इनिसा विक मृत्यु प्रकरण पोष्टमार्टम रिपोर्टप्रति आश्वस्त छैनन् पीडित परिवार

ओम शाही
सुर्खेत ,२८ फाल्गुन ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१, की १६ वर्षीया इनिसा विक शनिबार (२३ फागुन) बिहान ६ बजे घरबाट विद्यालय जान भन्दै निस्किइन । गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर बस्दै आएकी उनी उषा बालबाटिका माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन । त्यसदिन उनी प्रयोगात्मक कक्षामा शिक्षकहरुले बोलाएको भन्दै घर छाडेकी थिइन । इनिसाकी आमा तिला विकले शनिबारको दिन विद्यालय नजान आग्रह गरिन । तर सरहरुले बोलाउनु भएको छ, चाँडै आइहाल्छु भन्दै इनिसा विद्यालय जान घरबाट हिँडिन । तिलाले बिहान ८ बजेपछि इनिसालाई फोन गरिन । तर उनको फोन स्वीच अफ थियो । बारम्बार फोन गर्दा बिना खबर मोवाइल अफ भएपछि तिलाले विद्यालयमा फोन गरिन् । विद्यालयले उनी नआएको खबर गर्यो । तिलालाई लाग्यो, छोरी साथीसँग गइ होली ! तर त्यसको केही समयपछि तिलाको मोवाइलमा एक अपरिचत नम्बरबाट फोन आयो । उक्त नम्बरबाट फोन गर्ने अपरिचित व्यक्तिले तिलालाई सोधे, ‘तपाईँ इनिसाको ममी हो ?’ उक्त व्यक्तिलाई तिलाले आफु नै इनिसाको आमा भएको सुनाइन । ति व्यक्तिले आत्तिएर भने, ‘तपार्इँकी छोरी सहिदपार्कको जंगलमा अचेत अवस्थामा छिन्, तुरुन्त आउनुस् ।’ एक्कासी छोरी अचेत भएको खबर पाउनासाथ तिला ति व्यक्तिले भनेको स्थानमा हतारहतार पुगिन । त्यहाँ पुग्दा तिलाका आँखा अघि नसोचेको घटना घटेको थियो । इनिसा रक्ताम्मे शरीर लिएर अचेत अवस्थामा ढलेकी थिइन । कपाल लुछिएको, जुत्ता र मोजा अलगअलग अवस्थामा थिए । इनिसालाई यस्तो अवस्थामा देखेपछि आफन्तले तत्काल प्रहरीलाई खबर गरे । नतमस्तक सुतेकी इनिसाको शरीरमा कपडा थिएन । उनको शरिर कालो ज्याकेटले छोपेको थियो । ‘कालो ज्याकेट हटाउँदै प्रहरीले छोरीको अनुहार देखायो ।
छातीभरि नीलडाम थिए,’ भक्कानिदै तीलाले भनिन्, ‘छोरीको त्यो अवस्था देखेपछि मेरा शरीर काँप्न थाल्यो । आँखा तिरमिराउन थाले । म त्यहीँ बेहास भएछु । प्रहरीले छोरीलाई अस्पताल पुर्याएको पनि थाहा पाइनँ ।’ तत्काल पुगेको प्रहरीले वीरेन्द्रनगर–४, स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी इनिसालाई उद्दार गरेर कर्णाली प्रदेश अस्पताल पुर्यायो । तर उनलाई अस्पतालले मृत घोषणा गर्यो । घटनास्थलमा खटिएको प्रहरीले वीरेन्द्रनगर–९, घर भएका १६ वर्षीय एक बालकलाई घटनास्थलबाटै नियन्त्रणमा लियो । उनी माथि अनुसन्धान गर्दै जादा प्रहरीले थप तीन जना बालकलार्ई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बलत्कारपछि इनिसाको मृत्यृ भएको देखाएको छ । पीडित परिवाले चार जनाको सामुहिक बलत्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीसम्बन्धी किटानी जाहेरी दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले इनिसाको पोष्टमार्टम रिपोर्ट अनुसार पाठेघरबाट अत्याधिक रक्तश्रापका कारण मृत्यु भएको बताए ।
प्रहरी प्रवक्ता बुढथापाले घटनास्थलबाट पक्राउ परेका बालकले इनिसासँग शारीरिक सम्पर्क गरेको र त्यसपश्चात अत्याधिक रक्तश्राव भई अचेत भएको बयान दिएका छन् । उनका अनुसार इनिसा अचेतपछि ति बालकले अन्य तीन जना साथिलाई बोलाएका थिए । ‘पोष्टमार्टम रिपोर्टमा अत्याधिक रक्तश्राप मुत्युको कारण देखिएको छ,’ प्रवक्ता बुढथापाले भने, ‘थप अनुसन्धानका लागि भ्याजाइनल स्वाबको रिपोर्ट आउन बाँकी । उक्त रिपोर्टपछि अन्य तीन जनाको संलग्नता भए नभएको खुल्छ ।’ उनले अनुसन्धानबाट पक्राउ परेका अन्य बालक दोषि देखिए कानुन बमोजिम कारवाही हुने उल्लेख गर्दै भने, ‘उहाँहरुले उठाउनु भएका मागहरु जायज छन्, अनुसन्धानका क्रममा कसैलाई जोगाउने वा प्रमाण मेटाउने काम प्रहरीले गर्दैन ।’ उनले घटनाका बारेमा सुक्ष्म अनुसन्धान जारी रहेकाले कसैले पनि अतिरञ्जना नफैलाउन आग्रह गरे ।
प्रहरीले यसो भनिरहदा परिवारका सदस्यहरुले भने अस्पतालको रिपोर्टमै आशंका व्यक्त गरिरहेका छन् । सामुहिक बलत्कारपछि हत्या भएको घटनामा अस्पताले मृत्युको कारण रक्तश्राप देखाएर दोषिलाई उम्काउन खोजिएको उनीहरुको आरोप छ । घटना घटेको लामो समयसम्म पनि प्रहरीले विश्वस्त हुने आधार नदिएको भन्दै पीडित परिवारले आन्दोलनसमेत थालेका छन् । मृतक इनिसाकी आमा तिलाले घटनाको निष्पक्ष छानविन गरि दोषिमाथि हदैसम्मको कारवाही हुनु पर्ने माग गरेकी छन् । सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनले निर्दोष छोरीको हत्यामा संलग्नहरुले कुनैपनि हालतमा उन्मुक्ति पाउन नहुने माग गरिन । यस विषयमा विभिन्न मानअधिकार सम्बद्ध संघसंस्थाहरुले समेत चासो व्यक्त गरेका छन् । उनीहरुले पनि सत्य, तथ्य र निष्पक्ष छानवीन गरी दोषिमाथि कारवाही हुनुपर्ने माग गरेका छन् । यता छोरीको मृत्युु भएको खबरपछि घर आउन खोजेका इनिसाका बुवा इन्द्रबहादुर विक दुबई विमानस्थलमा अलपत्र परेका छन् । नेपाली सेनाबाट अवकाश प्राप्त इन्द्रबहादुर ६ वर्षयता दुबई प्रहरीमा कार्यरत छन् । परिवार स्रोतका अनुसार बिदामा घर आएर केही महिनाअघि मात्रै इन्द्रबहादुर दुबई फर्किएका थिए । मध्यपूर्वी देश इरान र इजरायल युद्धका कारण उडान अनिश्चित भएपछि उनी दुबैमा रोकिएका हुन् ।





