कर्णालीबाट छानिए चार महिलासहित पाँच समानुपातिक सांसद
सुर्खेत, ३ चैत ।
कर्णाली प्रदेशबाट प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फ चार महिलासहित पाँच जना सांसद सिफारिस भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीले एक/एक जनालाई समानुपातिक सांसद बनाएका हुन् ।
निर्वाचन आयोगमा सिफारिसमा परेका पाँच मध्ये एक पुरुष र चार महिला छन् । प्रत्यक्षमा एक सय २५ र समानुपातिकतर्फ ५१ लाख ८३ हजार चार सय ९३ मत प्राप्त गर्दै पहिलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कर्णालीलाई समानुपातिक एक सिट मात्रै दिएको छ ।
देशभरबाट २७ जना सांसद छान्दा कर्णालीबाट सुर्खेतकी सीता बादी दलित महिला क्लस्टरबाट सिफारिसमा परेकी हुन् । यस्तै, नेकपा एमालेले कर्णालीबाट कालीकोटकी यशुदाकुमारी बराललाई सांसद बनाएको छ । उनलाई एमालेले महिला खसआर्यतर्फ पिछडिएको क्षेत्रबाट चयन गरेको हो ।
नेकपाले पार्वती विश्वकर्मालाई सांसद बनाएको छ । जाजरकोटकी पार्वतीलाई नेकपाले दलित महिला र पिछडिएको क्षेत्रबाट सांसदमा सिफारिस गरेको हो । नेपाली कांग्रेसले कालीबहादुर सहकारीलाई सांसद बनाएको छ । उनी कालीकोटबाट खसआर्य पुरुषको कोटमा पिछडिएको क्षेत्रबाट सांसद बनेका हुन् । यस्तै, हर्कराज साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सुर्खेतकी राधिका रम्तेललाई सांसदमा सिफारिस गरेको छ । उनलाई दलित महिला क्लस्टरबाट सिफारिस गरिएको हो ।




