एमयूको रजिष्टारमा पौडेल नियुक्त
सुर्खेत, १४ असोज ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को रजिष्टारमा डा. नारायणप्रसाद पौडेल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पौडेललाई मंगलबार रजिष्टारमा नियुक्त गरेको विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले पुष्टि गरे । नवनियुक्त रजिष्टार पौडेलले काठमाडौंँ विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् ।
उनी नेपाल कम्प्युष्टि पार्टी (नेकपा) निकट हुन् । उनलाई साविक माओवादीको कोटाबाट रजिष्टार नियुक्त गरिएको विश्वविद्यालय स्रोतले जनाएको छ । विश्वविद्यालयका नवनियुक्त रजिष्टारमा डा. पौडेल वीरेन्द्रनगर–८ कालुञ्चोकका निवासी हुन् । विगत ६ वर्षदेखि उनी करारमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा व्यवस्थापन संकायको प्राध्यापकको रुपमा कार्यरत थिए ।
यसअघि पौडेलले मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तरगतको (मुसुम) मा निर्देशकको रुपमासमेत काम गरिसकेका छन् । त्यस्तै उनले मध्यपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको एमफील÷पीएचडी कार्यक्रमको निर्देशकको रुपमा पनि काम गरेका थिए । रजिष्टारको नियुक्तीसँगै मध्यपश्चिमाञ्चल विश्वविद्यालयको विभिन्न संकायको डीन नियुक्तीको बाटोसमेत खुलेको छ ।
रजिष्टार नियुक्त नभएका कारण विश्वविद्यालयका सबै संकायका डीनहरु नियुक्त हुन सकेका छैनन् । रजिष्टार पद रित्त रहेको झण्डै तीन महिनापछि पौडेल रजिष्टार भएका हुन् । यसअघिका रजिष्टार डा.महेन्द्रकुमार मल्लको असार २९ समयावधि सकिएको थियो । तर तत्कालिन विश्वविद्यालयका पदाधिकारीले मल्ललाई जिम्मेवारीबाट हटाएका थिए । मल्लपछि सहप्राध्यापक यामबहादुर कार्कीले निमित्त रजिष्टारको रुपमा काम गर्दे आएका थिए ।





