सुर्खेतमा कांग्रेसको चुनावीसभा नेकपा र रास्वपाप्रति चर्को सुनिए गगन थापा

ओम शाही
सुर्खेत, १५ फागुन ।
नेपाली कांग्रेसले बिहिबार सुर्खेतमा आसन्न २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचको प्रचारस्वरुप कर्णाली प्रदेशस्तरिय चुनावीसभा आयोजना गरेको छ । २३–२४ भदौको जेन–जी आन्दोलनपछि हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसले कर्णालीमा आफ्नो शक्ति प्रर्दशन गरेको हो । उक्त शक्ति प्रदर्शनका प्रमुख वक्ता थिए कांग्रेस सभापति गगनकुमार थापा ।
यस पटक थापा पार्टीको दोस्रो वा तेस्रो तहका नेताका हैसियतले शक्ति प्रदर्शनको माञ्चमा उत्रिएका थिएनन् । जेन–जी आन्दोलन पश्चात कांग्रेसमा चर्किएको नेतृत्व हस्तान्तरणको मुद्दा अन्ततः विशेष महाधिवेशन प्रवेश गराएर सभापति बनेका थापाले सुर्खेतमा कांग्रेस सच्चिएर आएको उद्घोष गरे ।
उनको यो उद्घोष थापालाई सभापतिमा स्वीकार नगरेका तत्कालिन कार्यवहाक सभापति पूर्णबहादुर खड्काको गृह जिल्लाबाट आएको हो । चुनाव हुन एक साता बाँकी रहदा आफ्नो नियमित निर्वाचन क्षेत्र छाडेर सर्लाही झरेका थापा चुनावीसभालाई सम्बोधन गर्न पहिलो पटक सुर्खेत पुगेका थिए ।
उनले सम्बोधनका क्रममा सम्मानित नेताहरु भने तर खड्काको नाम लिएनन् । विशेष महाधिवेशनपछि संस्थापन देउवा पक्ष आधिकारिकताको न्यायिक लडाईँमा छ । सो न्यायिक लडार्इँको नेतृत्व उनै खड्काले गरेका छन् । खड्का नेतृत्वमा देउवा पक्ष निर्वाचन आयोग हुँदै सर्वोच्च अदालत पुगेको छ । जसका कारण अहिले खड्का अघोषित निर्वाचन बहिष्कारमा छन् ।
यति मात्र होइन २०४८ यता एक बाहेक सबै निर्वाचनमा जित निकालेका खड्काले यसपटक चुनाव नै नलड्ने निर्णयमा पुगे । वैधानिकताको न्यायिक लडार्इँमा लागेका खड्काले नैतिकरुपमा निर्वाचन नलड्ने घोषणा मात्रै गरेका छैनन्, उनी अहिले मौन छन् । थापाको नेतृत्वमा कांग्रेस चुनावी मैदानमा होमिदा खड्काले सार्वजनिकरुपमा केही बोलेका छैनन् । यसको साइड इफेक्ट आगामी निर्वाचनमा पर्ने सक्ने आकलन कर्णालीमा छ ।
खड्का सम्भवत पहिलो पटक कांग्रेसद्वारा गृह जिल्लामा आयोजना भएको ठुलो राजनीतिकसभाको मञ्चमा नदेखिएका हुन् । कर्णालीको कांग्रेस राजनीति उनै खड्काको तजबिजमा चल्ने गरेको छ । खड्काको अनुपस्थितीमा भएको चुनावीसभालाई सम्बोधन गर्दै थापाले कांग्रेस एकढिक्का रहेको नेता तथा कार्यकर्तालाई आश्वासन दिए ।
