‘खेलकुदले समाजलाई सबल र सकारात्मक बनाउँछ’

बाँके, २९ असार । 
नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरूले खेलकुदले सकारात्मक समाज निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । यहाँस्थित महेन्द्र पुस्तकालयले आज आयोजना गरेको ‘खेलकुदले बनाउने समाज’ विषयक विमर्श कार्यक्रममा वक्ताहरूले खेलकुद केवल मनोरञ्जन वा प्रतिस्पर्धामात्र नभएर अनुशासित र सबल समाज बनाउने बलियो माध्यम भएको कुरामा जोड दिए ।
कार्यक्रममा ओलिम्पियन तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुरेन्द्र हमालले खेलकुदको पहिलो शर्त नै अनुशासन भएको बताए । राजनीति र खेलकुदको समय पालनलाई तुलना गर्दै उनले भने, “राजनीतिमा जति ढिलो पुग्यो, त्यति ठूलो मान्छे मानिने गलत संस्कार छ, तर खेलमा तोकिएको समयभन्दा पाँच मिनेटमात्र ढिलो भएमा खेलबाटै ‘वाकआउट’ दिइन्छ ।”
आफ्नो व्यक्तिगत जीवनको अनुभव सुनाउँदै हमालले आफू क्यान्सर रोगबाट पीडित भए पनि खेल जीवनले सिकाएको सकारात्मक ऊर्जा र दृढ इच्छाशक्तिका कारण रोगलाई जित्न कहीँ न कहीँ भूमिका खेलेको उल्लेख गरे ।
अर्का खेलाडी समसुद्धिन सिद्दीकीले खेलकुदले समाजमा स्वस्थ र सकारात्मक प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने बताए । उनले आफ्नो पुरानो अनुभव स्मरण गर्दै भने, “खेलकुदले कसैको खुट्टा तान्न होइन, बरु अरूभन्दा अघि बढेर कसरी सफल हुने भन्ने सिकाउँछ ।” पूर्वखेलाडी शान्ति सिंहले महिलाहरूलाई सबल र आत्मनिर्भर बनाउन खेलकुदले ठूलो भूमिका खेलेको उल्लेख गरे ।
नेपालगन्जको पहिलो पुस्ताको महिला खेलाडीका रूपमा आफ्ना सुरुआती दिनहरू सम्झँदै उनले भने, “सुरुका दिनमा महिलालाई खेलकुदमा सहभागी हुन समाजमा निकै ठूलो समस्या थियो तर, खेलकै माध्यमबाट देशविदेशमा गएर मेडल जितेर फर्किएपछि समाजको दृष्टिकोण बदलियो ।” खेलकुदकै कारण महिलाहरूको सहभागितालाई समाजले सामान्य रूपमा लिन थालेको र यसले महिलाहरूलाई आर्थिक रूपमा समेत सबल बनाएको सिंहको भनाइ थियो । उनले खेलकुदले महिला पनि केही गर्न सक्छन् भन्ने सकारात्मक सन्देश र उदाहरण दिने मौका प्रदान गरेको बताए  ।
‘खेलकुदले समाजलाई सबल र सकारात्मक बनाउँछ’

खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण

‘खेलकुदले समाजलाई सबल र सकारात्मक बनाउँछ’

बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *