जुम्लाको अस्पतालमै एक्स–रे सेवा ठप्प : बिरामी अलपत्र, कर्मचारीकाे अस्पताल भित्रै दादागिरी

काली बहादुर परियार

जुम्ला ,२६ फाल्गुन ।

कर्णालीका लाखौ नागरिकको उपचारको अन्तिम भरोसा मानिने कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमै अत्यावश्यक एक्स–रे सेवा ठप्प भए पछि बिरामीहरू गम्भीर समस्यामा परेका छन् ।

अस्पतालमा रहेको मुख्य एक्स–रे मेसिन बिग्रिएको लामो समय बिति सक्दा पनि मर्मत हुन नसक्दा टाढा–टाढाबाट उपचारका लागि आउने बिरामीहरू अलपत्र परेका छन् भने अस्पताल प्रशासनको लापरबाही प्रति तीव्र आक्रोश बढ्न थालेको छ ।

कर्णाली प्रदेशका दुर्गम जिल्लाहरू जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट, जाजरकोट, दैलेख, लगायतका जिल्ला बाट उपचारका लागि आउने बिरामीहरूको मुख्य गन्तव्य यही शिक्षण अस्पताल हो । तर अहिले यही अस्पतालमा सामान्य एक्स–रे जाँच समेत हुन नसक्ने अवस्था सिर्जना भएपछि बिरामीहरू थप पीडामा परेका छन् ।

सामान्य चोटपटक, दुर्घटना, हाडजोर्नी समस्या, छाती तथा फोक्सो सम्बन्धी रोगका बिरामीलाई उपचार अघि एक्स–रे अनिवार्य मानिन्छ । तर अस्पतालमा मेसिन बिग्रिए पछि चिकित्सकहरूले बिरामीलाई निजी क्लिनिक वा अन्य अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

यसले आर्थिक रूपमा कमजोर र दुर्गम क्षेत्रका बिरामीहरूलाई थप मार परेको छ। टाढाबाट आएका बिरामीका आफन्तहरूका अनुसार अस्पताल पुग्दा एक्स–रे सेवा बन्द भएको जानकारी पाएपछि उनीहरू निराश भएर फर्किनु वा निजी क्लिनिक धाउनु पर्ने अवस्था बनेको छ ।

दुई दिन हिँडेर अस्पताल आइपुग्यौँ, तर यहाँ एक्स–रे हुँदैन भनेर बाहिर जान भनियो, एक बिरामीका आफन्तले आक्रोश व्यक्त गरे । सरकारी अस्पतालमा सेवा नपाए पछि निजी क्लिनिक धाउनुपर्दा खर्च दोब्बर भएको बिरामीको गुनासाे रहेकाे छ ।

स्थानीय बासिन्दाहरूका अनुसार कर्णालीका लागि जीवनदायिनी मानिएको अस्पतालमै आधारभूत सेवा ठप्प हुनु अत्यन्त दुःखद र लज्जास्पद विषय हो । उनीहरूका अनुसार अस्पतालमा दैनिक सयौँ बिरामी आउने गरेका छन्, तर एक्स–रे जस्तो अत्यावश्यक सेवा नहुँदा उपचार प्रक्रिया नै प्रभावित भएको छ ।

प्रतिष्ठान भित्रै कर्मचारीकाे दादागिरी
अझ गम्भीर कुरा के भने यस्तो संवेदनशील अवस्थामा पनि अस्पताल प्रशासनले समस्या समाधान तर्फ कुनै प्रभावकारी पहल नगरेको आरोप लागि रहेको छ। मेसिन बिग्रिएको लामो समय बितिसक्दा पनि मर्मत वा नयाँ उपकरण व्यवस्थापनका लागि ठोस कदम नचालिएको भन्दै स्थानीय तथा स्वास्थ्यकर्मीहरू असन्तुष्ट बनेका छन् ।

यता अस्पतालको रेडियोलोजी विभागको कार्यशैली माथि पनि गम्भीर प्रश्न उठ्न थालेका छन्। अस्पताल स्रोतका अनुसार विभागका कर्मचारी मिलन तिमिल्सिनाले नियमित रूपमा काम नगरी केवल हाजिर गर्ने प्रवृत्ति अपनाएको आरोप छ ।

तिमिल्सिना बिहान करिब १० बजे अस्पताल पुगेर हाजिर गर्ने र साँझ ५ बजे मात्र अस्पतालमा आएर आउट गर्ने तर दिनभरि अस्पतालमा नबस्ने गरेको त्यहाँकै कर्मचारीकाे गुनासो रहेकाे छ ।

अस्पताल भित्रैका स्वास्थ्यकर्मीहरूका अनुसार यस्तो व्यवहार बारे पटक–पटक गुनासो गरिएको भए पनि कुनै कारबाही भएको छैन । लिखित र मौखिक रूपमा धेरै पटक जानकारी गराइएको छ ।