उनले कांग्रेसको नेतृत्वमा अबका पाँच वर्ष स्वर्णिम बनाउने उद्घोष गरे । उनी तत्कालिन नेकपा माओवादी केन्द्र हालको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र आफुलाई नयाँ दलका रुपमा चिनाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति चर्को सुनिए । नाम नलिएर नेकपा एमालेप्रति सफ्ट सुनिएका सभापति थापाले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसलाई जिताएर मुलुकलाई ऐतिहासिक स्वर्णिम पाँच वर्ष बनाउने अभियानमा साथ दिन आग्रह गरे ।
उनले भने, ‘विगत पाँच छ वर्ष केवल सरकार बनाउने र फेर्ने कामका लागिमात्र खर्च भयो । यसले तन्नेरीलाई रुष्ट बनायो । देशले गति समात्नु पर्नेमा गठबन्धनको राजनीतिले कहीँ न कहीँ दूषित बनायो । अब २०८२ देखि २०८७ सम्मको पाँच वर्ष हामी आग्रह गरिरहेका छौँ । यो एउटा मौकालाई नेपालको इतिहासलाई स्वर्णिम बनाउने छौँ भनेर सपना बोकेर आएका छौँ । हामीलाई नेपालको सीमितता थाहा छ । हामी यसलाई सुधार्छौँ । प्रतिज्ञापत्र सार्वजनिक गरेका छौँ । पाँच वर्ष भनेर कुरेर बस्दैनौँ ।’
उनले पाँच वर्षका योजनाबारे सबै दलसँग सामूहिक टेबलमा बस्न तयार रहेको बताए । तर कोही पनि यसका लागि तयार नभएको भन्दै उनले कोही कसैले कुनै नाटक गर्यो भने कर्णालीले त्यसलाई पत्याउन नहुने बताए ।
उनले रास्वपालाई लक्षित गर्दै भने, ‘हिजो कर्णालीमा माओवादीले मान्छे मारिरहेको बेलामा नक्कली शरणार्थीको कागज बनाएर मस्ती मारिरहेकाहरू आज यहाँ आएर पाँच वर्षमा केही गर्छु भनेर नाटक गर्नेहरूलाई कर्णालीबासीले नपत्याओस् ।’ उनले अगाडि भने, ‘मैले दुई चार ओटा गालीको कुरा गरेँ भने त्यसले बेलुका भाइरल भइहाल्छ । आएको हैन माओवादी ? खै के भयो ? नयाँ नयाँ भनेर आउँदै गर्दा देखेको होइन हामीले ? फेरि पनि भुलभुलैयामा पर्ने ? नेपाली कांग्रेस यही देशको पार्टी हो । हिजोका कमीकमजोरी मिल्काउँदै फाल्दै सच्चिने ठाउँमा सच्चिएर हामी कांग्रेस बदलेर आएका छौँ । देश पनि बदल्छौँ । पाँच वर्षमा देशलाई दुर्घटनामा जान दिन्नौँ । यथास्थितिवादीले देशलाई अगाडि बढ्न दिँदैन । अर्को शक्ति आक्रोश छ । हामीले पेटको आगो पनि भर्नुपर्नेछ ।’
सभापति थापाले अब कुनै पनि निहत्था नेपालीको ज्यान जान नहुने र कुनै मुकुन्डोधारीले सिंहदरबार जलाउन पनि नहुने बताए । उनले सम्बोधनका क्रममा भने, ‘सरकारको गोलीबाट कुनै पनि निहत्थाको ज्यान जानु हुँदैन । कुनै पनि मुकुन्डोधारीले सिंहदरबार अब जलाउनु पनि हुँदैन ।’
एमालेलाई लक्षित गर्दै सभापति थापाले २३ भदौको आन्दोलनको जिम्मा लिने तर २४ गतेको विध्वंशको जिम्मा नलिने सोचले भोलि पनि मुलुकलाई दुर्घटना गराउन सक्ने बताए । उनले सिंगो कांग्रेसको जिम्मा लिएर बोलेको दावी गर्दै २०४६ यता भएका, सुनिएका काण्डहरूको छानबिन गर्ने बताए । छानविनका क्रममा आफ्नै परिवारबाट कोही रहेछ भने पनि छुट नपाउँने दावी गरे ।
कर्णालीप्रति यस्तो छ थापाको धारणा
