१५ वर्षदेखि अवैध रूपमा सञ्चालन हुँदै आएको औषधि पसलमा छापा, ४० प्रकारका औषधिसहित सञ्चालक पक्राउ

बाँके ,१९ असार ।
बाँकेको जानकी गाउँपालिका–१ जोगा गाउँमा करिब १५ वर्षदेखि अवैध रूपमा सञ्चालन हुँदै आएको औषधि पसलमा सरकारी टोलीले छापा मारेर सञ्चालक ६३ वर्षीय पञ्चलाल भुजुवालाई पक्राउ गरेको छ।
औषधि व्यवस्था विभाग, नेपालगञ्जका फार्मेसी अधिकृत निरीक्षक दिपेन्द्र कुमार साहका अनुसार भुजुवाले आफ्नै घरभित्र कुनै कानुनी अनुमति तथा दर्ताबिना औषधि पसल सञ्चालन गर्दै आएका थिए। छापामार कारबाहीका क्रममा पसलबाट करिब ४० प्रकारका औषधिसहित तीन कार्टुन औषधि बरामद गरिएको छ।
प्रारम्भिक अनुसन्धानबाट भुजुवासँग स्वास्थ्यसम्बन्धी कुनै मान्यताप्राप्त शैक्षिक योग्यता वा औषधि बिक्री–वितरण गर्ने कानुनी अनुमति नरहेको खुलेको विभागले जनाएको छ।
स्थानीयबाट चिकित्सकीय योग्यता नहुँदा पनि बिरामीको उपचार गर्ने तथा अवैध रूपमा औषधि बिक्री–वितरण गरिरहेको उजुरी प्राप्त भएपछि औषधि व्यवस्था विभाग, नेपालगञ्जका फार्मेसी अधिकृत निरीक्षक दिपेन्द्र कुमार साह र निरीक्षक अमन चौधरीको नेतृत्वमा सुरक्षाकर्मीसहितको टोलीले छापा मारेको थियो।
कारबाहीपछि भुजुवालाई औषधि ऐनविपरीतको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। बरामद गरिएका औषधिको स्रोत, गुणस्तर, म्याद तथा बिक्री–वितरणको प्रक्रियाबारे थप अनुसन्धान भइरहेको औषधि व्यवस्था विभागले जनाएको छ।
विभागले स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधि बिक्री–वितरण कानुनी प्रक्रिया र दक्ष जनशक्तिमार्फत मात्र हुनुपर्ने उल्लेख गर्दै यस्ता अवैध गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।