अस्पतालका एक स्वास्थ्यकर्मीले नाम नबताउने सर्तमा भने, सम्बन्धित निकायबाट कुनै प्रतिक्रिया आएको छैन । यसले संस्था भित्र पहुँच र पावर भएका कर्मचारी माथि कारबाही नहुने वातावरण बनेको भन्दै स्वास्थ्यकर्मीहरू नै चिन्तित बनेकाे बताए ।

पावर र दम्बकाे आधारमा जागिरमा रहेका तिमिल्सिनाले अहिले मात्रै नभएर बेलाबेला अस्पतालमा आफ्नाे दम्ब देखाउने गरेका छन् । अस्पतालकाे निति नियममा नअट्ने तिमिल्सिनाले कसरी बिरामीकाे उपचारमा सहज वातावरण अपनाउ छन् भन्ने प्रश्न गरेका छन् ।

उनीहरूका अनुसार यस्तो प्रवृत्ति बढ्दै गए अस्पतालको सेवा प्रणाली नै कमजोर बन्ने खतरा छ। स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कर्मचारीको लापरबाही र प्रशासनको उदासीनता अस्वीकार्य भएको उनीहरूकाे भनाइ छ ।

प्रतिष्ठान जस्तो राष्ट्रिय महत्वको संस्थाले कर्णालीका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने दायित्व बोकेको छ। तर अहिले देखिएको अवस्था भने त्यसको ठीक विपरीत देखिएको छ।

स्थानीय नागरिकहरूका अनुसार कर्णालीका धेरै जिल्लामा अझै पनि आधुनिक स्वास्थ्य सेवा उपलब्ध छैन । त्यसैले गम्भीर बिरामीहरूलाई अन्तिम विकल्पका रूपमा प्रतिष्ठानमा ल्याइन्छ। तर यहाँ पनि सेवा नपाउँदा बिरामीहरू थप जोखिममा पर्ने अवस्था सिर्जना भएको छ।

कर्णालीका नागरिकको जीवन सँग खेलवाड भइरहेको छ, एक स्थानीय समाजसेवीले भने, अस्पतालमा उपकरण बिग्रिएको छ भने तुरुन्त मर्मत गर्नुपर्छ । तर महिनौ सम्म सेवा बन्द हुनु भनेको व्यवस्थापनको गम्भीर कमजोरी हो ।

बिग्रिएको एक्स–रे मेसिन तत्काल मर्मत गरी सेवा सुचारु गर्न, आवश्यक परे नयाँ उपकरण खरिद गर्न र जिम्मेवारी पूरा नगर्ने कर्मचारी माथि कडा कारबाही गर्न भित्रकै स्वास्थ्यकर्मीले माग गरेका छन् । साथै अस्पताल प्रशासनले सेवा अवरुद्ध हुनुको कारण बारे सार्वजनिक रूपमा स्पष्ट जानकारी दिनु पर्ने मागसमेत उठ्न थालेको छ ।

यता एक्सरे डिपार्टमेन्टका रेडियोग्राफर सतल रेउलेका अनुसार एक्सरे मेसिन यहि फागुन १९ गते राति बाट अचानक बिग्रेकाे बताए । उनले भने, एक्सरे मेसिनकाे केबिमिटरमा समस्या आएकाले मर्मतका लागि जिल्ला बाहिर पठाइएको जानकारी दिए ।

एक्सरे मेसिन बिग्रने र चुनाव बिदा सँगै भएकाले मर्मतमा ढिला भएको स्विकार्दै उनले फ्लाइट भए ४/५ दिनमा एक्सरे सेवा संचालन हुने जानकारी दिए ।

यस्तै प्रतिष्ठान भित्रै दादागिरी देखाउने र काम समेत १० बजे आउने दिनभरि बेपत्ता हुने र साँझ ५ बजे आउट गर्न आउने कर्मचारीका विषयमा हामीले अस्पताल निर्देशक कमल थानी सँग जानकारी लिदा अहिले हाम्राे अस्पतालमा यस्ता कुनै कर्मचारी नभएको बताए । पहिला थिए हामीले कार्वाही गरेका थियाै हाल यस्ता कर्मचारी नभएको उनकाे भनाइ छ ।

निर्देशक थानीले भने, हामी कहाँ कुनै माैखिक वा पत्र जानकारीका लागि नआएकाे बताए । आगामी दिनमा यस्ता खालका कुनै कर्मचारी भए तत्काल कार्वाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

जुम्लाको अस्पतालमै एक्स–रे सेवा ठप्प : बिरामी अलपत्र, कर्मचारीकाे अस्पताल भित्रै दादागिरी

सम्पादकीय : ओली अहंकारले खस्केको जनमत !

जुम्लाको अस्पतालमै एक्स–रे सेवा ठप्प : बिरामी अलपत्र, कर्मचारीकाे अस्पताल भित्रै दादागिरी

घुयँत्राे:“मधेसका नेता बजेट चाट्दै, मतदाताले एकैपटक खरेटाे

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds