विदेश जाने सोच बदल्दै युवा बाँकेमा फस्टाउँदै व्यवसायिक फलफूल खेती

बाँके, १ भदौ ।
रोजगारी र राम्रो आम्दानीको खोजीमा युवाहरू विदेशिने क्रम बढिरहेका बेला बाँकेका केही युवाले भने आफ्नै माटोमा भविष्य खोज्न थालेका छन् । परम्परागत खेतीबाट अपेक्षित आम्दानी नभएपछि आधुनिक र व्यावसायिक कृषि रोज्ने युवाको संख्या बढ्दै जाँदा बाँकेमा फलफूल खेती नयाँ सम्भावनाका रूपमा विकसित हुँदै गएको छ ।
आँप, अम्बा, केरा, ड्रागन फ्रुट, मेवा र लिचीजस्ता फलफूलको व्यावसायिक खेतीमा किसानको आकर्षण बढेको छ । फलफूल खेतीबाट किसानले आम्दानीसँगै स्थानीयस्तरमा रोजगारीका अवसरसमेत सिर्जना गर्न थालेका छन् ।
बाँकेमा करिब ५५ हजार ८ सय २५ हेक्टर खेतीयोग्य जमिन रहेकोमा ४४ हजार ९ सय २२ हेक्टर क्षेत्रमा खेती भइरहेको छ । कृषि ज्ञान केन्द्र बाँकेको तथ्याङ्कअनुसार जिल्लामा करिब १ हजार ४ सय हेक्टर क्षेत्रफलमा फलफूल खेती हुँदै आएको छ । पछिल्लो समय किसानहरू परम्परागत अन्नबालीसँगै आँप, केरा, अम्बा, ड्रागन फ्रुट, मेवा र लिचीको व्यावसायिक खेतीतर्फ आकर्षित भइरहेका छन् ।
एक पटक बिरुवा रोपेपछि वर्षौंसम्म उत्पादन लिन सकिने र बजारमा फलफूलको मागसमेत राम्रो रहेकाले युवाको रुचि यसतर्फ बढेको किसानहरू बताउँछन् । नेपालगञ्ज उपमहानगरपालिका–१९ का सुनिल बर्माले २०७८ सालदेखि परम्परागत खेती छाडेर व्यावसायिक अम्बा खेती गर्दै आएका छन् ।
बर्मा भन्छन “परम्परागत खेतीभन्दा फलफूल खेतीबाट राम्रो आम्दानी लिन सकिने सम्भावना देखेपछि अम्बा खेती सुरु गरेको हुँ । मेहनत र उचित व्यवस्थापन गर्न सके आफ्नै ठाउँमा बसेर पनि राम्रो आम्दानी गर्न सकिने रहेछ ।”
यस्तै अर्का कृषक रामलाल बर्माले फलफूल खेतीमा सम्भावना देखिए पनि सुरुवाती लगानी, प्राविधिक ज्ञान, रोग–किराको व्यवस्थापन र बजारको सुनिश्चितता किसानका लागि चुनौतीका रूपमा रहेको बताउनु हुन्छ । त्यसैले वैदेशिक रोजगारीमा जाने युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न सरकारले अनुदान, तालिम, प्रविधि र आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने व्यवसायी रामलाल बर्माको माग छ ।
बर्मा भन्छन “फलफूल खेतीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना छ। युवालाई विदेश जानबाट रोक्न कृषि क्षेत्रमा आकर्षित गर्ने गरी अनुदान, तालिम र बजारको व्यवस्था गर्न सरकारको विशेष ध्यान जानुपर्छ ।” पछिल्लो समय बाँकेमा फलफूल खेतीको क्षेत्रफल निरन्तर विस्तार भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
किसानले समयमै सम्पर्क गरे कृषि ज्ञान केन्द्रका प्राविधिक टोलीले खेतबारीमै पुगेर रोग–किरा व्यवस्थापन, उत्पादन वृद्धि र आवश्यक प्राविधिक परामर्श दिँदै आएको छ । कृषि ज्ञान केन्द्र बाँकेकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्मा भन्छन “फलफूल खेतीतर्फ किसानको आकर्षण बढिरहेको छ । प्राविधिक समस्या परे किसानले सम्पर्क गरेमा खेतबारीमै पुगेर आवश्यक परामर्श र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएका छौँ । आगामी दिनमा फलफूल खेती अझ विस्तार हुने अपेक्षा गरेका छौँ ।”
फलफूल खेती विस्तारसँगै यसको प्रभाव किसानको आम्दानीमा मात्रै सीमित छैन । बगैँचा व्यवस्थापन, गोडमेल, सिँचाइ, फल टिप्ने, प्याकेजिङ तथा बजारसम्म पुर्याउने काममा स्थानीय श्रमिकको आवश्यकता पर्ने भएकाले यसले गाउँमै रोजगारी सिर्जना गर्ने सम्भावनासमेत बढाएको छ ।
तर उत्पादन बढ्दै गएसँगै बजार व्यवस्थापन, उचित मूल्य र भण्डारणको समस्या समाधान गर्नु पनि आवश्यक देखिन्छ । किसानले उत्पादन गरेको फलफूलले बजारमा उचित मूल्य पाउने वातावरण बनाउन सके व्यावसायिक खेतीप्रति अझ बढी आकर्षण बढ्न सक्ने कृषि क्षेत्रका जानकारहरू बताउँछन् ।
बाँकेको कृषि क्षेत्र अब केवल परम्परागत अन्नबालीमा सीमित नरही उच्च मूल्य र बजार सम्भावना भएका फलफूलतर्फ विस्तार हुँदै गएको छ । प्राविधिक सेवा, अनुदान, तालिम, सिँचाइ, गुणस्तरीय बिरुवा र प्रभावकारी बजार व्यवस्थापनमा राज्यले थप सहजीकरण गर्न सके फलफूल खेती जिल्लाको आयआर्जन र रोजगारीको बलियो आधार बन्न सक्छ ।
युवालाई स्वदेशमै रोक्ने बहस भइरहेका बेला बाँकेका फलफूल बगैँचाले एउटा सन्देश पनि दिएको छ—अवसर खोज्न सधैँ विदेश नै जानुपर्छ भन्ने छैन, सम्भावना आफ्नै माटोमा पनि हुन्छ । राज्यको साथ, किसानको मेहनत र बजारको सुनिश्चितता जोडिन सके व्यावसायिक फलफूल खेती युवा पुस्ताका लागि आकर्षक उद्यम बन्ने देखिन्छ ।






