नायब सुब्बा पदमा पनि नाम निकाले र करिब पाँच वर्ष लेखापालका रूपमा काम गरे । निरन्तरको मेहनतपछि २०८० साल फागुनमा उनी शाखा अधिकृत बने । त्यसयता उनी आफ्नै गृह जिल्ला रुकुम पश्चिममा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत छन् । केशवको पारिवारिक पृष्ठभूमि पनि सामान्य छ । उनका बुबा विगत झण्डै ३० वर्षयता गाउँकै एक विद्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत छन् । आमा गृहिणी हुन् ।
दुई दिदीबहिनीका एक्ला भाइ केशवले सामान्य पारिवारिक अवस्थाबाट सरकारी सेवाको उच्च जिम्मेवारीसम्मको यात्रा तय गरेका हुन् । विद्यालयमा कार्यालय सहयोगीका रूपमा जीवन बिताएका बुबाले हुर्काएको छोरा अहिले जिल्लाको प्रशासनिक जिम्मेवारीमा पुगेपछि परिवारमा खुसी छाउनु स्वाभाविक हो ।
त्यसमाथि आफ्नै आमाको नागरिकतामा सहायक सिडिओका रूपमा हस्ताक्षर गर्ने अवसरले केशवका लागि त्यो खुसी र सौभाग्यलाई झनै विशेष बनाएको छ । सरकारी सेवा नै रोज्नुको कारणबारे ओली भन्छन्, ‘सरकारी सेवा वास्तवमै राम्रो छ । यसबाट देश र नागरिकको प्रत्यक्ष सेवा गर्न पाइन्छ । राज्यबाट तलब लिएर पनि नागरिकको सेवा गर्न पाउनु हाम्रा लागि ठूलो गर्व र खुसीको कुरा हो ।’
केशवका शब्दमा आमाको नागरिकतामा हस्ताक्षर गरेर दिनुको त्यो क्षण एउटा प्रशासनिक प्रक्रिया मात्र थिएन, लामो संघर्षपछि पाएको जिम्मेवारी, आमाबुबाको योगदान र छोराले हासिल गरेको सफलता र खुशीको क्षण थियो ।
आमाको नागरिकतामा छोराको हस्ताक्षर

‘समस्याको खाल्डो देख्ने होइन, प्राथमिकता दिने हो’ 

आमाको नागरिकतामा छोराको हस्ताक्षर

सार्वजनिक संस्थानका कर्मचारीलाई सर्तसहित तलबभत्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *