खजुराको क्यान्सर अस्पतालमा नित्यपूजा र आरोग्य प्रार्थना अभियान सुरु

बाँके, १ भदौं ।

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नित्यपूजा तथा आरोग्य प्रार्थना अभियान सुरु गरिएको छ । अस्पताल सञ्चालनमा आएको करिब १२ वर्षपछि अस्पताल परिसरमा रहेको मन्दिरमा धार्मिक अनुष्ठानसहित नित्यपूजा, हवन तथा आरोग्य प्रार्थना गर्ने अभियान औपचारिक रूपमा सुरु गरिएको हो। अभियानको शुभारम्भ संकल्पकर्ता सन्त श्री दीनदयालजी महाराजले विधिपूर्वक पूजा, हवन तथा आरोग्य प्रार्थना गरी गरेका थिए ।

गुरुपुरोहितबाट मंगलवाचनसहित नित्यपूजा गरी अस्पतालमा उपचाररत बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको सन्त दीनदयालजी महाराजले जानकारी दिए । उनका अनुसार परोपकारलाई मुख्य उद्देश्य बनाएर स्थापना गरिएको अस्पताल निर्माणमा देशभरका विभिन्न धर्म तथा समुदायमा आस्था राख्ने श्रद्धालुको योगदान रहेको छ ।

महायज्ञमार्फत स्थानीयवासीबाट संकलित दानबाट निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको अस्पतालले हाल क्यान्सरपीडित तथा आर्थिक रूपमा विपन्न नागरिकलाई उपचार सेवा प्रदान गर्दै आएको उनले बताए ।

सन्त दीनदयालजी महाराजले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बिरामीको सेवामा समर्पित भगवानका दूतका रूपमा उल्लेख गर्दै अस्पतालको मूल उद्देश्य सेवा र परोपकार रहेको बताए । उपचारसँगै बिरामीको आत्मबल बढाउने वातावरण निर्माण गर्नु पनि आवश्यक रहेको उनको भनाई छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले क्यान्सर उपचारमा औषधि तथा चिकित्सकीय सेवासँगै बिरामीको आत्मबल, आत्मविश्वास र सकारात्मक सोचको महत्वपूर्ण भूमिका रहने बताए । अस्पताल परिसरमा नियमित गरिने प्रार्थना तथा आध्यात्मिक गतिविधिले बिरामीमा आत्मबल र सकारात्मक ऊर्जा बढाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

अभियानअन्तर्गत अबदेखि अस्पताल परिसरस्थित मन्दिरमा हरेक दिन विधिपूर्वक नित्यपूजा, आरोग्य प्रार्थना तथा बिरामीको स्वास्थ्यलाभको कामना गरिनेछ। बिरामीको आत्मविश्वास अभिवृद्धिका लागि विभूति, मन्त्र उच्चारण तथा आशीर्वचन प्रदान गर्ने व्यवस्था पनि गरिने सन्त दीनदयालजी महाराजले जानकारी दिए ।

नित्यपूजा तथा आरोग्य प्रार्थनामा उपचाररत बिरामीका कुरुवा तथा आफन्तलाई समेत सहभागी गराइनेछ । साथै, मन्दिर परिसरमा नियमित आरोग्य योग सञ्चालन गर्ने तयारीसमेत भइरहेको उनले बताए । नित्यपूजा शुभारम्भ कार्यक्रममा अस्पतालको मातृसंस्था प्रखर परोपकार मिशन नेपालका अध्यक्ष महेन्द्र मल्ल, अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराई, बाल क्यान्सर रोग विशेषज्ञ डा. सुभास मेहतासहित चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य सरोकारवालाको सहभागिता थियो ।

कार्यक्रममा लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठ, खजुराका धार्मिक अगुवा शिवप्रसाद सुवेदी, समाजसेवी रामचन्द्र बोगटी, पूर्णचन्द्र उपाध्यायलगायतको उपस्थिति थियो । अस्पतालमा उपचारसँगै आध्यात्मिक तथा मनोबल अभिवृद्धिका गतिविधिलाई अघि बढाउने उद्देश्यले सुरु गरिएको अभियानले उपचाररत बिरामी र उनीहरूका परिवारमा आशा, आत्मबल तथा सकारात्मक वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *