बाँकेमा १३ हजार ४४२ मत बदर

बाँके ,२५ फाल्गुन ।
बाँकेमा कूल १३ हजार ४४२ मत बदर भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का क्रममा जिल्लाको निर्वाचन क्षेत्र नं १, २ र ३ मा ती मत बदर भएको हो ।
जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले मतदाता शिक्षा सञ्चालन भए पनि मतपत्रमा दुई वटा सङ्केत गरेको र ल्याप्चेसमेत हानेको पाइएको बताउनुभयो ।
उहाँले त्यसबाहेक चिह्नमाथि छाप लगाएको, मत माग्न आएका सबैको चिह्नमा छाप लगाएको र समानुपातिकतर्फ सबैमा छाप लगाएको पाइएको उल्लेख गर्नुभयो । शाहीका अनुसार बाँकेको निर्वाचन क्षेत्र नं १ मा कूल खसेको ७४ हजार ९९२ मध्ये चार हजार ८५, निर्वाचन क्षेत्र नं २ मा कूल खसेको ७२ हजार सात मध्ये पाँच हजार ३०६ र निर्वाचन क्षेत्र नं ३ मा कूल खसेको ७४ हजार ३१० मध्ये चार हजार ५१ मत बदर भएको छ । यसमध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र नं २ मा बदर मत रहेको छ भने सबैभन्दा कम निर्वाचन क्षेत्र नं ३ मा बदर मत रहेको छ ।
जिल्लामा तीन लाख ५० हजार ३७१ मतदाता भएकामा दुई लाख २१ हजार ३०९ मत खसेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । बाँकेमा २०७९ सालको प्रतिनिधिसभा सदस्य २०७९ को निर्वाचनमा १५ हजार ३३५ मत बदर भएको थियो ।
यसैबीच बाँकेको निर्वाचन क्षेत्र नं १ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी, घण्टी चुनाव चिह्नले सबैभन्दा बढी ३४ हजार ३८२ मत ल्याएको छ । समानुपातिकतर्फ निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेस रुखले १४ हजार २२४ मत ल्याएर दोस्रो र नेकपा (एमाले) सूर्य चुनाव चिह्नले १० हजार ३२० मत ल्याएर तेस्रो स्थान हासिल गरेको छ ।
नेपाली कम्युनिष्ट पार्टीले पाँच हजार ८४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ चार हजार २८४ मत ल्याएको छ ।





