कर्णालीका ६ अदालतको कार्यसम्पादन तीन वर्षको अवधिमा किनारा लागे १८ हजार मुद्दा

ओम शाही
सुर्खेत, ६ साउन ।
कर्णाली प्रदेशका ६ अदालतले तीन आर्थिक वर्षको अवधिमा १८ हजार बढी मुद्दा किनारा लगाएका छन् । उच्च अदालत सुर्खेत र मातहत पाँच जिल्लाका जिल्ला अदालतले पछिल्ला तीन आर्थिक वर्षमा १८ हजार चार सय ९२ मुद्दा फछ्र्यौट गरेका हुन् । उच्च अदालत सुर्खेतसहित मातहतका सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेख जिल्ला अदालतहरुले यो संख्यामा मुद्दाहरु फछ्र्यौट गरेका हुन् ।
उच्च अदातल सुर्खेतले आर्थिक वर्ष २०८०/०८१ मा नौ सय १६ मुद्दा, २०८१/०८२ मा आठ सय ३२ मुद्दा र २०८२/०८३ मा नौ सय १५ मुद्दा गरी जम्मा दुई हजार ६ सय ६३ वटा फछ्र्यौट गरेको उच्च अदालत सुर्खेतका उप–रजिष्ट्रार तथा प्रवक्ता प्रेमप्रकाश थापाले जानकारी दिए ।
उनका अनुसार जाजरकोट जिल्ला अदालतले तीन आर्थिक वर्ष एक हजार एक सय ७२ मुद्दा फछ्र्यौट गरेको छ । जाजरकोट जिल्ला अदालतले आर्थिक वर्ष २०८०/०८१ मा तीन सय ४२ मुद्दा, २०८१/०८२ मा चार सय ११ र २०८२/०८३ मा चार सय १९ मुद्दा फछ्र्यौट गरेको छ ।
यस्तै, दैलेख जिल्ला अदालतले आर्थिक वर्र्ष २०८०/०८१ मा चार सय ६२ मुद्दा, २०८१/०८२ मा पाँच सय ३३ मुद्दा र २०८२/०८३ मा पाँच सय ४४ मुद्दा फछ्र्यौट गरेको छ । दैलेख जिल्ला अदालतले पछिल्ला तीन आर्थिक वर्र्षमा कुल एक हजार पाँच सय ३९ मुद्दा फछ्र्यौट गरेको छ । रुकुम पश्चिम जिल्ला अदालतले तीन आर्थिक वर्षमा दुई हजार ८० मुद्दा फछ्र्यौट गरेको छ । जसमा आर्थिक वर्र्ष २०८०/०८१ मा ६ सय २० मुद्दा, २०८१/०८२ मा ६ सय ७९ मुद्दा र आर्थिक वर्र्ष २०८२/०८३ मा सात सय ८१ मुद्दा किनारा लागेका छन् ।
त्यस्तै, सल्यान जिल्ला अदालतबाट पछिल्ला तीन आर्थिक वर्र्षमा दुई हजार दुई सय ६४ मुद्दा फछ्र्यौट भएका छन् । आर्थिक वर्र्ष २०८०/८१ मा ७२४ मुद्दा, २०८१/८२ मा ७३१ मुद्दा र २०८२/०८३ मा ८०९ मुद्दा सल्यान अदालतले फछ्र्यौट गरेको हो । सुर्खेत जिल्ला अदालतले आठ हजार सात सय ४४ मुद्दा पछिल्ला तीन आर्थिक वर्र्षमा किनारा लगाएको छ ।
जसमा आर्थिक वर्र्ष २०८०/०८१ मा दुई हजार सात सय १६ मुद्दा, २०८१/०८२ मा दुई हजार नौ सय १२ मुद्दा र २०८२/८३ मा तीन हजार एक सय ४६ मुद्दा फछ्र्यौट भएका छन् । आर्थिक वर्र्ष २०८२/०८३ मा उच्च अदालत तथा मातहतका जिल्ला अदालतहरुमध्ये प्रतिशतका हिसाबले सबैभन्दा धेरै मुद्दा फछ्र्यौट जिल्ला अदालत जाजरकोटले गरेको छ ।
मुद्दाका आधारमा जाजरकोट अदालतले ८९.४ प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो । उच्च अदालत सुर्खेतले ८२.५ प्रतिशत, दैलेख जिल्ला अदालतले ७९.८ प्रतिशत, सल्यान जिल्ला अदालतले ७३.४ प्रतिशत, सुर्खेत जिल्ला अदालतले ६३.२ प्रतिशत मुद्दा गत आर्थिक वर्र्षमा फछ्र्यौट गरेका छन् । गत वर्ष सबैभन्दा कम मुद्दा फछ्र्यौट जिल्ला अदालत सुर्खेतले गरेको छ । जनशक्ति अभावका कारण सुर्खेत जिल्ला अदालतले अपेक्षाकृत न्यायिक निरुपण गर्न नसकेको जनाइएको छ ।
उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीका अनुसार गत आर्थिक वर्र्षमा उच्च अदालतबाट एक सय २६ वटा मुद्दा मेलमिलापको माध्यमबाट फछ्र्यौट गरिएको छ । मेलमिलापका लागि पठाईएका ६ सय ९३ मुद्दामध्ये एक सय २६ वटा फछ्र्यौट भएको उनले जानकारी दिए ।
उच्च अदालत सुर्खेतमा गत आर्थिक वर्र्ष सबैभन्दा धेरै जबर्जस्ती करणीका एक सय ६९ मुद्दा परेका थिए । तीमध्ये एक सय ५४ फछ्र्यौट भएका छन् भने १५ वटा बाँकी रहेका छन् । दोस्रोमा लागुऔषध सम्बन्धिका एक सय २० मुद्दामा ८१ वटा फछ्यौट हुँदा ३९ मुद्दा प्रक्रियामा छन् ।
डिजिटल अभिलेखमा १२ हजार मुद्दाका मिसिल
उच्च अदालत सुर्खेतले हालसम्म १२ हजार बढी मुद्दाका मिसिललाई डिजिटल अभिलेखिकरण गरेको छ । अदालतले उपलब्ध गराएको तथ्यांक अनुुसार हालसम्म १२ हजार चार ६५ मुद्दाका मिसिललाई डिजिटल माध्ययमबाट सर्वव्यापी पहुँचमा पुर्याइएको छ । जसमा हालसम्म १० हजार ६ सय ९० मुद्दाका मिसिल कम्प्यूटरमा इन्ट्री गरिएको छ ।
अदालतका अनुसा एक हजार सात सय ७५ मुद्दाका मिसिल कम्यूटरमा इन्ट्री हुन बाँकी छन् । गत आर्थिक वर्ष २०८२/०८३ मा मात्रै तीन हजार एक सय ८७ मुद्दाका मिसिललाई स्क्यान गरी डिजिटल रुप दिइएको छ । हालसम्म पाँच हजार दुई सय ८० मुद्दाका मिसिल स्क्यान भएका छन् । अब अदालतसँग सात हजार एक सय ८५ मुद्दाका मिसिल स्क्यान हुन बाँकी छन् ।