सम्बोधनका क्रममा थापा कर्णालीका पक्षमा रक्षात्मक सुनिए । उनले भने, ‘सबै राम्रा भन्न सकिन्छ तर प्रश्नसँगसँगै देशभर १७ प्रतिशत हुँदै गर्दा करिब ४० प्रतिशत गरिबी बोकेर कर्णाली किन बसिरहेको छ ? देशभरिका बालबालिका बचाउँदा कर्णालीका किन बनाउन सकिएन ? समस्याको जरासम्म पुग्नुपर्छ ।’ उनले कर्णाली र काठमाडौं महानगरपालिकाको कुनै तुलनासमेत हुन नसक्ने बताए । उनले भने, ‘कर्णालीको आय वार्षिक ५२ करोड छ । काठमाडौंमा त १० अर्ब छ । सुतीसुती मेयरले १० अर्ब खर्च गर्न पाउँछ । प्रदेश सरकारले सबैभन्दा बढी कर यातायात, सडकबाट पाउँछ । यहाँ त यातायात र सडक नै कम छ ।’
सभापति थापाले कर्णालीको विकासको पहिलो मुद्दा संविधान र विद्यमान कानून बदल्न आवश्यक रहेको उल्लेख गर्दै काठमाडौंबाट कर लिन पाउने हक कर्णालीले राख्न पाउनु पर्ने बताए । कर्णालीका पहाडी र हिमाली जिल्लामा असार साउनभित्र खर्च गर्ने व्यवस्था नबदलेसम्म अवस्था फेरिन नसक्ने ठोकुवा गरे ।
उनले तीतो सत्य अगाडि सार्दै भने, ‘त्यो सूचनाको उद्योगमा काम गर्न विज्ञान, अग्रेजी र गणित राम्रो हुनुपर्छ । त्यसका लागि आमाको स्वास्थ्य राम्रो हुनुपर्छ । आमाको काखमा हुँदासम्म पाँच वर्षमै विज्ञान, अंग्रेजी र गणितको अवस्था बच्चाले बुझेको हुन्छ । काठमाडौँलेमात्र लाभ लिने हुन्छ । त्यसैले प्रतिस्पर्धाका लागि कर्णालीकी आमा र पोषणमा काम गर्नुपर्छ ।’
सभापति थापाले कर्णालीको खर्च बाँदरले दिएको दुःखमा भएको उल्लेख गर्दै उनले भने, ‘विकास बहुआयामिक छ । यहाँ हल्ला छ । को कसरी हात हल्लाउँदै छ यसको चर्चा छ ।’ उनले कांग्रेसको प्रतिज्ञापत्रले अझै सबै ठाउँमा चर्चा बटुल्न नसकेको बताउँदै यथास्थितिवादी र अतिवादीले मुलुक नबनाउने दाबी गरे ।
रवि लामिछानेलाई काउण्टर
थापाले एक प्रसङ्गमा रास्वपा सभापति रवि लामिछानेलाई समेत काउण्टर दिन भ्याए । बुधबार सर्लाहीमा भएको चुनावी सभामा लामिछानेले, ‘सडक बनाउन ४१ वटा कानुन संशोधन गर्नुपर्ने विषय अहिले थाहा भएछ । यत्तिका वर्ष के हेरेर बसेको ?,’ भन्ने प्रश्न गरेका थिए ।
सो प्रश्नको जवाफ फकाउदै थापाले भने, ‘म प्रधानमन्त्री बन्छु, जादु गर्छु, चटक गर्छु भनेर होइन, गर्नुपर्ने के छ ? संविधानमा केही बदलाव ल्याउनुपर्ने छ । म संविधान र कानुनमा बदलाव ल्याउनका लागि पाँच वर्ष केही काम गरौँ भन्छु– एउटा साथी मञ्चमा प्वाक्क बोलिदिन्छ यत्रो वर्ष के गरिस् ?,’ यस्तो बहसले कतै नपुर्याउने थापाले बताए ।
‘संविधान बनाउँदाका दुःख र दर्द, संविधान बनाउँदाका समस्या, संविधानमा आफैँले गरेको अनुभव त्यो अनुभवका आधारमा सच्याउने कुरामा भएकामा यस्ता हल्का छलफलले कहीँ पनि पुर्याउँदैन,’ थापाले भने ।






