इलाका प्रशासन कार्यालय रास्काेट बाट सेवा सुविधा नलिने भन्दै स्थानीयको ज्ञापनपत्र
हस्त चाैलागाँई
कालिकोट ,१६ बैशाख ।
कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीयवासीले प्रशासनिक सेवा सहज रूपमा पाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय कालिकोटमा ज्ञापनपत्र बुझाएका छन्।
स्थानीयका अनुसार नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी लगायतका सेवा हालसम्म जिल्ला प्रशासन कार्यालय कालिकोटबाट सहज रूपमा प्राप्त हुँदै आएको थियो। तर मन्त्रिपरिषद्को निर्णयअनुसार इलाका प्रशासन कार्यालय रास्कोट स्थापना भएपछि ती सेवा अब रास्कोटबाट लिनुपर्ने व्यवस्था गरिएपछि स्थानीयले असन्तुष्टि जनाएका हुन्।
ज्ञापनपत्रमा सान्नी त्रिवेणीका नागरिकलाई रास्कोट पुग्न भौगोलिक कठिनाइ, लामो दूरी, यातायात असुविधा तथा अतिरिक्त खर्च व्यहोर्नुपर्ने अवस्था रहेको उल्लेख गरिएको छ। साथै शिक्षा, स्वास्थ्य, व्यापारिक केन्द्र तथा सडक सञ्जालका हिसाबले पनि कालिकोट सदरमुकाम मान्म नै उपयुक्त केन्द्र रहेको जनाइएको छ।
स्थानीयले विगतमा जस्तै जिल्ला प्रशासन कार्यालय कालिकोटबाटै सम्पूर्ण प्रशासनिक सेवा उपलब्ध गराउन माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।





