सिङ्गापुरमा नेपाल लिकर्सका सीईओ अभनिश तुलाधर सम्मानित, ‘सीईओ अफ द इयर’ अवार्ड प्राप्त

काठमाडौं, १९ साउन ।
नेपाल लिकर्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभनिश बिर सिंह तुलाधर सिङ्गापुरमा आयोजित प्रतिष्ठित ‘एशिया बिजनेश लिडर्स अवार्ड्स’ अन्तर्गत ‘सीईओ अफ द इयर’ अवार्डबाट सम्मानित हुनुभएको छ। कम्पनीले यस उपलब्धिलाई नेपाल लिकर्सका साथै समग्र नेपाली कर्पोरेट क्षेत्रका लागि गौरवपूर्ण क्षणका रूपमा लिएको छ।
हरेक वर्ष आयोजना हुने ‘एशिया बिजनेश लिडर्स अवार्ड्स’मा नेतृत्व क्षमता, रणनीतिक नवप्रवर्तन तथा सम्बन्धित उद्योगमा रूपान्तरणकारी योगदान पुर्याउने एशियाका उत्कृष्ट व्यवसायिक नेतृत्वकर्तालाई सम्मान गरिन्छ। यस वर्षको ‘सीईओ अफ द इयर’ सम्मानबाट तुलाधर सम्मानित हुनु नेपाली व्यवसायिक नेतृत्वको अन्तर्राष्ट्रिय पहिचानका रूपमा समेत हेरिएको छ।
नेपाल लिकर्समा डाइरेक्टर अफ अपरेसन्सका रूपमा सफलतापूर्वक जिम्मेवारी निर्वाह गरेपछि तुलाधर प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त हुनुभएको हो। युवा पुस्ताका ऊर्जाशील नेतृत्वकर्ताका रूपमा परिचित उहाँले अमेरिकाको युनिभर्सिटी अफ रिचमण्ड तथा फ्रान्सको ईएसएसईसी बिजनेस स्कुलबाट उच्च शिक्षा हासिल गर्नुभएको छ। अन्तर्राष्ट्रिय शैक्षिक अनुभव र व्यावहारिक व्यवस्थापकीय दक्षतालाई संयोजन गर्दै उहाँले कम्पनीमा आधुनिक सोच, नवप्रवर्तन र दूरदर्शी नेतृत्व स्थापित गर्न सफल भएको कम्पनीले जनाएको छ।
अवार्ड प्राप्त गरेपछि प्रतिक्रिया व्यक्त गर्दै तुलाधरले यो सम्मान आफ्नो व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण नेपाल लिकर्स परिवारको सामूहिक मेहनतको प्रतिफल भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “यो प्रतिष्ठित सम्मान प्राप्त गर्न पाउँदा म अत्यन्तै गौरवान्वित छु। यो सफलता मेरो मात्र नभई सम्पूर्ण नेपाल लिकर्स परिवारको समर्पण, लगनशीलता र अथक मेहनतको परिणाम हो। म यो सम्मान हाम्रा संस्थापक तथा मेरा पूज्य हजुरबुबा स्वर्गीय भक्त वीर सिंह तुलाधरको दूरदृष्टि, प्रेरणा र मार्गदर्शनका साथै मेरो परिवारको निरन्तर साथलाई समर्पित गर्दछु। आगामी दिनमा पनि नेपाल लिकर्सलाई अझ नयाँ उचाइमा पुर्याउन हामी प्रतिबद्ध रहनेछौँ।”
नेपाल लिकर्सले श्री तुलाधरलाई प्राप्त यो अन्तर्राष्ट्रिय सम्मानले कम्पनीको प्रतिष्ठा थप उकास्नुका साथै नेपाली उद्योग–व्यवसायको क्षमता विश्वसामु उजागर गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। कम्पनीले उहाँको नेतृत्वमा आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने अपेक्षा समेत गरेको छ।
वि.सं. २०३६ मा स्थापित नेपाल लिकर्स प्रा.लि. नेपालका अग्रणी मदिराजन्य पेय पदार्थ उत्पादक कम्पनीमध्ये एक हो। कम्पनीले उच्च गुणस्तरीय मदिराजन्य पेय पदार्थको उत्पादन, मिश्रण तथा वितरण गर्दै आएको छ। विश्वप्रसिद्ध डियाजियोको फ्रान्चाइज साझेदारका रूपमा नेपाल लिकर्सले ‘सिग्नेचर व्हिस्की’ र ‘स्मिरनोफ भोड्का’ लगायतका अन्तर्राष्ट्रिय ब्रान्ड नेपाली बजारमा उत्पादन तथा वितरण गर्दै आएको छ। गुणस्तर, नवप्रवर्तन र व्यावसायिक नैतिकतालाई प्राथमिकतामा राख्दै कम्पनीले नेपाली उपभोक्तामाझ आफ्नो विश्वसनीयता स्थापित गरेको जनाएको छ।





